१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जसपालाई प्रधानमन्त्री ओलीको अनुरोध : मलाई समर्थन गर्नुस्, तपाईंहरूको मागप्रति सकारात्मक छु

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को मागप्रति आफू सकारात्मक भएको बताएका छन् ।

जसपालाई प्रधानमन्त्री ओलीको अनुरोध : मलाई समर्थन गर्नुस्, तपाईंहरूको मागप्रति सकारात्मक छु

मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र सरकार र विभिन्न दलसँग वार्ता गर्न बनाइएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लासँग भेटवार्ता गरेका थिए ।

भेटवार्तामा ओलीले संसद्‍मा आफूलाई समर्थन गर्न अनुरोध गरेको नेता लक्ष्मणलाल कर्णले बताए । उनले भने, ‘आज प्रधानमन्त्रीले संसद्मा मलाई समर्थन गरिदिनुस् । तपाईंहरुका मागप्रति म सकारात्मक छु भन्नुभयो ।’

जसपा नेताहरुले भने मागप्रति सकारात्मक भए प्रधानमन्त्री ओलीले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने कुरा उठाएका थिए । नेता कर्णले भने, ‘हामीले रेशम चौधरीको रिहाइलगायतका हाम्रा ५ बुँदे माग राख्यौँ । हामीले प्रधानमन्त्रीलाई तपाईंलाई समर्थन गर्नुपर्ने भए प्रक्रिया अगाडि बढाउनुहोस् भन्यौँ ।

भेटमा प्रधानमन्त्री ओलीसँग एमाले नेता सुवास नेम्बाङ, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराईलगायत उपस्थित थिए ।

पछिल्लो समय सत्ता समीकरणबारे जसपाभित्र पनि विवाद देखिएको छ । गत बिहीबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले बिनासर्त ओलीको विकल्पमा तीन दलको गठबन्धन सरकार बनाउने प्रस्तावसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने तयारी गरेका थिए ।

प्रतिवेदनमा कांग्रेस, माओवादी र जसपामध्ये समझदारीमा सरकारको नेतृत्व गर्ने विषय थियो । उक्त प्रतिवेदनबारे पाँच सदस्यीय पदाधिकारी बैठकमै विवाद भएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक रोकिएको थियो । ठाकुर र महतोले यादवको प्रतिवेदन अपरिपक्व भएको बताएका थिए ।

मंगलबार बालुवाटार गएका चार जना नेता नै पूर्वराजपाका हुन् । सत्ता समीकरणलाई लिएर जसपामा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका रूपमा कित्ताकाट देखिएको छ ।

त्यस्तै नयाँ सत्ता समीकरणका लागि माओवादी केन्द्रले सत्ताबाट अलग भएको निर्णय गर्नुपर्ने र निर्णायक देखिएको जसपाले प्रस्ट धारणा बनाउनुपर्ने कांग्रेसले अडान राखेको छ भने पहिला कांग्रेस र माओवादी प्रस्ट हुनुपर्ने जसपाको धारणा छ ।

प्रकाशित : चैत्र १०, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?