पश्चिम बंगाल विधानसभा निर्वाचन : भाजपाले तीन नेपालीभाषीलाई तोक्यो उम्मेदवार

पर्वत पोर्तेल

काँकडभिट्टा — आगामी मार्च २७ देखि सुरु हुने पश्चिम बंगाल विधानसभा निर्वाचनका लागि भारतीय जनता पार्टीले तीन जना नेपालीभाषीलाई उम्मेदवार बनाएको छ । भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले मंगलबार बिहान प्रेस विज्ञप्तिमार्फत उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।

पश्चिम बंगाल विधानसभा निर्वाचन : भाजपाले तीन नेपालीभाषीलाई तोक्यो उम्मेदवार

उनीहरूलाई नेपालीभाषीको बाहुल्य रहेका दार्जिलिङ, कालेबुङ र खरसाङ निर्वाचन क्षेत्रमा उठाउन लागिएको हो ।

कालेबुङ जिल्ला विधानसभा निर्वाचन क्षेत्रमा भाजपाले पुराना राजनीतिकर्मी शुभ प्रधानलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । दार्जिलिङ जिल्ला निर्वाचन क्षेत्रबाट नीरज जिम्बा तथा खरसाङ क्षेत्रबाट विष्णुप्रसाद शर्मा (बीपी बजगाई) लाई भाजपाले चुनावी मैदानमा उतार्ने भएको छ ।

कालेबुङ विधानसभाका उम्मेदवार प्रधान गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ समूह) का प्रभावशाली नेता मानिन्थे । तर उनी हालै गोजमुमो क्याम्प परिवर्तन परेर भाजपा प्रवेश गरेका थिए ।

दार्जिलिङका उम्मेदवार जिम्बा सुवास घिसिङको लिगेसी रहेको पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता हुन् । केही समयअघिदेखि उनी भाजपानिकट थिए । जिम्बा यसअघि भाजपाको सदस्यता लिएर उपनिर्वाचनबाट विधायक बनेका थिए । शर्मा पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।

गोजमुमोका नेता विमल गुरुङले यसपटकको निर्वाचनमा ममता बेनर्जीको दल तृणमूल कंग्रेसलाई सघाउने भएका छन् । लामो समयदेखिको भाजपासँगको सहकार्यलाई तोड्दै उनले ममतालाई सघाउने घोषणा गरेका हुन् । ममता बेनर्जीको दलले भने दार्जिलिङ, कालिम्पोङ र खरसाङ क्षेत्रमा उम्मेदवार तय गरिसकेको छैन ।

बंगालमा मार्च २७ देखि २९ अप्रिलसम्म आठौं चरणमा चुनाव हुँदै छ । दार्जिलिङमा भने पाँचौं चरणमा चुनाव तय भएको छ ।

प्रकाशित : चैत्र १०, २०७७ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?