१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कांग्रेस र जसपाको अनिर्णयले अन्योल

नयाँ सत्ता समीकरणका लागि माओवादी केन्द्रले सत्ताबाट अलग भएको निर्णय गर्नुपर्ने र निर्णायक देखिएको जसपाले प्रस्ट धारणा बनाउनुपर्ने कांग्रेसको अडान, पहिला कांग्रेस र माओवादी प्रस्ट हुनुपर्ने जसपाको धारणा
सरकार बनाउने अंकगणित प्रस्ट छैन, आवश्यक संख्या पुग्ने विश्वसनीय आधारसमेत बनेको छैन । नेतृत्वको विषयमा ठोस र औपचारिक प्रस्ताव नआएका बेला कांग्रेसले के भनेर निर्णय गर्ने ? – विमलेन्द्र निधि, उपसभापति, कांग्रेस
कुलचन्द्र न्यौपाने

काठमाडौँ — माओवादी केन्द्र सरकारबाट अलग नभएको कारण देखाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले सत्ता समीकरणबारे तत्काल निर्णय नलिने भएको छ । अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत छ ।

कांग्रेस र जसपाको अनिर्णयले अन्योल

कांग्रेसले तत्काल निर्णय नलिएपछि तीन दलीय गठबन्धनको भविष्य अन्योलमा परेको छ । सत्ता गठबन्धनमा देखिएको अन्योल र सत्तारूढ दलभित्रै बढ्दो विवादले संसद् बन्धक बन्ने अवस्था सिर्जना भएको छ ।

विघटन बदर भएपछि फागुन २३ मा प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । त्यसयता चार पटक बैठक बसे पनि प्रतिनिधिसभाले बिजनेस पाएको छैन । सत्तारूढ दलको विवादकै कारण सरकारले प्रतिनिधिसभालाई बिजनेस दिन रोकेको छ । विधेयकहरू अघि बढाउँदा आफ्नै पार्टीको असहयोग हुन सक्ने जोखिम प्रधानमन्त्री केपी शर्मा ओलीले आकलन गरेका छन् । प्राविधिक रूपमा सरकार बहुमतमा देखिए पनि व्यावहारिक रूपमा प्रधानमन्त्री अल्पमतमा परिसकेका छन् । यही बेला विधेयकहरू अघि बढाउँदा अस्वीकृत हुन सक्ने र त्यसले सरकारको निरन्तरतामाथि नै नैतिक दबाब खडा गर्ने भय ओलीमा देखिन्छ ।

सत्ता समीकरणको अन्योल र एमालेको विवादले संसद् गतिहीन भइराख्दा कांग्रेसले भने आफ्नो भूमिकाबाट मात्रै निकास नआउने ठानेको छ । निकासका लागि उसले माओवादी केन्द्रले सत्ताबाट अलग भएको निर्णय लिनुपर्ने र निर्णायक देखिएको जसपाले तीन दलको गठबन्धनका लागि प्रस्ट धारणा बनाउनुपर्ने ठानेको छ । यद्यपि कांग्रेसमै वरिष्ठ नेता रामचन्द्र पौडेलको मत फरक छ । संसद्लाई प्रभावकारी बनाउन तत्काल ओली नेतृत्वको सरकार हटाउनुपर्ने उनको दृष्टिकोण छ । त्यसका लागि कांग्रेसले निर्णायक भूमिका निर्वाह गरेमा माओवादी र जसपा पनि प्रस्ट हुने उनको तर्क छ । सोमबारको बैठकमा पनि उनले वैकल्पिक सत्ता समीकरणका विषयमा ढिलाइ गर्न नहुने भन्दै कांग्रेसले मुलुकलाई निकास दिनुपर्ने धारणा राखे । तर, सभापति शेरबहादुर देउवाले स्थिति परिपक्व नभइसकेको भन्दै पार्टीबाट निर्णय नगर्ने आफ्नोअडान कायम राखेका छन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले वैकल्पिक सरकार निर्माणका लागि औपचारिक ठोस प्रस्तावसमेत कतैबाट नआएको बताए । ‘सरकार बनाउने अंकगणित प्रस्ट छैन, आवश्यक संख्या पुग्ने विश्वसनीय आधारसमेत बनेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘नेतृत्वको विषयमा ठोस र औपचारिक प्रस्ताव नआएका बेला कांग्रेसले के भनेर निर्णय गर्ने ?’ उनका अनुसार बैठकमा सत्ता समीकरणतिर भन्दा पार्टीको महाधिवेशनमा छलफल केन्द्रित भएको थियो । पार्टीको क्रियाशील सदस्यता छानबिन समितिको आग्रहमा पदाधिकारी बैठक राखिएकाले महाधिवेशनको कार्यतालिका, सदस्यता र समायोजनको विषयमा छलफल केन्द्रित भएको निधिले बताए ।

अर्का नेता रामशरण महतले नयाँ सरकारका विषयमा कदम चाल्नुअघि नीति र कार्यक्रममा छलफल चलाउनुपर्ने बताए । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले सत्ता गठबन्धनका लागि निलम्बित सांसद रेशम चौधरीको रिहाइलाई पहिलो सर्त बनाएका छन् । तर कांग्रेसमा चौधरीको रिहाइको विषय कानुनी प्रक्रियाअनुसार नमिल्ने भन्दै त्यस्तो सम्झौता गरेर सरकारको नेतृत्वमा जान नहुने मत बढी छ । यसअघि संसद्बाट अस्वीकृत भएको संविधान संशोधनको विषयलाई मान्न सकिए पनि चौधरीको रिहाइको सर्त मान्न नसकिने सभापति देउवाकै पनि भनाइ छ । संविधान संशोधनका लागि यसअघिको कांग्रेस र माओवादी गठबन्धनको सरकारले प्रस्ताव अघि बढाएको थियो । त्यतिबेला एमालेको असहयोगका कारण उक्त विधेयक अस्वीकृत भएको थियो ।

‘संसद् राम्रो चलेको छैन, महत्त्वपूर्ण विधेयक र विषयहरू संसद्मा आएका छैनन्, यस्तो बेलामा कांग्रेसले सरकारको नीति र कार्यक्रमका विषयमा समेत छलफल गरेर भावी समीकरणको दिशामा निर्णय लिनुपर्छ,’ महतले भने, ‘कार्यक्रम र नीतिका विषयमा कुरा मिलेपछि मात्रै कांग्रेसले कस्तो कदम चाल्ने भन्ने निर्णय लिन सक्छ/लिनुपर्छ ।’ कांग्रेस नेता रमेश लेखकले नेतृत्व लिन पार्टी तयार भए पनि परिपक्व अवस्था भइनसकेको जनाए । ‘माओवादी र जसपा कसरी अघि बढ्छन्, त्यसपछि मात्रै कांग्रेसले निर्णय दिने हो,’ उनले भने ।

कांग्रेसले सत्ताको चाबी जसपाको हातमा रहेको ठानेको छ । ३४ (दुई निलम्बित) सांसद रहेको जसपाले सिंगो सहयोग नगरेसम्म वैकल्पिक सरकार निर्माणको सम्भावना रहँदैन । वैकल्पिक सरकारमा पार्टीले नेतृत्व नपाए सत्ता गठबन्धनमा सहभागी हुन/नहुने मत कांग्रेसमा छ । देउवानिकट स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवालाई भेटेरै पहिलाको जस्तै कार्यकालको आधा–आधा समय नेतृत्व लिने गरी समझदारी गर्न आग्रह गरेका थिए तर जसपा नेताहरूले भने नेतृत्वका लागि प्रस्ताव नगरेको कांग्रेस नेताहरूको भनाइ छ । ‘जसपा नेताहरूले भेट्दा नेतृत्वको प्रस्ताव गरेको भए छुट्टै परिस्थिति बन्न सक्थ्यो, उल्टो जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले तपाईं र ओली हाम्रा लागि बराबार हो भनेर कुरा सुरु गरेपछि कांग्रेसले लागेर हुँदैन भन्ने ठानेकै हो,’ कांग्रेसका एक नेताले भने, ‘जसपाबाट सिंगो सहयोग आउने भए हामी तयारै छौं । अघि बढ्छौं ।’

जसपाका निलम्बित सांसद रेशम चौधरीको रिहाइको सर्तलाई स्विकार्न नसक्दा जसपाले के गर्छ भन्ने कांग्रेसले जान्न चाहेको छ तर जसपाका एक शीर्ष नेता कांग्रेस सभापति देउवा नै वैकल्पिक सरकार निर्माणका लागि भित्रैबाट तयार नभएको दाबी गर्छन् । ‘प्रधानमन्त्री हुने नेताले बोलाएर छलफल गर्ने कि, हामी आफैं बहाना बनाएर जाने ? यसअघि हामी मुद्दाको बहाना बनाएरै देउवाको मनसाय बुझ्न गएको हो, उहाँ आफैं तयार हुनुहुन्न भन्ने हामीलाई थाहा छ,’ जसपाका एक पदाधिकारीले भने, ‘कांग्रेसले प्रस्ट निर्णय लिएमा जसपा फुट्दैन । एकमतका साथ वैकिल्पक सरकार निर्माणमा आइपुग्छ । यो मेरो ठोकुवा भयो ।’ सत्ता समीकरणको विषयमा जसपाले पनि कांग्रेसको निर्णय पर्खेको छ ।

गत बिहीबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले बिनासर्त ओलीको विकल्पमा तीन दलको गठबन्धन सरकार बनाउने प्रस्तावसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने तयारी गरेका थिए । प्रतिवेदनमा कांग्रेस, माओवादी र जसपामध्ये समझदारीमा सरकारको नेतृत्व गर्ने विषय थियो । बैठकमा प्रस्तुत गर्नुअघि उक्त प्रतिवेदन पाँच सदस्यीय पदाधिकारी बैठकमै विवाद भएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक रोकिएको थियो । ठाकुर र महतोले यादवको प्रतिवेदन अपरिपक्व भएको बताएका थिए ।

‘हामी पनि राजनीति ट्र्याकबाट बाहिर जान चाहेका होइनौं, सकेसम्म तीन दलको गठबन्धन सरकार बनोस् भन्ने नै हो, त्यसका लागि माओवादी अध्यक्ष प्रचण्डले हाम्रा मुद्दामा सम्बोधन गर्न सकिने बताउनुभएको छ तर प्रधानमन्त्रीका दाबेदार देउवाले अहिलेसम्म बोलाउनुभएको छैन,’ जसपाभित्रको फरक धारको नेतृत्वमा रहेका पूर्वराजपा पक्षीय एक नेताले भने, ‘कांग्रेस तयार नभएपछि नै सरकारसँग वार्ता गरेका हौं । कांग्रेस तयार भएर आओस्, हामी निर्णय गर्छौं । पार्टी विभाजन हुने निर्णय हामी कुनै हालतमा गर्ने छैनौं ।’

प्रकाशित : चैत्र १०, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?