कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ट्रकले उकालो पार गर्न नसक्दा...

आश गुरुङ

लमजुङ — साइँलीआमाको अर्घुं (मृत्यु संस्कार) मा आउन नपाएपछि गुरुङ संस्कारअनुसार माइतीलाई पा ठोंब (रक्सी तीन सर्को खुवाउने) का लागि मनीषा गुरुङ र उनकी बहिनी जलकाशी छोराहरूलाई लिएर मनाङबाट लमजुङको जगत आएका थिए ।

ट्रकले उकालो पार गर्न नसक्दा...

मनाङको नासों गाउँपालिका–४ की नियोल र धारापानीस्थित होटल थ्री सिस्टरकी मनीषा छोराहरू लियोन र थियोनका साथ शनिबार बिहान जगत झरेका थिए । माइतीपक्ष (साइँलीआमाका श्रीमान् र छोरा) लाई पा ठोंब गरी उनीहरू फर्किन खोज्दा गाडी पाएनन् । बेंसीसहरबाट आएका जिप सबै भरिएका थिए ।

मनीषाकी साइँलीआमाकी छोरी (दिदी) श्रीकुमारी गुरुङका अनुसार मनाङ जाने कुनै पनि जिप खाली थिएनन् । मनीषा फर्किन जिद्दी गरिरहेकी थिइन् । ‘बहिनीहरू खाना खाएदेखि बाहिर गाडी कुर्दै थिए । म भित्र पसेकी मात्रै के थिएँ, ट्रक आइपुगेछ । नजाऊ भन्दाभन्दै जिद्दी गरेर ट्रक चढे । होटलमा पाहुना छ भन्दै हिँडेहाले । त्यस्तै २ जति बजेको थियो,’ उनले भनिन्, ‘डेढ घण्टापछि त गाडी पल्टियो भन्ने खबर आयो । परिवार नै परेछ ।’

मनीषाकी भाउजू नाता पर्ने सुमी गुरुङका अनुसार जताततै गाडीलाई फोन गर्दा नपाएपछि आउँदै गरेको एउटा गाडीमा बच्चालाई लगिदिन आग्रह गरेछन् । ‘मनाङीले रिजर्भ गरेको भन्दै पन्छिए पनि सँगै रहेका अनिशा गुरुङलाई चढाएछन् । बाँकी ५ जनाले गाडी कुर्दाकुर्दै ट्रक आएछ । चिनेजानेकाले भनेपछि चढाएछन्,’ उनले भनिन् ।

नासों गाउँपालिका–३ खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा एकै परिवारका ४ जनासहित ६ जनाको मृत्यु भयो । नासों–४ ओडार माइती, वडा नम्बर १ तालगाउँ घर भई हाल वडा ३ को धारापानीमा होटल व्यवसाय गर्दै आएकी ३४ वर्षीया मनीषा गुरुङ, उनको डेढ वर्षका छोरा लियोन र बहिनी ३१ वर्षीया जलकाशीको घटनास्थलमै मृत्यु भयो । मनीषाका अर्का छोरा ४ वर्षीय थियोनको उपचार क्रममा शनिबार राति १२ बजेतिर चितवनको पुरानो मेडिकल कलेजमा निधन भयो ।

जलकाशीका छोरा ६ वर्षीय नियोल र ट्रकधनी तथा चालक तनहुँको भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङको चितवनमा उपचार भइरहेको छ । उद्धार गरेर बेंसीसहर ल्याउँदै गर्दा ट्रकका सहचालक मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ का २८ वर्षीय राजु विकको बाटामै मृत्यु भयो ।

मनाङका डीएसपी सुवास ढकालका अनुसार बेंसीसहरबाट मनाङको चामेतर्फ आउँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक नासों–३ खोत्रोमा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको हो ।

‘घटनाको प्रकृति हेर्दा ट्रक बढी लोडमा थियो । उकालोमा सापट भाँच्चियो । गाडी ब्याक भयो । केही तल गएर मर्स्याङ्दीमा झर्‍यो,’ उनले भने, ‘चालकले जोगाउन खोजेजस्तो छ । कुनातिर ल्याउन खोज्दा नसकेको जस्तो देखिन्छ ।’ उनका अनुसार केही उकालो सडकमा ढलान गरिएको छ । ढलानको उकालोमा घुम्ती छ । त्यही घुम्तीमा पुग्न नपाउँदै सापट भाँचेर ब्रेक फेल भएको हुन सक्ने उनले बताए ।

प्रत्यक्षदर्शी स्थानीय चोकबहादुर गुरुङका अनुसार ठूलो आवाजमा उकालोमा गइरहेको ट्रक ‘ब्याक’ भएको थियो । ‘ए ए भन्दाभन्दै १० मिटरजति ब्याक भएर ट्रक भीरबाट खोलातर्फ खस्यो,’ उनले भने । उनले यसअघि पनि ३/४ वटा गाडी ‘ब्याक’ भएर दुर्घटना भएको तर खोलातिर खस्नबाट जोगिएको सुनाए ।

प्रकाशित : चैत्र १०, २०७७ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?