कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बंगलादेशसँग ४ क्षेत्रमा सहकार्य गर्ने समझदारी

जगदीश्वर पाण्डे

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशको दुईदिने राजकीय भ्रमणका क्रममा सोमबार नेपाल र बंगलादेशबीच चार क्षेत्रमा सहकार्य गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बंगलादेशसँग ४ क्षेत्रमा सहकार्य गर्ने समझदारी

दुई पक्षबीच पर्यटनमा सहकार्य, संस्कृति आदानप्रदान कार्यक्रममा सन् २०२२ देखि २०२५ सम्म सहकार्य, स्यानेटरी र फाइटो स्यानेटरी क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने कार्यमा सहकार्य (पशु र कृषिमा लाग्ने कीटनाशकको अनुसन्धान र औषधि) र बंगलादेशको रोहनपुरदेखि भारत पश्चिम बंगालको सिंहबादसम्मका लागि थप रेल रुट र तेस्रो मुलुकसँग व्यापार गर्नका लागि ‘को–ट्रान्जिट रुट’ मा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले कान्तिपुरलाई बताए । राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षी अब्दुल हमिदबीचको भेटवार्ताका क्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

दुई मुलुकबीच भएको पहिलो समझदारी हो– पर्यटनमा सहकार्य । यसअन्तर्गत नेपालमा बंगलादेशबाट पर्यटक भित्र्याउन सहज बनाउनु रहेको छ । जसका लागि नेपालले सइदपुरदेखि विराटनगरसम्मको हवाई सेवा दिनेछ । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणाका रूपमा नेपाल सरकारले अघि बढाउन खोजेको छ ।

यस्तै, संस्कृति आदानप्रदानमा सन् २०२२ देखि २०२५ सम्म सहकार्य गर्ने कार्यक्रमको समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसअन्तर्गत नेपाल र बंगलादेशका विद्यार्थी र संस्कृतिकर्मीहरूले एकआपसमा क्षमता र ज्ञान आदानप्रदान गर्ने वातावरण निर्माण गरिनेछ । एकअर्काे देशको सांस्कृतिक अध्ययन गर्न सरकारीस्तरबाटै सहयोग उपलब्ध गराउने भन्ने विषयमा यो सम्झौता केन्द्रित छ ।

तेस्रो समझदारी हो– स्यानेटरी र फाइटो स्यानेटरी क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने कार्यमा सहकार्य । बोटबिरुवा तथा पशुपन्छीमा लाग्ने रोग पत्ता लगाई त्यसको निवारण गर्नका लागि आवश्यक अध्ययन र अनुसन्धान गरी सहकार्य गर्ने विषय यो सम्झौतामा केन्द्रित छ ।

बंगलादेशको रोहनपुरदेखि भारत पश्चिम बंगालको सिंहबादसम्मका लागि थप रेल रुट र तेस्रो मुलुकसँग व्यापार गर्नका लागि ‘को–ट्रान्जिट रुट’ मा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसमा नेपाल र बंगलादेशबीच ट्रान्जिट सम्झौतालाई संशोधन गरिएको छ । अहिले नेपालले बंगलादेशबाट चटगाउँ र मंगला बन्दरगाह प्रयोग गर्छ । चटगाउँको बन्दरगाहमा धेरै भीड हुन्छ । जसले गर्दा त्यहाँ सामान राख्नका लागि नेपाली व्यापारीलाई गाह्रो भइरहेको छ ।

करिब ६० किलोमिटर वर रोहनपुरलाई सामानहरू स्टोरेज गर्ने स्थान अर्थात् सुक्खा बन्दरगाहका रूपमा विकास गरेको छ । योभन्दा अगाडि बंगलादेशले त्यो सुविधा उपलब्ध गराएको थिएन । रोहनपुरमा भारत र बंगलादेशबीचको रेलमार्ग सञ्जाल छ । रोहनपुरदेखि पश्चिम बंगालको सिंहबादसम्म करिब २ सय ५५ किलोमिटर रेलमार्ग छ । त्यसलाई ट्रान्जिट रुटका रूपमा नेपालले विकास गर्ने विषयमा समझदारी भएको परराष्ट्रका अधिकारीले बताए ।

यसमा नेपाल–भारत–बंगलादेश त्रिदेशीय सहकार्य र नेपालले बंगलादेश हुँदै तेस्रो मुलुकसँग गर्ने व्यापारको सहजीकरण महत्त्वपूर्ण पाटो हुन्छ । अब नेपालले सिंहबादबाट सामान सिलिगुडी ल्याएर काँकडभिट्टा हुँदै वा वीरगन्ज भन्सारमा पनि लान सक्छ । जुन नेपालले अहिले भारतको कोलकाता बन्दरगाहबाट सामान ल्याउन खर्चेको समयभन्दा कम हुन आउँछ ।

सहकार्य के–केमा ?

  • बंगलादेशको रोहनपुरदेखि भारत पश्चिम बंगालको सिंहबादसम्मका लागि थप रेल रुट र तेस्रो मुलुकसँग व्यापार गर्नका लागि ‘को–ट्रान्जिट रुट’
  • पर्यटनमा सहकार्य
  • स्यानेटरी र फाइटो स्यानेटरी क्षेत्रमा क्षमता अभिवृद्धि
  • (पशु र कृषिमा लाग्ने कीटनाशकको अनुसन्धान र औषधि)
  • संस्कृति आदानप्रदान कार्यक्रम (सन् २०२२–२०२५)

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा बंगलादेश गएकी हुन् । राष्ट्रपति भण्डारी मंगलबारै स्वदेश फर्किने छिन् ।

प्रधानमन्त्री शेख हसिनासँग भेट

राष्ट्रपति भण्डारी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच सोमबार दिउँसो ढाकास्थित होटल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता भएको थियो । त्यस अवसरमा उनीहरूबीच दुई देशको सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यलगायत विषयमा कुराकानी भएको थियो ।

तस्बिर : रासस

उक्त भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरत पौड्याल, बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रसहितको प्रतिनिधिमण्डल थियो । बंगलादेशका तर्फबाट भने विदेशमन्त्री एके. अब्दुल मोमेनसहित अन्य उच्चस्तरीय प्रतिनिधि थिए । त्यसअघि विदेशमन्त्री मोमेनले राष्ट्रपति भण्डारीसँग छुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

स्वागतमा २१ तोपको सलामी

काठमाडौंबाट बिहान करिब साढे ८ बजे राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विशेष विमानबाट ढाकाका लागि उडेकी राष्ट्रपति भण्डारीलाई स्वागत गर्न त्यहाँको सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद पुगेका थिए ।

तस्बिर : रासस

राष्ट्रपति हमिदसँग विदेशमन्त्री, विदेश राज्यमन्त्री र अन्य केही मन्त्री पनि विमानस्थलमा उपस्थित भएका थिए । राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको ढाकास्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भण्डारी विमानस्थलबाट सोझै बंगलादेशको स्वतन्त्रता संग्रामका सहिदहरूको सालिकमा माल्यार्पण गर्न गएकी थिइन् ।

प्रकाशित : चैत्र १०, २०७७ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?