एमालेद्वारा माधव नेपाललाई १० बुँदे स्पष्टिकरण

जवाफसँगै ओलीमाथि प्रश्नपनि सोध्ने तयारी

काठमाडौँ — तत्कालीन नेकपामा भएका गतिविधिलाई समेत समेटेर नेकपा एमालेले नेता माधवकुमार नेपाललाई १० बुँदे स्पष्टिकरण सोधेको छ ।

एमालेद्वारा माधव नेपाललाई १० बुँदे स्पष्टिकरण

महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तत्कालिन नेकपाको सचिवालयमा पेश भएको १९ बुँदे आरोपत्र तयार र वितरण गर्नमा पुष्कमल दाहालको मतियार बनेको देखि पार्टी विभाजनसम्मको नेतृत्व किन गरेको भन्ने सम्ममा नेपालसँग स्पष्टीकारण मागिएको छ ।

शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोध्ने निर्णय अनुसार सोमबार नेताहरुलाई पत्र पठाइएको थियो ।

नेपाललाई सोधिएको स्पष्टिकरण पत्रको पहिलो बुँदामा छ, ‘तपाईंले साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ ‘पुष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप’ तयार गर्न, पार्टी विधानको व्यवस्था विपरित छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनाधिकृत रुपमा प्रयोग गरी पुस्तक प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरित कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?’

तत्कालीन नेकपा अध्यक्ष ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निकालिएको हो भनेर पनि नेता नेपाललाई सोधिएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान विपरित सडक तथा अनाधिकृत स्थानमा बसी अनाधिकृत र कानुन विपरित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्य समेतबाट के–कुन आधारमा सडकबाटै कथित निश्कासनको निर्णय गर्नु, गराउनु भएको हो ?’,नेपालसँग जवाफ मागिएको छ ।

नेपालको उपस्थितिमा निर्वाचन आयोगमा पार्टी विधान र हित विपरित पटक–पटक उपस्थित भई विभिन्न प्रकारका निवेदनहरु के–कति कारणले दिएको हो भन्ने प्रश्नको जवाफ पनि नेपालसँग मागिएको छ । प्रधानमन्त्रीले संसद् विघटन गरेपछि तत्कालीन नेकपा आधिकारीकताको विवाद आयोगमा थियो । तर फागुन २३ को सर्वोच्चको फैसलापछि पनि एमाले विवाद निर्वाचन आयोगमा पुगेको छ । ओलीले एकतर्फी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर निर्णय गरेपछि नेपालसहित ११ नेताले उक्त निर्णय कार्यान्वय नगर्न आग्रहसहितको निवेदन आयोगमा बुझाएका थिए ।

नेपालसँग जवाफ मागिएको अर्को प्रशंग निर्वाचन आयोगका निवेदन र पार्टी फुटाउँदा के उद्देश्य हासिल हुने हो भन्ने पनि छ । ‘पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिन्ह र झण्डासमेत कुनै एउटा समूह वा गुटले मात्र प्रयोग गर्ने, गराउने उद्देश्यका साथ विभिन्न कथित निवेदन लिई निर्वाचन आयोगमा पटक–पटक किन जानुभएको हो ? र, पार्टी फुटाउँदा के–कुन उद्देश्य हासिल हुने हो ?,’ पत्रमा छ । साथै पार्टी अध्यक्ष र महासचिवद्वारा ०७७ चैत्र ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गर्दै राष्ट्रिय भेला र विभिन्न पार्टी कमिटी तथा भातृसंगठनहरुको भेला गरी पार्टी फुटाउन नेतृत्व र अगुवाई किन गरेको भनेर पनि नेता नेपालसँग जवाफ मागिएको छ ।

आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारका विरुद्ध संसद, सञ्चारमाध्यम र सडकबाट निरन्तर विरोध किन गरेको भनेर पनि नेपाललाई सोधिएको छ ।

आफ्नो दलका नेता एवं प्रधानमन्त्रीलाई थाहै नदिई छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गरी संसद सचिवालयमा दर्ता गर्ने प्रयास हानिकारक र अनुशासनहीन काम किन गरेको भनेर पनि नेपालाई सोधिएको छ । प्रधानमन्त्रीले संसद् विघटन गरेकै दिन तत्कालिन नेकपाको दाहाल–नेपालसमूहले संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।

स्पष्टिकरण मागिएको पत्रमा सर्वोच्च अदालतको फैसालपछि नेकपा एमालेको केन्द्रीय कमिटीका तीन वटा बैठक र संसदीय दलको बैठकहरुमा उपस्थित नभएर पार्टी विधान र निर्देशन विपरित आयोजना गरेको भेलाबाट एकता विरोधी प्रस्ताव पारित गर्नुको कारणबारे पनि नेपाललाई सोधिएको छ ।

यस्तै, विपक्षी राजनीतिक दलहरुसँग गठबन्धन गरी आफ्नो पार्टी अध्यक्ष एवं दलको नेता ओली नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन षड्यन्त्र गर्नुको कारण के हो भन्ने प्रश्न पनि नेपाललाई सोधिएको छ ।

‘माधव नेपालहरु सके नेकपा (एमाले) कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा माओवादी केन्द्रसँग एकता गर्न आउनुहुन्छ’ भन्ने पुष्पकमल दाहालको सार्वजनिक भाईहरुप्रति नेपालको मौनता र दाहालसँग निरन्तर भेटघाटको अर्थबारे पनि नेपालसँग जवाफ मागिएको छ ।

नेता नेपालले पार्टी हित विपरित काम गरेको, गुटबन्दी तथा षड्यन्त्र गरको, पार्टी निर्णयलाई बारम्बार उल्लंघन गरेकोलगायतका आरोप पनि पत्रमा छन् । सोधिएका प्रश्न र आरोपबारे तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए पार्टी विधान र नियमावली बमोजिम कारबाही गर्ने पनि पत्रमा उल्लेख छ । पत्रमा नेता नेपाललाई दशौं महाधिवेशन आयोजक कमिटी सदस्य भनेर सम्बोधन गरिएको छ ।

स्पष्टिकरण पत्र आएपछि थप रणनीति तय गर्न सोमबार नै नेपालसमूहका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बसेको थियो । नयाँ बानेश्वरको एक होटलमा बसेको बैठकले पत्रको लिखित जवाफ समयमै दिने निष्कर्ष निकालेको एक नेताले बताए । उनका अनुसार जवाफसँगै ओलीमाथि प्रश्नपनि सोध्ने तयारी भएको छ ।

प्रकाशित : चैत्र ९, २०७७ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?