२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मकैको घोगा खोज्दै बारी-बारी

पूर्वमा सर्लाहीदेखि पश्चिम दाङसम्मै गाउँलेका घरबारीमा दिनेश पुग्छन्, परेका बेलामा मकैको बीउबिजन दिन्छन्, मल पनि चाहिएमा खोजिदिन्छन् अनि परल मूल्यमा हरिया मकै भाँच्दै बोलेरो गाडी लिएर सहर पस्छन् ।
देवेन्द्र भट्टराई

नवलपरासी — जीवनकै उर्वर १० वर्षभन्दा लामो अवधि जापानका फुकोओका, नागोया र टोकियोतिर कामको खोजीमा भौंतारिएका गैंडाकोटका दिनेश शर्मा अहिले मध्यतराईदेखि पहाडका भित्री गाउँबस्तीसम्म हरिया मकैका घोगा बटुल्दै हिँडिरहेका हुन्छन् ।

मकैको घोगा खोज्दै बारी-बारी

पूर्वमा सर्लाहीदेखि पश्चिम दाङसम्मै गाउँलेका घरबारीमा दिनेश पुग्छन्, परेका बेलामा मकैको बीउबिजन दिन्छन्, मल पनि चाहिएमा खोजिदिन्छन् अनि परल मूल्यमा हरिया मकै भाँच्दै बोलेरो गाडी लिएर सहर पस्छन्– भैरहवा, बुटवल, कावासोती, गैंडाकोट, नारायणघाटदेखि हेटौंडासम्मै । सर्लाहीदेखि दाङको देउखुरी उपत्यकासम्मै दिनेशको दौडधुप चलिरहन्छ ।

‘जापानमा होटल सेवामा थिएँ, वेटरदेखि आइपरेका सबै काम गरेँ,’ गैंडाकोटको विजय चोकमा भेटिएका दिनेशले सुनाए, ‘तर यसरी अर्काको देशमा अर्कैका लागि श्रम बेचेर नहुँदो रहेछ भनेर केही सीप र उपाय मात्रै लिएर ५ वर्षअघि घर फर्केको हुँ ।’

गाउँघर घुम्ने, घरघरमा गएर सन्चो–बिसन्चो सोध्ने र सकेसम्म सामाजिक चिनारी बनाउने आफ्नो बानीमा अहिले आएर हरियो मकैको कारोबार थालेपछि यो भेगमै एउटा नाम चल्न थालेको रहेछ, ब्रान्डजस्तै– दिनेश मकै । अलिक पृष्ठभूमिको कुरा गर्दा एसएलसीपछाडि २०५५ सालतिर गाउँमै स्वावलम्बन विकास संघ नामको संस्था खोलेर गाउँघरबाट खाली सिसी, कागज उठाउने, हजाम कामको तालिम दिलाउनेजस्ता काम दिनेशको समूहले गर्न थालेको रहेछ ।

‘त्यसबेला जुटका बोरा, खाली सिसी र कागज उठाउन हामी गाउँ–गाउँमा गयौं । साइकलमा हिँड्थ्यौं, विजयचोकमा गोदाम राखेर बोरा थुपार्थ्यौं, भेडाबारीमा रहेको गोर्खा ब्रुअरीलाई खाली सिसी बेच्थ्यौं,’ उनी सम्झन्छन् । तर, अलिक पैसा कमाउनुपर्‍यो र केही थप तरक्की गर्नुपर्‍यो भनेर २०६१ सालमा जापान छिरेका उनी जापानीहरूले सानोठूलो सबै प्रकारको कामलाई सम्मान गर्ने गरेको देखेपछि घरै फिरेका हुन् ।

‘एकदिन गैंडाकोट–६ मा रहेको घरैसामुको चौतारामा बसेर तल खेती फाँटतिर हेर्दै थिएँ । त्यहाँ त जैसरी खोलो र त्यहींबाट उनिएर आएको कुलोले हराभरा भएको फाँटमा लोभैलाग्दो मकैखेती मात्रै देखियो,’ दिनेश सम्झन्छन्, ‘उता टोकियोमा न धानखेत थियो, न मकैघारी । अब यही मकैमा केही बजार र वितरणको काम गर्छु भनेर म गाउँ पसिहालें ।’

भैरहवा–बुटवलतिर मकै पोखेर खाने–बेच्ने खुबै चलन भएकाले मकै कारोबारमा रहेका केही व्यक्तिलाई सम्पर्क गर्न थाल्नासाथै कसैले १ हजार घोगा, कसैले २ हजार घोगा भनेर अर्डर गर्न थालिहाले । बिहानै गाउँलेका मकैबारीमा पुगेर दरभाउ मिलाउँदै मकै भाँच्यो अनि बजारतिर दगुरिहाल्यो । गर्दागर्दै असारभित्रैमा गैंडाकोटका खेतीमा मकै सकियो । त्यसपछि दिनेश चितवनतिर छिरे– त्यहाँ पनि साउनसम्म मात्रै मकैले धान्यो । अनि, बिस्तारै मकवानपुर हुँदै रौतहट, सर्लाही, बारा, पर्सा सबैतिरका खेतखलियानमा उनी पुग्न थाले ।

पश्चिममा दाङका भालुबाङ, देउखुरी उपत्यकामा त बेसिजन पनि मकै पाइने रहेछ । ‘गैंडाकोटमा असारभित्रैमा खेत रोपिन्छ, चितवनमा साउन अन्त्यमा रोपिने रहेछ । हेटौंडाको भित्तातिर र अझै पूर्व गएमा भदौसम्मै रोपिँदै हुन्छ । दाङमा भने माघ–फागुनसम्मै मकै पाइन्छ,’ जहाँ इच्छा त्यहाँ उपाय भनिएझैं मकै खेतीको उपाय पनि थाहा हुन थालेको, बिउबीजन र जातबारे पनि जानकार हुन थालेको अनुभव दिनेशसँग छ । जानीनजानी मकैमार्फत समाजसेवा भइरहेको रहेछ ।

‘पढेर भन्दा पनि परेरै श्रेष्ठ, सिपी, टिएक्स, ड्रागन आदि मकैका जातजातिबारे थाहा पाउन त्यति समय लागेन,’ उनी भन्छन्, ‘जाडो महिनामा श्रेष्ठ मकैको उत्पादन र स्वाद राम्रो, गर्मीमा सिपी मकै ठीक भन्ने आइडिया मिल्यो । कस्तो खुसीको कुरा छ भने मकै पोल्ने मजदुरका छेउमा पुग्नासाथै ‘ऊ हाम्रो मकै गाडी आयो’ भन्छन् । खुसीले आफ्ना घरव्यवहार र दुःखसुखका कुरा पनि गर्छन् ।’

अहिले दिनेशसँग २ वटा गाडी रहेछन्, एउटा मकै लिन गाउँ जाने र अर्को मकै पुर्‍याउन सहर पस्ने । बजार जति विकसित र स्वाद जति विकासे बन्दै गए पनि ५ वर्षको अनुभवमा दिनेशले बजारमा मकै खान्कीका ग्राहक दोब्बर भएको पाएका छन् । उनी एक लटमा ८ हजार घोगा मकै दिनहुँ बजारमा पुर्‍याइरहेका हुन्छन्, यसबाट कम्तीमा १ सयजति मकै पोल्ने भुइँ श्रमजीवीको गुजारा चलिरहेको रहेछ । यीमध्ये धेरैलाई ई–रिक्सा वा ठेला खरिद गर्नमा दिनेशले सहयोग पनि गरेका रहेछन् । यति गरेपछि मकै बेचेरै त्यो ऋण तिर्ने र ऐंचोपैंचो चलाउने बानी बसेको रहेछ ।

‘अब छिट्टै कृषि एम्बुलेन्सको अवधारणा लिएर आउँदै छु, जसमा मकै मात्रै होइन, सम्पूर्ण हरियो तरकारी, दैनिक उपभोग्य सागसब्जी आदि मात्रै ओसार्ने र बजार पुर्‍याउने काम हुनेछ,’ उनले सुनाए, ‘यसका लागि बुबाआमाकै नाममा जयतिला सप्लायर्स खोलेर काम अघि बढाएको छु ।’

औपचारिक रूपमा आईए मात्रै पढेका ४२ वर्षे दिनेश मकै ‘ब्रान्ड’ लाई अझ उपयोगी र फलदायी हुने गरी फैलाउन लागेका रहेछन् । यो अभियानमा उनका दाजु तिलकराम, भाइ केशव र श्रीमती इन्दुले पनि सघाइरहेका छन् । मकै भाँच्ने खेताला ७ जना र गाडीको ढुवानीसहितका काममा ६ जना कामदार पनि ढुक्कै तलबी रूपमा खटिरहेका छन् । कतिसम्म भने विभिन्न गाउँघरमा अब मकै तयार भयो अथवा भाँच्ने बेला भयो भनेर सूचना दिने ‘मकै खबरीलाल’ पनि राखिएको रहेछ ।

‘मकैको के काम लाग्दैन ? खोसेला, खोया, ढोड, दाना, हरियो घाँस सबै काम लाग्छ,’ दिनेशले सुनाए, ‘अब यो सबै चिजलाई उपयोगमा ल्याउने गरी एकमुष्ट काम गर्ने योजनामा छु । मकै दानाकै कुरामा पनि मकैको चप, क्यानमा मकै, मकै मःमः, पोलेकै मकै, उसिनेको मकै, कर्नफ्लेक्स, मकै पापड, चिउरा, आँटा, ढिँडो, च्याँख्ला आदिको उत्पादन र बजारीकरण गर्ने योजनामा काम भइरहेको छ ।’

सुरुका दिनमा कृषकका बारीबाट उठाएर ल्याएको सबै मकै बजारमा जान नसक्दा घरको आँगनमा थुपारेर लगानी र परिश्रम डुबाएको क्षण पनि उनका आँखैसामु छ । त्यो बेला घरमा बूढीआमाले भन्ने गरेकी रहिछन्– ‘खोइ के भनौं र ? यो दिनेश दाना भरिएको मकैघोगो होइन, खोया मात्रै बन्लाजस्तो छाँट देखिन्छ ।’ तर, अहिले आएर दिनेश शर्मा सापकोटाको नामकाम र ब्रान्ड अर्कै बनिसकेको छ– दिनेश ‘मकै’, गैंडाकोट–६, स्वावलम्बन टोल ।

प्रकाशित : चैत्र ९, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?