दम्पती बेपत्ता आरोपमा चार पक्राउ

जग्गा कारोबारीलाई असहयोग गर्दा बेपत्ता पारिएको शंका
सुनीता बराल

महोत्तरी — सुतेको ओछ्यानसहित दम्पती बेपत्ता घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका–५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, २६ वर्षीय सुरेन्द्र यादव, २४ वर्षीय राजेन्द्र यादव र भारतको मधुवनी घर भई पिपरन–६ बनौली बस्ने हरेन्द्र ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी महोत्तरीले पत्रकार सम्मेलन गर्दै जनाएको हो ।

दम्पती बेपत्ता आरोपमा चार पक्राउ

पिपरा–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी सुतेकै कोठाबाट ओछ्यानसहित गत फागुन १० गते राति बेपत्ता भएका थिए । बेपत्ता दम्पतीको अवस्था प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन । पक्राउ परेकाहरूले झा दम्पतीलाई मारेको वा बेपत्ता पारेको बारेमा प्रस्ट बयान नदिएकाले भारतलगायत नेपालका विभिन्न शंकास्पद ठाउँमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘अपहरण, शरीर बन्धक तथा बेपत्ता पारिएको अभियोगमा चार जनालाई पक्राउ गरिएको हो,’ महोत्तरीका एसपी दिनेश आचार्यले भने, ‘बेपत्ता दम्पतीको खोजीसहित घटनाको थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेकामध्ये हरेन्द्र ठाकुर जग्गाका कारोबारी हुन् । उनले सहोडवामा प्लटिङ गरेको १३ बिघा जग्गाको उत्तरतर्फ मुसाफिर झाको १४ कट्ठा जग्गा छ । आफ्नो प्लटिङमा बाटो बनाउन झालाई जग्गा बेच्न पटक–पटक जग्गा बेच्न दबाब दिँदै आएको खुलेको प्रहरीले जनाएको छ । झा जग्गा बेच्न तयार थिएनन् । ठाकुरले छिमेकी रामबाबु यादवमार्फत समेत झा दम्पतीलाई दबाब दिँदै आएका थिए । जग्गा कारोबारी ठाकुर फागुन १० गते प्लटिङ गरिएको जग्गामा उपस्थित भएको र दम्पती बेपत्ता भएको राति हरेन्द्र र रामबाबुबीच पटक–पटक अस्वाभाविक रूपमा संवाद भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महोत्तरी प्रहरी, प्रदेश २ प्रहरी कार्यालय जनकपुरसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : चैत्र ८, २०७७ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?