२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सानो भ्यागुतो, ठूलो महत्त्व

५७ जिल्लामा भेटिए २० प्रजातिका भ्यागुता
गोविन्द पोखरेल

काठमाडौँ — सिन्धुलीकी रविना श्रेष्ठलाई संरक्षण अभियान भन्नेबित्तिकै ठूल्ठूला जीवको मात्र हुन्छ भन्ने लाग्थ्यो । स–साना जीवतिर चासै थिएन । यस्तैमा भ्यागुता पनि संरक्षणीय जीव हो भन्दा उनलाई सुरुमा पत्यारै लागेन । तर जब इकोसिस्टममा यो उभयचरको महत्त्वबारे थाहा पाइन्, यसबाट छुट्टिनै नसकिने गरी जोडिइन् । हिजोआज उनी भ्यागुता संरक्षणमा यति दत्तचित्त छिन् कि टोले भाइबहिनीहरूले उनलाई चिन्ने नामै बनेको छ– ‘भ्यागुता दिदी ।’

सानो भ्यागुतो, ठूलो महत्त्व

श्रेष्ठ भन्छिन्, ‘लकडाउनका बेला म वरिपरिका भाइबहिनीलाई लिएर भ्यागुताको फोटो खिच्न र यसबारे जानकारी दिन गाउँ जान्थें । गाउँमा कसैले भ्यागुता देख्नेबित्तिकै मलाई सुनाउने र फोटो खिचेर दिन थाले । अनि हुँदाहुँदा अहिले मलाई नै ‘भ्यागुता दिदी’ भनेर भाइबहिनीहरु बोलाउने गर्छन् । ’

त्रिचन्द्र कलेजबाट बीएस्सी चौथो वर्षको परीक्षा दिएकी उनले ‘कमन टोड’ प्रजातिको भ्यागुता धेरै फेला पारेको बताइन् ।

बैतडीका महेश अवस्थी पनि भ्यागुतालाई खासै चासो दिँदैनथे । घरमा देख्ने बित्तिकै मार्ने/खेदाउने गर्थे । ‘जब यसका बारेमा थाहा पाएँ, संरक्षणमा लागेको छु,’ उनले भने, ‘मेरो गाउँमा कसैले भ्यागुता देख्नेबित्तिकै फोटो खिचेर मलाई जानकारी दिन्छन् ।’

विश्व भ्यागुता दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठ र अवस्थीजस्ता धेरै युवाले भ्यागुतासम्बन्धी आफ्ना अनुभव सुनाए । एक वर्षयता उनीहरूजस्ता धेरै युवा भ्यागुताको खोजी र संरक्षण अभियानमा जुटेका छन् । जैविक विविधतासम्बन्धी अध्ययन/अनुसन्धान गर्दै आएका क्यारोन, इन्प्रोक्स, डब्लूसीएन र गोल्डेन गेट कलेजले यसको अवसर युवालाई जुटाइदिएका हुन् । भ्यागुताको खोजीका लागि सुरु गरिएको ‘क्रोकिङ मनसुन’ अभियान मार्फत युवा पुस्ता भ्यागुतासँग जोडिएका छन् ।

भ्यागुतालाई मानिसहरूले खासै चासो नदिए पनि यसको भूमिका महत्त्वपूर्ण रहेको यसका अनुसन्धानकर्ता प्रकाशचन्द्र अर्याल बताउँछन् । उनी भन्छन्, ‘हामीले संरक्षण भनेर ठूला जीवलाई मात्रै चासो दिएका छौं तर साना जीवको भूमिका पनि महत्वपूर्ण हुन्छ । पारिस्थितिक प्रणालीमा भ्यागुताले महत्त्वपूर्ण भूमिका खेल्छ ।’ भ्यागुताले किरा, फट्यांग्रा खाइदिने, लामखुट्टेको नियन्त्रण र खाद्य चक्रमा यसको विशेष स्थान हुने भएकाले भ्यागुता महत्त्वपूर्ण उभयचर रहेको उनले सुनाए ।

क्रोकिङ मनसुन अभियानमार्फत सुरु गरिएको भ्यागुताको खोजी अभियानमार्फत यस वर्ष ५७ जिल्लामा २० प्रजातिका भ्यागुता भेटिएको इन्प्रोक्सका अनुसन्धानकर्ता विशाल शर्माले बताए । ‘यो संख्या भनेको नेपालमा पाइने भनिएका भ्यागुताको एक तिहाइ हो,’ शर्माले भने । नेपालमा ५५ प्रजातिका भ्यागुता पाइने गरेको उनले सुनाए ।

सबैभन्दा बढी खस्रो प्रजातिको भ्यागुता भेटिएको छ । यो भ्यागुता विशेष गरी सुक्खा ठाउँमा र मानव बस्तीनजिकै बस्ने अनुसन्धाताका भनाइ छ । खस्रो भ्यागुता प्रजातिपछि सबैभन्दा बढी सिर्के पाहा भ्यागुता भेटिएको छ ।

सन् २०२०को क्रोकिङ मनसुन अभियानमा थोरै जिल्लामा मात्र पाइने भनिएका भ्यागुता अन्य जिल्लामा पनि भेटिएका छन् । ‘बरोइंग फ्रग’ भनिने भ्यागुताको प्रजाति तराई र मध्यपहाडीका विभिन्न जिल्लामा भेटिएको इन्प्रोक्सका अनुसन्धाता चन्द्रमणि अर्यालले बताए । ‘नेपालको सन्दर्भमा केही अध्ययन नभएका भ्यागुता पनि यसपटक भेटिए । तराईमा रेकर्ड भएको बरोङंग फ्रग अन्य जिल्लामा पनि भेटिएको छ । यसबाट हामी उत्साही छौं,’ उनले भने ।

नागरिक वैज्ञानिक अवधारणाअनुसार सुरु गरिएको यो अभियानमा धेरै मानिसहरू जोडिएको र अहिले नेपालका भ्यागुताको अवस्थाबारे अध्ययन गर्न थप सजिलो भएको अनुसन्धाता सन्देश न्यौपानेले बताए । सन् २०२१ बाट सम्बन्धित ठाउँमा गएर वासस्थानसमेत अध्ययन गर्ने योजना रहेको उनले जनाए ।

पछिल्लो समय विकास निर्माण तथा सडक सञ्जाल विस्तारका कारण भ्यागुताहरूलाई खतरा बढ्दै गएको छ ।

हर्पिटोलोजिस्टसमेत रहेका प्राध्यापक करनकुमार शाहका अनुसार एउटा वयष्क भ्यागुताले १० हजारवटा किरा–फट्यांग्रा खाएर पारिस्थितक प्रणाली सन्तुलनमा राख्न मद्दत गर्छ । उनी भन्छन्, ‘उभयचरहरू गाई–प्राणी हुन् । यिनले कसैलाई पनि हानि गर्दैनन् बरु उल्टै वातावरणलाई फाइदा पुर्‍याएका छन् ।’ नेपालका भ्यागुताहरू कृषि तथा रासायनिक प्रदूषण, पानीको स्रोत मासिनु र जलवायु परिवर्तनका कारण घट्दै गइरहेको अनुसन्धाताहरूको बुझाइ छ । मानव बस्तीआसपास बस्ने भ्यागुता दुर्घटनाका कारण पनि मर्ने गरेका छन् । कतिपय प्रजातिलाई मानिसहरूले मारेर खाने गरेकाले यसको संरक्षणमा चुनौती थपिएको विज्ञहरुको भनाइ छ ।

प्रकाशित : चैत्र ८, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?