कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बाघको अंग तस्करी झनै बढ्यो

नेपालसहितका एसियाली मुलुक तस्करीको ‘हटस्पट’ बन्दै, चीन र भियतनाममा विभिन्न औषधि बनाउन बाघको अंग प्रयोग
अब्दुल्लाह मियाँ

काठमाडौँ — प्राकृतिक बासस्थानमा बाघको संख्या दोब्बर पार्ने संकल्पसाथ विश्वका बाघ पाइने देश संरक्षणमा जुटिरहँदा वन्यजन्तु अपराधसम्बन्धी सार्वजनिक राष्ट्रसंघीय प्रतिवेदनले भने यसको अंग तस्करी बढेको जनाएको छ ।

बाघको अंग तस्करी झनै बढ्यो

प्रतिवेदनले सन् २००७ देखि २०१८ सम्म बाघका अंग (छाला, हड्डी, यौनांग, नंग्रा, रगतलगायत) हरूको अत्यधिक किनबेच र ओसारपसार भएको जनाएको हो । प्रतिवेदनअनुसार पछिल्लो १२ वर्षमा विश्वमा बाघ र त्यसका अंगसम्बन्धी १ हजार ३२ वटा बरामद (सिजरिङ) का घटना भएका छन् । सन् २०१६ मा विश्वभरि बाघका अंगको बरामदका घटना सबैभन्दा बढी भएको प्रतिवेदनले औंल्याएको छ ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिहरूको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि (साइटिस) मा बाघलाई अनुसूची–१ मा राखिएको छ । अनुसूची–१ मा रहेका वन्यजन्तु र तिनका अंगको व्यापार गर्न प्रतिबन्ध लगाइएको छ । नेपालमा बाघलगायत संरक्षित वन्यजन्तुको कारोबार गर्नेलाई ५ देखि १० लाख रुपैयाँ जरिवाना र ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने निकुञ्ज ऐनमा व्यवस्था छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशका राष्ट्रप्रमुखको भेलाले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने संकल्प गरेका थिए । नेपालसहितका केही देश त्यो लक्ष्यको नजिक पुगेका छन् ।

दोब्बर पार्ने घोषणाताका विश्वभर बाघको संख्या ३ हजार २ सय हाराहारी थियो । अहिले करिब ४ हजार ९ सय ८२ पुगेको छ तर चिनियाँ बजारमा अहिले पनि बाघका छाला, हड्डी, नंग्रा, दाँत, रगत र यौनांगलगायतको माग अत्यधिक हुने गरेकाले यसको अवैध कारोबार नरोकिएको राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख छ । बितेका १२ वर्षमा बाघका अंग बरामदका घटना सबैभन्दा बढी थाइल्यान्ड, भारतलगायत मुलुकमा भएको पाइएको छ ।

प्रतिवेदनअनुसार बरामदसम्बन्धी घटनामध्ये थाइल्यान्डमा ६६.९, भारतमा ९.३ र इन्डोनेसियामा ५.७ प्रतिशत छ । ‘युनाइटेड नेसन्स अफिस अन ड्रग्स एन्ड क्राइम’ ले सन् २०२० मा तयार पारेको ‘वर्ल्ड वाइल्डलाइफ क्राइम रिपोर्ट’ मा १ सय ४९ वटा देशमा वन्यजन्तुका १ लाख ८० हजार बरामदका घटना भएको उल्लेख छ । तिनमा सबैभन्दा बढी स्तनधारी २३, सरीसृप २१.३, चरा प्रजाति ८.५ र वनस्पतिजन्य १४.३ प्रतिशत छन् । स्तनधारीमा बाघसहित हात्ती, गैंडा, चितुवा, सिंहलगायत वन्यजन्तुका अंग बढी बरामद भएका छन् । भारतसँग सीमा जोडिएका नेपालका विभिन्न नाका भएर बाघलगायत संरक्षित वन्यजन्तुका अंगको चिनियाँ बजारमा तस्करी हुने गरेको देखिन्छ ।

पछिल्लो १० वर्षमा सरकारी निकायको तथ्यांकअनुसार नेपालका विभिन्न स्थानबाट बाघका ४८ वटा छाला बरामद भएको छ । तीमध्ये पश्चिम तराईका जिल्लामा २३ वटा र बाघको बासस्थान नभएका जिल्लाबाट २१ वटा छाला बरामद भएका थिए । नेपालमा सन् २०१५ मा बाघका छालासम्बन्धी बरामदका घटना धेरै भएका थिए । काठमाडौंबाट नुवाकोट र रसुवा भएर पनि ठूलो परिमाणमा बाघका छाला, हड्डी र अन्य वन्यजन्तुका अंग चिनियाँ बजारतिर तस्करी हुने गरेको छ । भारतका नेसनल पार्क, रिजर्भ र संरक्षित क्षेत्रमा मारिएका बाघका छाला र अन्य अंग नेपाल हुँदै चिनियाँ बजारमा निकासी गर्ने गरिएको अनुसन्धानमा पाइएको छ ।

त्यसरी तस्करी गर्नेमा भारतका पेसेवर बन्जरिया (बाबरिया) समूहसमेत थिए । बाघका छाला र हड्डीलगायत तस्करी गर्ने क्रममा बाबरिया समूहहरू विभिन्न समयमा बर्दिया र कैलालीमा पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपालमा बसेर तस्करहरूले बाघलगायत वन्यजन्तुका अंगको ओसारपसारमा अन्तर्राष्ट्रिय गिरोहलाई सघाइरहेको पाइन्छ । फरार भएको १५ वर्षपछि गत ११ असारमा काठमाडौंमा पक्राउ परेर अहिले रसुवामा थुनामा रहेका हुम्ला नाम्खा गाउँपालिका–४ का कुन्जोक छिरिङ तामाङ तीमध्येका एक कुख्यात तस्कर हुन् । उनको पहुँच वन्यजन्तुका अन्तर्राष्ट्रिय खुंखार व्यापारी र तिनको नेटवर्कसम्म रहेको खुलासा भएको छ ।

किन हुन्छ सिकार ?

बाघका अंगमध्ये ४० प्रतिशत परम्परागत औषधि बनाउन प्रयोग हुने गरेको पाइन्छ । यसको शिरदेखि नंग्रासम्मै र रगत तथा यौनांगको समेत किनबेच हुने गर्छ । थाइल्यान्डमा प्रजनन केन्द्र (घरपालुवा) भित्र सबैभन्दा धेरै बाघ छन् । त्यहींका बाघका अंगको किनबेचका लागि ओसारपसार गर्दा थाइल्यान्डमा बरामदका धेरै घटना भएका हुन् । भारतमा भने प्राकृतिक अवस्थामा विश्वकै सबैभन्दा बढी २ हजार ९ सय ६७ बाघ छन् तर प्रजनन केन्द्रभित्र थोरै बाघ छन् । बरामद भएका अंगको मुख्य स्रोत प्राकृतिक बासस्थानकै बाघ हुन् ।

पछिल्लो आँकडाअनुसार १३ देशको प्राकृतिक बासस्थानमा बाघको संख्या २८५५ देखि ४९८२ छ । धेरै संख्यामा बाघ रहेका देश नेपालसहित भारत, मलेसिया, बंगलादेश, रुस, थाइल्यान्ड, भुटान, इन्डोनेसिया हुन् ।

लाओस्, म्यान्मार, कम्बोडिया, भियतनाममा बाघको संख्या न्यून छ । बाघका अंगको बरामदमध्ये छाला १३, शरीर ८, दाँत ७ प्रतिशत छन् । यी अंगको होलसेल कारोबार गर्नेमा धेरैजसो चिनियाँ र भियतनामी हुने गरेको देखिन्छ । चिनियाँ परम्परागत औषधि, पौष्टिक टनिक र क्रिम बनाउन बाघका अंगको कारोबार हुने गरेको देखिन्छ । म्यान्मार, भियतनाम पनि बाघका अंग प्रयोग गर्ने मुलुकभित्र पर्छन् । चीन र भियतनाममा प्राकृतिकबाहेक घरपालुवा बाघका अंगको समेत तस्करी बढिरहेको प्रतिवेदनमा उल्लेख छ । चीनले बाघको मासुसमेत बेचबिखन गर्छ ।

दक्षिण एसियाली मुलुकका केही नाका (रुट) हरू बाघका अंगको चोरीनिकासीका लागि हटस्पट बन्दै गएको प्रतिवेदनमा उल्लेख छ । ‘भारतबाट नेपाल हुँदै चिनियाँ बजारमा बाघ र तिनका अंगको कारोबार हुने गरेको देखिन्छ,’ प्रतिवेदनमा छ, ‘भारतबाट सिधै म्यान्मारतिर पनि निकासी हुने गरेको छ ।’ इन्डोनेसियाबाट म्यान्मार हुँदै पनि चिनियाँ बजारमा तस्करी हुने गरेको छ । यस्तै, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र भियतनाम हुँदै पनि चिनियाँ बजारमा तस्करी हुने प्रतिवेदनमा जनाइएको छ । चीन र भियतनाममा कृत्रिम प्रजनन गरी संख्या विस्तार गरिएका (घरपालुवा) बाघको समेत अवैध कारोबार हुने गरेको छ । केही वर्ष अघिसम्म भने चीनले घरपालुवा बाघका अंगको कारोबारमा प्रतिबन्ध लगाएको थियो ।

दक्षिणपूर्वी एसियाली मुलुकमा सन् १९९४ तिर बाघको हड्डी प्रतिकिलो १२०० अमेरिकी डलरसम्म किनबेच हुने गरेको थियो । २००७ मा आइपुग्दा मूल्य बढेर १२५० देखि ३७५० अमेरिकी डलरसम्म पुगेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ मा भने घटेर प्रतिकिलो २२६० अमेरिकी डलरमा किनबेच हुने गरेको थियो । सन् २०१५ मा प्रतिकिलो १४०० अमेरिकी डलरसम्म झरेको थियो । ‘बजारमा बाघका अंग सहज ढंगले उपलब्ध भएका बखत मूल्य निकै तल झर्ने गर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अत्यधिक माग बढ्यो भने मूल्य पनि अकासिन्छ ।’

चीनले बाघको हड्डीबाट वाइन (टाइगर वाइन) समेत बनाएको छ । त्यस्तो वाइनलाई चिनियाँहरूले सांस्कृतिक हिसाबले प्रयोग गर्छन् । भियतनामीहरूले भने बाघका अंगबाट विभिन्न क्रिम (टाइगर बाम) बनाउँछन् । त्यस्तो क्रिमलाई उनीहरूले चीनले जस्तै सांस्कृतिक महत्त्व दिन्छन् । बाघको वाइन बजारमा समेत किनबेच हुन्छ । पूर्वी र दक्षिण पूर्वीय मुलुकमा एक बोतल वाइनको ८० अमेरिकी डलरदेखि २९० अमेरिकी डलरसम्ममा बजारमा बिक्री हुन्छ । चीनले त्यस्तो वाइनको एक बोतलको ५ सयदेखि १ हजार अमेरिकी डलसम्ममा विभिन्न मुलुकमा निकासीसमेत गर्ने गरेको छ ।

बाघका अंग प्रयोग गरी बनाइएको क्रिमको भियतनामी बजारमा १ सय ग्रामको १ हजार अमेरिकी डलरसम्म बिक्री हुने गरेको पाइएको छ । बाघको यौनांग प्रयोग गरी यौनशक्ति बढाउने औषधि (क्रिम) समेत बनाएको पाइएको छ । चीन, भियतनामलगायत मुलुकले बाघका सबैजसो अंग प्रयोग गरी विभिन्न औषधि बनाउने गरेका छन् ।

बाघको मासु खाँदा मलेरिया र पेटजन्य रोग निको हुने चिनियाँहरूको विश्वास छ । बाघको फोक्सोबाट बनेको परम्परागत औषधिले क्यान्सर निदान हुने विश्वास छ भने पुच्छरबाट छालाजन्य रोग निको हुने औषधि बन्ने गरेको छ । चीन र भियतनामले बाघका २२ वटा अंगलाई विभिन्न औषधि बनाउन प्रयोग गर्ने गरेको पाइन्छ ।

प्रकाशित : चैत्र ७, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?