कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल : उपाधि जित्नेमा दुवै टोली ढुक्क

सुवास विडारी

हेटौंडा — त्रिभुवन आर्मी क्लब र मकवानपुर–११ शनिबार तेस्रो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को उपाधिका लागि आमनेसामने हुँदै छन् ।

सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल : उपाधि जित्नेमा दुवै टोली ढुक्क

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक क्यालेन्डरअनुसार मोफसलमा सुरु भएको सिजनको पहिलो नकआउट प्रतियोगिताका उपाधि जित्ने दुवै टोलीले दाबी गरेका छन् । वन विज्ञान खेलमैदानमा जारी प्रतियोगिता आफ्नो नाम लेखाउने दाउमा आर्मी रहेको छ भने साविकको विजेता मकवानपुर उपाधि रक्षा गर्ने गरी मैदानमा उत्रिँदै छ ।

फाइनलको यात्रा तय गर्ने क्रममा आर्मीले ‘ए’ डिभिजन टोली जावलाखेल र विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई तथा आयोजकले नवजनजागृति युवा क्लब, सिमरा र लिग च्याम्पियन मछिन्द्रलाई पराजित गरेका थिए । विदेशी टोलीलाई पराजित गरेर आर्मी हौसिएको छ भने मछिन्द्रलाई पराजित गरेसँगै आफूहरूलाई उपाधि रक्षा गर्न कसैले रोक्न नसक्ने दाबी मकवानपुरको छ ।

‘हामीले यस मैदानमा दुईवटा उपाधि जितिसकेका छौं । तीनवटा फाइनल पनि खेलिसकेका छौं । हाम्रा खेलाडीहरू फाइनल खेल्नका लागि उत्साहित छन्,’ आर्मीका व्यवस्थापक चुनबहादुर थापाले भने । कप्तान तथा फरवार्ड टेकबहादुर बुढाथोकी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा आर्मीका आठजना खेलाडी हुँदासमेत आफूहरूले फाइनल यात्रा तय गरेको कारण च्याम्पियन हुनेमा ढुक्क रहेको दाबी गर्छन् ।

आफ्ना फरवार्डहरू उच्च फर्ममा रहेका कारण यस वर्ष पनि उपाधि जित्नेमा आफू ढुक्क रहेको मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले बताए । ‘मौसम, मैदान र दर्शक सबै हाम्रो पक्षमा रहेका छन् । त्यसकारण उपाधि जित्नेमा ढुक्क छौं ।’, उनले भने । मकवानपुरका कप्तान तथा गोलरक्षक अशोक बरालले घरेलु मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्नेमा आफू ढुक्क रहेको दाबी गरे । ‘हामीसँग उत्कृष्ट फरवार्ड छन् । त्यसकारण सहज जित निस्किन्छ’, उनले भने ।

दुई खेलमा एकमात्र गोल गरेको आर्मीले एउटा जित टाइब्रेकरमा हात पारेको थियो । आर्मीले प्रतियोगितामा गोल भने खाएको छैन । मकवानपुरले आठ गोल गरेको छ भने चार गोल खाएको छ ।

आर्मीका फरवार्ड टेकबहादुर बुढाथोकी, आशिष शाक्यले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । मकवानपुरका अमीर श्रेष्ठ, रञ्जन विष्ट र विमल रानाबीच प्रतियोगितामा उत्कृष्ट तालमेल देखिएको छ । अमीर तीन गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीको पहिलो नम्बरमा छन् ।

आर्मीको डिफेन्डर विमल पाण्डे र दीपक गुरुङ फाइनलमा मकवानपुरका लागि बाधक हुन सक्छन् । मकवानपुरका डिफेन्डर सुरज विष्ट र कमल श्रेष्ठलाई छक्याउँदै गोल गर्न आर्मीलाई पनि सहज देखिँदैन । प्रतियोगितामा आर्मीको मिडफिल्ड बलियो देखिन्छ भने फरवार्डमा मकवानपुरका खेलाडीहरूको प्रदर्शन अब्बल रहेको छ । आर्मी टोली पूर्णरूपमा फिट छ भने आयोजकको टोलीमा केही खेलाडी घाइते छन् ।

कोरोना भाइरसको कहरपश्चात् बिस्तारै फुटबलको मौसममा सुरु भएको अवस्थामा हुन लागेको प्रतियोगिताको उपाधि कसले जित्छ त्यो थाहा पाउन भने अन्तिम नतिजा कुर्नुको विकल्प छैन । यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्बलले जितेको थियो ।

प्रकाशित : चैत्र ७, २०७७ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?