१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गौर नरसंहारको १४ वर्ष : खुलेन न्यायको ढोका

झडपमा मृत्यु भएका २७ जनाका परिवारले राज्यबाट १० लाखका दरले राहत पाए तर न्याय कसैले पाएका छैनन् । दोषीलाई कारबाही माग गर्दै पीडितले गत शनिबार प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवसहित ११३ जनाविरूद्ध प्रहरीमा कर्तव्य ज्यान मुद्दा दर्ता छ ।
शिव पुरी

रौतहट — उमेरको उत्तरार्द्धमा चन्द्रपुर–२ पैनीटोलका भक्तबहादुर पाण्डेसँग सुनाउनुपर्ने विगतका यादभन्दा बल्झिरहने दुःखको घाउ मात्रै छ । उनको दुःखको कथा गौर हत्याकाण्डसँग जोडिएको छ । २०६३ चैत ७ गते अपराह्न गौर नगरपालिकास्थित राइस मिल मैदानमा भएको अकल्पनीय घटनाले पाण्डे परिवारलाई अझै सताइरहेको छ ।

गौर नरसंहारको १४ वर्ष : खुलेन न्यायको ढोका

भक्तबहादुरका २० वर्षीय छोरा दीपक पाण्डेको गौर हत्याकाण्डमा मृत्यु भयो तर पाण्डे दम्पतीले शवसमेत हेर्न पाएनन् । अहिले उनीहरू बेसहारा छन् । १४ वर्ष बितिसक्दा पनि दोषीलाई कारबाही भएको छैन । कुनै युद्धभूमिमा लडाइँ हुँदै गरेको फिल्मको झल्को आउने त्यो क्रूर घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादव, पूर्वसभासद बबन सिंह, प्रदेशसभा सांसद बाबुलाल साहलगायत १ सय १३ जनाको नाम जोडिएको छ । पाण्डे परिवारका कान्छो छोरा दीपक मारिँदा उनी माओवादीको वाईसीएलमा भर्ना भएको ९ महिना पुगेको थियो ।

राइस मिलमा एकै स्थानमा तत्कालीन माओवादी र तत्कालीन फोरमले सभा गर्न लाग्दा झडप भएको थियो । झडपमा २७ वाईसीएल कार्यकर्ताको मृत्यु भयो भने ५३ जना गम्भीर घाइते भए । त्यस दिन राइस मिलमा माओवादी र फोरमले एकै ठाउँमा सभा गर्न लागेको भन्दै नगरपालिका क्षेत्रभरि एकखाले त्रास पैदा भइसकेको थियो । यसको यथार्थ जानकारी हुँदा पनि स्थानीय प्रशासनले रोक्ने प्रयास गरेन । फोरमले मैदानको दक्षिण र माओवादीले उत्तर कुनामा अघिल्लो दिन नै मञ्च बनाइसकेका थिए । त्यही राति मकवानपुर, सिन्धुली, दाङ, बाजुरा, बारा, पर्सा, सिरहा, चितवन, काभ्रे, रुकुम, सप्तरीलगायत जिल्लाबाट वाईसीएल कार्यकर्तालाई सभास्थलमा खटाइएको थियो । उनीहरू साना हतियारसहित आएका थिए । माओवादी कुनै हालतमा फोरमलाई सभा गर्न नदिने पक्षमा थियो भने फोरम गरेरै छाड्ने अडानमा थियो ।

फोरमले प्रमुख अतिथि नेता उपेन्द्र यादवलाई बोलायो, माओवादीले जिल्ला इन्चार्ज प्रभु साहलाई । सभाको अघिल्लो दिन चैत ६ गते दीपकलाई सभामा सहभागी हुन वाईसीएलका स्थानीय नेताले खबर पठाए । त्यसपछि उनलाई घरबाट हिँडाइहाले । १४ वर्षअघिको त्यो दिनको सम्झना भक्तबहादुरलाई अझै पनि झलझली छ । छोरा माओवादीमा लागेको थाहा पाएपछि निकैपटक सम्झाएको उनले सुनाए । उसै बेला गौरमा भएको माओवादीको भेटघाट कार्यक्रममै पुगेर सम्झाउन खोज्दा दीपकले बुबालाई उल्टै सम्झाएर पठाए । दीपकले भनेको कुरा सम्झँदै उनी भन्छन्, ‘बुबा, म मरें भने सहिद हुन्छु । मलाई मेरो जीवन रक्षा गर्न आउँछ, चिन्ता नलिनुस् ।’

भक्तबहादुरको चिन्ता त्यसपछिका परिदृश्यहरूले झन् गाढा बनाउँदै लग्यो । ‘त्यस दिन छोरा गौरको सभामा गएको भन्ने थाहा पाएपछि मेरो मन थिरमा थिएन,’ उनले भने, ‘त्यतैबाट ऊ सदाका लागि बिदा भयो, अन्तिम पटक अनुहार हेर्न पनि पाइनँ ।’ चैत ७ गते झमक्क साँझ परिसकेको थियो । उनी छोराको बाटो हेरेर घरमै टहलिरहेका थिए । छोरा घर नआएपछि उनको छटपटी रातसँगै छिप्पिँदै गयो । भोलिपल्ट वरपरका छरछिमेकीलाई छोराको अवस्था पत्ता लगाइदिन उनले हारगुहार गरे तर कसैले केही भनेनन् । त्यतिबेलासम्म दीपकले गौरमा प्राण त्यागिसकेका थिए ।

घटनाको तीन दिनसम्म पाण्डे परिवारले के भएको हो, कसो भएको हो भनेर मेसो पाएन । एकैचोटि छोराको दाहसंस्कार भइसकेको थाहा पाए भक्तबहादुरले । झडपमा आफ्नै छोरा परेको खबर सुनेपछि आमा भगवती पनि बेहोस भइन् । ‘छोरालाई कसले मार्‍यो थाहा छैन, मार्नेलाई कारबाही भयो/भएन पनि थाहा छैन,’ भगवतीले भनिन्, ‘हामीचाहिँ बेसहारा भयौं ।’ पाण्डे परिवारका दीपक कान्छो छोरा हुन् । जेठो अजयले उसै बेला आत्महत्या गरे ।

कारण अहिलेसम्म उनीहरूले थाहा पाउन सकेका छैनन् । माइलो राजकुमार नेपाल प्रहरीमा हुँदा बेवारिस बम टिप्न लाग्दा हातमै पड्केर घाइते भए । जागिर छाडेर उनी दुबई गएका छन्, भिन्दै बस्छन् । घरमा पाण्डे दम्पती मात्र छन् । ७० वर्षीय भक्तबहादुरलाई दम रोग छ । उनी हिँडडुल गर्न सक्दैनन् । छोरा मार्नेलाई कहिले कारबाही हुन्छ भनेर उनी जसलाई भेटे पनि सोध्न भुल्दैनन् ।

घटनाका प्रत्यक्षदर्शीमध्येका एक माओवादीका तत्कालीन नेता युवराज भट्टराई (समीर) हत्यारालाई अहिलेसम्म कारबाही नहुनु दुःखद भएको सुनाउँछन् । उनी झडपका बेला गौर सभामै थिए तर दुवैतर्फबाट हानाहान हुन थालेपछि भागेर ज्यान जोगाए । भाग्न नसक्ने दीपकजस्ता धेरैले भने ज्यान त्यहीँ बिसाउनुपर्‍यो ।

तिनैमध्येकी हुन्– चन्द्रपुर–२ वनटोलकी १८ वर्षीया रेखा परियार । उनका बुबा रामबहादुर अहिले पनि छोरीको कुरा गर्दा भक्कानिन्छन् । ‘सानो सभा छ’ भनेर घरबाट हिँडेकी छोरीको मृत्युको खबरले परियार परिवार मानसिक रूपमा विक्षिप्त छ । रामबहादुरका दुई छोरीमध्ये जेठी कल्पनाले आत्महत्या गरिन् । कान्छी रेखाको हत्या भयो । ‘अब हामीसित छोरी नै छैन’ आमा दालचिनी परियार आँसु खसाल्छिन्, ‘माओवादीमा लागेर जनताको सेवा गर्छु भन्थी । कहिल्यै नआउने गरी बिदा भई ।’ रेखालाई खेतमा काम गर्दैगर्दा वाईसीएलका कार्यकर्ता आएर सभाको अघिल्लो दिन गौर लगेका थिए ।

घटनाका बेला जिल्ला प्रहरी रौतहटमा कार्यरत तत्कालीन प्रहरी प्रमुख एसपी रामकुमार खनाल माथिबाट सभा रोक्न कुनै स्पष्ट आदेश नभएकाले क्षति बेहोर्नुपरेको सुनाउँछन् । ‘माथिबाट कुनै आदेश नआएकाले म एक्लैले कर्फ्यु आदेश गरेको थिएँ,’ उनी सम्झन्छन्, ‘त्यसबेला केन्द्रीयस्तरबाटै सभा रोकिनुपर्थ्यो तर त्यसो हुन सकेन ।’ दुवै पार्टीको दम्भका कारण गौर घटना भएको भनेर उसै बेला व्यापक आलोचना भएको थियो । झडपमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक गरी २७ वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो । दुई जनाको सनाखत हुनै सकेन । घटनामा ५३ जना घाइते भएका थिए । मृतकका परिवारले राज्यबाट ९ महिनापछि १० लाखका दरले क्षतिपूर्ति पाएका थिए तर न्याय भने कसैले पाएका छैनन् ।

घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग भएपछि सरकारले तत्कालै पुनरावेदन अदालत पाटनका तत्कालीन न्यायाधीश हरिप्रसाद घिमिरेको संयोजकत्वमा उच्चस्तरीय छानबिन टोली गठन गरेको थियो । सरकारी टोलीमा जिल्ला अदालत जुम्लाका तत्कालीन न्यायाधीश अनन्त डुम्रे, तत्कालीन न्यायाधिवक्ता टीकाबहादुर हमाल, तत्कालीन प्रहरी नायब महानिरीक्षक रमेश चन्द र राष्ट्रिय सतर्कता केन्द्रका तत्कालीन कामु प्रमुख राम सरबर दोबे थिए । घटनापछि माओवादीको तत्कालीन जनसरकारको नामबाट फोरम र कांग्रेसका १ सय २७ जनाको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी ल्याएको थियो तर तत्कालीन एसपी रामकुमार खनालले हुँदै नभएका मानिसको नाम समावेश गरिएको भन्दै जाहेरी दर्ता गरेनन् । पछि जाहेरीमा अभियुक्तको सूची कटौती गरेर १ सय १३ जनाको नाममा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भयो, जसमा उपेन्द्र यादवदेखि बबन सिंहसम्म थिए । ती सबैलाई प्रहरीले फरार अभियुक्त भनी मिसिलमा चढायो तर खोजखबर गरेन ।

उपेन्द्र यादव त्यसपछि चुनाव जितेर उपप्रधानमन्त्रीसमेत पनि भए । बबन सिंह पहिलो संविधानसभामा निर्वाचित भए । अरू पनि थुप्रै ‘फरार अभियुक्तहरू’ अहिले महत्त्वपूर्ण सार्वजनिक पदमा छन् । यो सब देख्दा भक्तबहादुरहरूको मुटु कटक्क खान्छ । ‘जाहेरी उसै बेला दर्ता भएको हो, त्यसमा अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको छैन,’ जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, ‘राजनीतिक प्रकृतिको घटना भएकाले यसबारे म थप बोल्न चाहन्नँ ।’ २०६३ साउन ६ गतेयता एसपी खनालपछि अहिलेसम्म जिल्ला प्रहरीको नेतृत्व सम्हाल्न १७ जना बढी एसपी आइसकेका छन् । कसैले पनि गौर हत्याकाण्डको मुद्दामा अनुसन्धान अघि बढाउन हिम्मत गरेका छैनन् ।

घटनाको परिदृश्य

चौध वर्षअघि भएको नरसंहारले अहिले पनि गौरवासीको मनमा उस्तै भय पैदा गर्छ । त्यस दिन जनयुद्धबाट शान्ति वार्तामा आइसकेको तत्कालीन माओवादी र मधेसी जनअधिकार फोरमले राइस मिल मैदानमा सभा आयोजना गर्ने निर्णय गरेका थिए । अति सामान्य निहुँमा गौर नरसंहार हुन पुगेको थियो ।

टसका मस नगरी दुवैले सभा गर्ने मिति तय गरेपछि गौर बजार सुनसान भयो । दुवैबीच झडप हुने प्रायः निश्चित थियो । वाईसीएलका कार्यकर्ता अघिल्लै रात गौरस्थित रामजानकी धर्मशाला आएर बसेका थिए । अधिकांश बाहिरका भएकाले उनीहरूलाई गौरको भूगोल थाहा थिएन । सभा सुरु हुनु एक घण्टा अगाडि वाईसीएलले नगर परिक्रमा गर्‍यो । उनीहरूको समूह सयको हाराहारीमा मात्रै थियो । त्यही बेला मैदानमा बनाइएको माओवादीको मञ्च तोडफोड र आगजनी भइसकेको थियो । फोरमले सभा सुरु गर्न आफ्ना नेता–कार्यकर्तालाई मञ्चमा बोलाइरहेको थियो ।

त्यत्तिकैमा वाईसीएल टोली मैदानमा प्रवेश गर्‍यो । आफूतिरको मञ्च भत्किएको देखेपछि उनीहरू आक्रामक शैलीमा प्रस्तुत भए । दुवैतर्फबाट गोली हानाहान भयो । सभामा जिल्ला प्रहरीबाट सईको कमान्डमा १० जना मात्र प्रहरी तैनाथ थिए । दोहोरो गोली चल्न थालेपछि उनीहरू ज्यान जोगाउन भागे । मैदान एकैछिनमा रणभूमि बन्यो । वाईसीएल कार्यकर्ता भाग्ने गौंडा कुरेर बसेका फोरम कार्यकर्ताले बाँसको फराठा (लाठा) ले प्रहार गरेर ढाले । त्यसपछि नालीमा हालेर माथिबाट सिमेन्टको ढालले छोपिदिए । रेडक्रस र प्रहरीले धेरैजसोको शव नालीबाट बाहिर निकालेको थियो । चन्द्रनिगाहपुरका रेखा परियार, सरस्वती आचार्य र एक किशोरीलाई गौरदेखि पूर्वपट्टि बौधीमाई मन्दिरनजिक बाँसको फराठाले हानेर हत्या गरिएको थियो । उनीहरूको योनिमा बाँसले घोचिएको र आगो लगाइएको अवस्थामा शव फेला पारेको थियो । माओवादीले यसलाई बलात्कारपछि हत्या गरेको भन्दै आएको छ । झडपमा फोरमका केही कार्यकर्ता पनि घाइते भएका थिए । माओवादीतर्फ धेरै क्षति भएको थियो । घाइतेलाई तत्कालै गौर अस्पताल ल्याइएको थियो । त्यहाँ पनि फोरमका कार्यकर्ताले आक्रमण प्रयास गरेका थिए ।

साँझसम्म झडप कायमै रहेपछि जिल्ला प्रहरीले कर्फ्यु लगाएको थियो । मृतकको शव संकलन गरी गौर अस्पतालमा राखिएको थियो । झडपपछि अहिलेसम्म मानवअधिकार आयोगले घटनाबारे फलोअप गरिरहेको भए पनि ठोस अनुसन्धान हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आयोगबाट गौर घटनाबारे अपडेट गरिरहेको सुनाए । ‘अहिलेसम्म के–कति प्रगति भयो, के हुँदै छ भनेर लिखित मागिएको थियो,’ उनले भने, ‘हामीले जे–जति प्रगति र मुद्दाको अवस्था छ, त्यो सबै आयोगलाई जानकारी गराइसकेका छौं ।’

१४ वर्षपछि ताते पीडित

गौर घटनाको छानबिन भए पनि दोषीमाथि अझै कारबाही नभएको भन्दै मृतकका परिवारले गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।गौर हत्याकाण्ड संघर्ष समितिका तर्फबाट प्रधानमन्त्रीलाई भेटेर दोषीलाई कारबाही माग गरिएको संघर्ष समितिका सदस्य मनोज यादवले बताए । छानबिन समितिले गौर घटनालाई जघन्य अपराध भने पनि अहिलेसम्म दोषीमाथि किन कारबाही भएन भनेर प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्ने क्रममा चासो देखाएको सदस्य यादवले सुनाए ।

घटनाको मुख्य आरोप जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लागेको छ । उनीविरुद्ध प्रहरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता छ । व्यक्तिगत रिसइबी र राजनीतिक झडपका रूपमा नभई सुनियोजित र षड्यन्त्रपूर्ण रूपले यो घटना गराइएको दाबी गरिँदै आएको छ । घटनाबारे २०६४ चैत २८ मा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता भए पनि हालसम्म कसैलाई कारबाही नभएको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रकाशित : चैत्र ७, २०७७ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?