कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

एमाले विभाजन हुन सक्ने खतरा उत्पन्न भएको छ : वामदेव गौतम

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केपी ओली र झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका गतिविधिले एमाले विभाजन हुने खतरा उत्पन्न भएको बताएका छन् । शुक्रबार खनाल–नेपाल पक्षले आयोजना गरेको अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसलापछि दुवै पक्षका गतिविधि त्यस्तो देखिएको बताएका हुन् ।

एमाले विभाजन हुन सक्ने खतरा उत्पन्न भएको छ : वामदेव गौतम

आफू एकताको पक्षमा रहेको भन्दै गौतमले खनाल–नेपाल पक्षका भेलामा पनि आफ्नो समर्थन नभएको दाबी गरे । तर, उनले खनाल–नेपाल पक्षको भेलाले पास गरेका केही प्रस्तावमा भने आफ्नो समर्थन रहेको बताए ।

‘झलनाथ–माधव कमरेडले गरेको भेलाको पक्षमा छैन । तर उहाँहरुले पूर्ण बैठकको माग गर्नुपर्दथ्यो । केपी ओली नवौं महाधिवेशका मार्गदर्शक दस्तावेजको पक्षमा हुनुहुन्न भनेर आरोप लगाउनु पर्दथ्यो । राष्ट्रव्यापी छलफल गर्नुपर्दथ्यो । उहाँहरुले त्यसो नगरेर छुट्टै पार्टी जस्तो गर्नुभएको छ । त्यसमा मेरो सहमति छैन,’ गौतमले भने, ‘तर उहाँहरुको भेलालले जे पास गर्नुभएको त्यसमा मेरो समर्थन छ । त्यहाँ केही राम्रा विषय पनि छन् । फागुन २८ गतेका निर्णय फिर्ता गर्नुपर्छ भन्नुभएको त्यो ठिक छ । तर प्रक्रिया ठिक भएन ।’

गौतमले पार्टी बैठक माग गरेर ओलीका कदमविरुद्ध संघर्ष गर्नुपर्ने बताए । ‘मेरो अनुरोध छ, अब केपी ओलीले बैठक बोलाउनु भयो भने त्यहाँ सहभागी भएर केपीका सबै गलत क्रियाकलापको विरोध गर्नुपर्छ । फागुन २८ मा बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठक हैन, त्यसले गरेका निर्णय पनि फिर्ता लिनुपर्छ भनेर लडाइँ त्यहाँबाट सुरु गर्नुपर्दथ्यो । तर त्यस्तो देखिएन । दुवै पक्षमा देखिएन । सत्यको पक्षमा बहुमत नभए पनि हामी निरन्तर लडाइँ गर्नेछौं । म अल्पमतमा परेको मान्छेले आफूखुशी गर्छु भन्नहुन्न,’ गौतमले भने । गौतमले किसान महासंघलाई नेपाल पक्षबाट समर्थन भएपनि ओलीले छुटै किसान महासंघ गठन गरेको बताए ।

‘हामीले किसान महासंघलाई चुरुस्त बनायौं भने एउटा आधार बन्छ, एकताको निम्ति । एकता अभियानमा लागेका निम्ति अवसर हो । किसान महासंघलाई माधव नेपाल पक्षबाट समर्थन प्राप्त भयो,’ किसान महासंघका पूर्व अध्यक्षसमेत रहेका गौतमले भने, ‘यो समर्थन केपी ओलीतिरबाट पनि प्राप्त गर्न सकिन्छ कि भनेको उहाँले त पहिला नै किसान महासंघ बनाइसक्नु भएको छ । हाम्रो किसान महासंघसँग त्यो किसान महासंघको कुनै सम्बन्ध छैन । किनकि यो किसान महासंघ कानुन बमोजिम दर्ता भएको हो, उहाँको दर्ता छैन ।’

तत्कालीन नेकपाको प्रसंग निकाल्दै गौतमले ओलीमा तिकडमभन्दा अरु नभएको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्री ओलीलाई छोडेपछि नै पार्टी एकता नरहने आशंका आफूलाई लागेको दाबी गरे । त्यसपछि पनि ओलीका सबै तिकडम दाहालले सहेर बसेको देख्दा भने आफूलाई दया लागेको बताए ।

दाहालले फागुन २८ को सचिवालयका बैठकमा पेश गरेको १९ पेजको आरोपपत्रमा आफ्नो पनि समर्थन रहेको उनको भनाइ छ । ‘त्यो आरोपपत्रमा सबैभन्दा धेरै झलनाथ र मैले समर्थन गर्योैं । त्यसमा मेरो पूर्ण समर्थन छ । बरु अहिलेसम्म त्यसमा मेरो समर्थन छ भनेर माधव नेपाल र नारायणकाजीले बोलेको सुनेको छैन,’ गौतमले भने ।

तत्कालीन एमाले फुट्दाको प्रसंग जोड्दै गौतमले भने, ‘प्रचण्डले पनि यो पार्टी एक रहेर के हुन्छ भन्नुभयो । मसँगको कुराकानीमा माधव नेपालले पनि पार्टी फुटे फुट्छ, यो अत्याचार सहन भन्दा भन्नुभयो । उहाँहरुले एमाले विभाजन गरेको मलाई नै भन्नुहुन्छ, हो पनि । त्यहीबेला पनि हामीले सहनै नसक्ने अवस्था भनेका थियौं,’ गौतमले भने, ‘तर, फुट्नुभन्दा अगाडि उहाँहरुले हामीलाई पार्टीबाट निष्कासन गर्नुभएको थियो । त्यसपछि फुट्यौं । पार्टीबाटै निष्कासन गरेपछि कहाँ बस्नु ? अहिले त्यस्तो थिएन । फुटे फुट्छ भन्ने र एकता नभए अर्को ठूलो पार्टी बनाइन्छ भन्ने दुवै पक्षका नेता मैले बेहोरे ।’ ओलीले तानाशाही र स्वच्छाचारीको तरबार सधैं चलाई राख्ने पनि गौतमको भनाइ थियो ।

प्रकाशित : चैत्र ६, २०७७ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?