बाँकी रहेका शरणार्थीको जीवनरक्षा होस् : टेकनाथ रिजाल [भिडियो कुराकानी]- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकी रहेका शरणार्थीको जीवनरक्षा होस् : टेकनाथ रिजाल [भिडियो कुराकानी]

देवेन्द्र भट्टराई

काठमाडौँ — भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले घरफिर्ती वा पुनर्वासको टुंगोमा पुग्न नसकेका झण्डै ७ हजार शरणार्थीको जीवनयापनको स्थिति चिन्ताजनक रहेको भन्दै गाँस, बास, कपाससहित मानवअधिकारको रक्षाका निम्ति सरकारसँग आग्रह गरेका छन् ।

भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल तस्बिर : दिपेन्द्र रोक्का/कान्तिपुर

बिचल्लीमा परेका शरणार्थीको सरोकार सुनाउन झापाबाट काठमाडौं आएका नेता रिजालले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापासहितसँग भेटवार्ता गर्दै शरणार्थीले बेहोरेको पछिल्लो कठिनाइबारे अवगत गराएका थिए ।

नेता रिजालले झापा–मोरङका शरणार्थी शिविर र दर्ताविहीन अवस्थामा शिविरबाहिर बसिरहेका भुटानी नागरिकले स्थानीय तहमा व्यवहार गर्न परिचय पत्रसमेत अद्यावधिक गर्न नपाएको तथा गत जनवरीदेखि दातृ निकायले शिक्षा, स्वास्थ्य, खाद्यान्नसहितको सहयोगमा कटौती गरेका कारण कठिनाइको स्थिति रहेको अवगत गराएका थिए ।

‘शरणार्थीको अधिकारप्रदत्त चाहना भनेको स्वेच्छिक घरफिर्ती हो, यस दिशामा वार्ता र संवाद पनि जरुरी छ,’ आफूले प्रधानमन्त्री ओलीसहितसाग राखेको कुराकानीबारे नेता रिजालले भने, ‘घरफिर्तीबारे संवादको पहल भइरहेको र तेस्रो देशमा थप शरणार्थी पठाउन सकिनेबारे शरणार्थी आयोगको ध्यान जानुपर्ने बारेमा कुराकानी भएको छ ।’

नेता रिजालले शरणार्थी आयोगले सबै शरणार्थीको जिम्मा लिने भनेर पुनर्वासको कार्यक्रम थालेकोमा अहिले आएर बिचल्ली अवस्थामा छाडिएको बारे प्रधानमन्त्री तथा मन्त्रीहरुको ध्यानाकर्षण गराएका थिए । ‘राष्ट्रसंघीय निकायले तत्काल तेस्रो देशमा बसोबासको अवसर आएको अवस्थामा ईच्छुकलाई पठाउने काम गरौँ भनेर विगतमा पुनर्वास अभियानलाई अघि बढाएको थियो, बाँकीको हकमा समाधान खोजौँला भनेर शरणार्थी उच्च आयोगले भनेकै हो । अब बाँकी रहेका शरणार्थीको बसोबास र व्यवस्थापनमा पनि आयोग जिम्मेवार हुनैपर्छ,’ रिजालले भने ।

भुटान सरकारले आफ्नै नेपालीभाषी भुटानी नागरिकमाथि ‘जातीय सफाया’ गर्न चाहेको स्थितिमा सन् १९९० पछि जबरजस्ती देशनिकाला गर्न थालेको थियो । भुटानबाट लखेटिएर भारतीय बाटो हुँदै झण्डै १ लाख १५ हजार भुटानी नागरिक शरणार्थी हैसियतमा पूर्वी नेपालमा आएर विभिन्न शिविरमा आश्रित भएका थिए ।

गृह मन्त्रालयमा रहेको पछिल्लो तथ्यांकमा अहिले झापाको दमक र मोरङको पथरी शिविरमा गरेर ६ हजार ५ सय ७७ शरणार्थी बसोबास गर्छन् । थप झण्डै १६ सय शरणार्थी दर्ताविहीन हैसियतमा शिविरबाहिर बस्दै आएका छन् । अहिले गृहमन्त्रालयले थालेको शरणार्थी पहिचान प्रक्रियामा थप ५ सय जतिले आफूलाई भुटानी शरणार्थी भन्दै आवेदन दिएका छन् ।

प्रकाशित : चैत्र ६, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्

महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ । शुक्रबार दिउँसो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले खरेलको राजीनामापछि बडालको नाम सिफारिस गरिएको कान्तिपुरलाई जानकारी दिएको छ । अधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त खरेलले प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा सुनुवाइका क्रममा पनि खरेलको राजीनामाको चर्चा भएको थियो ।

उक्त मुद्दामा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएको र त्यसैलाई लिएर उनले राजीनामा दिन लागेको चर्चा थियो । त्यति बेला उनले प्रधानमन्त्रीले कुनै असन्तुष्टि व्यक्त नगरेको र आफूले राजीनामा दिने कुरा पनि सत्य नरहेको स्पष्ट पारेका थिए ।

सम्बन्धित समाचार

महान्यायाधिवक्ता खरेलले गरे राजीनामा

प्रकाशित : चैत्र ६, २०७७ १५:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×