सीडीओ गुहार्दै नगर उपप्रमुखहरू

प्रमुखले अधिकार मिचेको र कामै गर्न नदिएको गुनासो
शिव पुरी

रौतहट — रौतहटका ५ वटा नगरका उपप्रमुख मंगलबार एकसाथ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको कार्यकक्षमा पुगे । उनीहरूको गुनासो थियो, ‘मेयरले हाम्रो अधिकार मिचे । कामै गर्न दिएनन् ।’

सीडीओ गुहार्दै नगर उपप्रमुखहरू

स्थानीय तहको सेवा सञ्चालनसम्बन्धी आदेशमा उपप्रमुखलाई सम्बन्धित कार्यपालिकाको न्यायिक समिति संयोजक, योजना अनुगमन मूल्यांकन समिति, बजेट परामर्श समिति, विकास बजेट बाँडफाँट समिति संयोजकलगायत जिम्मेवारी तोकिएको छ । नगर प्रमुखले यी कुनै जिम्मेवारी नदिएको उनीहरूको गुनासो छ ।

उनीहरूले पालिकामा लैंगिक हिंसासम्बन्धी कार्यक्रमका लागि आएको तीन लाख बजेटबारे पनि प्रमुखले जानकारी नदिएको बताए । गौर नगरपालिकाकी उपप्रमुख किरण ठाकुरले आफूहरूको अधिकारबारे सीडीओको ध्यानाकर्षण गराएको बताइन् । ‘नगर क्षेत्रभित्रका विकास निर्माणका काम अनुगमनको जिम्मा उपप्रमुखलाई दिइएको छ,’ उनले भनिन्, ‘तर अनुगमन गर्न पाइएन ।’ गरुडा नगरपालिकाकी उपप्रमुख रंगिलादेवी जयसवाल र प्रमुख इनुराय यादवबीच विवाद थियो ।

प्रमुख यादवले सुरक्षाकर्मीको घेराबन्दीमा ‘जबर्जस्ती’ परिषद् गरेको भन्दै उपप्रमुख जयसवालले बहिष्कार गरेकी थिइन् । त्यसपछि उनले प्रमुखविरुद्ध उच्च अदालत वीरगन्जमा मुद्दा हालिन् । नगरमा यो वर्ष पनि उनको सहभागिताबिनै परिषद् भएको थियो ।

वृन्दावन, राजदेवी, गढीमाई, बौधीमाई र गुजराका उपप्रमुखले प्रमुख पनि एकलौटी चल्न खोजेको गुनासो गरेका छन् । ‘उपप्रमुखहरूले अधिकार कटौती गरिएको गुनासो गर्नुभयो,’ प्रजिअ यादवले भने, ‘यस विषयमा समन्वय गर्छु । सबै मेयरलाई बोलाएर छलफल गर्छु ।’ रौतहटमा मौलापुर नगरपालिकाबाहेक सबैमा प्रमुख–उपप्रमुखबीच विवाद रहेको गुनासो आएको प्रजिअ यादवले बताए ।

राजदेवीकी उपप्रमुख अंशु सिंहले ऐनले तोकेको जिम्मेवारीअनुसार कामै गर्न नदिएको गुनासो गरिन् । प्रमुख सिंहले उपप्रमुख अंशुले नै काम गर्ने वातावरण नदिएको र उल्टै गुनासो गरी हिँडेको दाबी गरे । गत वर्ष यमुनामाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच बैठकमै हात हालाहालसम्मको स्थिति बनेपछि जिल्लाभरका उपप्रमुख एकजुट भएका थिए । अधिकांश पालिकामा प्रमुख–उपप्रमुख फरक दलबाट प्रतिनिधित्व गर्ने भएकाले पनि यस्तो समस्या आएको हो ।

कार्यपालिकामा बहुमत भएको पक्षले अर्को समूहलाई अवरोध र असहयोग गर्दै आएका छन् ।

प्रकाशित : चैत्र ६, २०७७ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?