२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

खनाल-नेपाल समूहले देशभर संगठनात्मक अभियान चलाउने

काठमाडौँ — एमालेका झलनाथ खनाल र माधव नेपाल समूहले देशभर संगठनात्मक अभियान चलाउने निर्णय गरेको छ । बिहीबार सकिएको राष्ट्रिय भेलाले तलदेखि माथिसम्म संगठनात्मक अभियान चलाउने निर्णय लिएको सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

खनाल-नेपाल समूहले देशभर संगठनात्मक अभियान चलाउने

‘अब हामी देशभर बैठक, भेला र प्रशिक्षण चलाउँछौँ । यो तीन/चार महिनाको हुन सक्छ, समय तोकेका छैनौं । व्यापक रुपमा संगठनको परिचालन, प्रशिक्षण र कार्यकर्तालाई बुझाउने अभियान सुरु गर्छौं । पार्टी एकतापूर्व ०७५ जेठ २ गतेको कमिटीलाई आधार मानेर अभियान अगाडि बढाउँछौं’, भेला समापनपछि आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले भने ।

उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनमा लागेको भए पनि आफूहरुले अन्तिमसम्म एकता बचाईराख्न प्रयास गर्ने जानकारी दिए । ‘हालै एक अन्तर्वार्तामा ओलीले नै म संवाद नै गर्दिनँ भन्नुभएको छ । दुनियाँको कोही नेताले संवाद गर्दिनँ भन्दैन । तर, उहाँले भन्नुभएको छ । उहाँको यो निरकुंश शैलीले एकता सम्भव छैन । उहाँ विभाजनका लागि उद्यत हुनुहुन्छ । तर हामी अन्तिमसम्म एकताको पक्षमा छौं । हाम्रो तर्फबाटट विभाजनको घोषणा हुँदैन’, सचिव भट्टराईले भने ।

ओलीले कारबाही गर्नेबारे दिएको अभिव्यक्तिमा सचिव भट्टराईले भने, ‘कारबाही गर्न किन ढिला गर्नुभएको छ ? हामी छक्क परेका छौं ।’

उनले आफूहरु ओलीले बोलाएको चैत ७ को बैठकमा नजाने पनि स्पष्ट पारे । ‘बाटोबाटोमा थपिएको केन्द्रीय कमिटीको बैठकमा जाँदैनौं । ७ गतेको बैठक केन्द्रीय कमिटीको होइन, गुटको बैठक हो’, उनले भने । बैठकमा सहभागिताका लागि फागुन २३ गतेपछिका निर्णय सच्‍याउनुपर्ने र जेठ २ गते अगाडि फर्कनुपर्ने सर्त रहेको पनि सचिव भट्टराईले बताए ।

सचिव भट्टराईले भेलाले नवौं महाधिवेशनको कार्यदिशाको पुनर्पुष्टि गरेकोसमेत बताए । ‘भेलाले नवौ महाधिवेशनको कार्यदिशा पुनर्पुष्टि गरेको छ । ओलीले कार्यदिशालाई सही ढंगले पक्डन नसकेको हाम्रो बुझाई छ । पार्टीको घोषणा पत्र र जनताको बहुदलीय जनवादको नीतिमा काम गर्न नसकेको निष्कर्ष छ । यसलाई बलियोसँग समात्ने भेलाको निष्कर्ष छ,’ उनले भने ।

प्रकाशित : चैत्र ५, २०७७ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?