परीक्षा नियन्त्रक त्रिपालमुनि

घर पायक परीक्षा केन्द्रको माग गर्दै विभिन्न विद्यार्थी संगठनले मूल गेटमा ताला लगाए
विनोद भण्डारी

विराटनगर — पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको मूल गेटमा तीनवटा ताला छन् । नजिकै त्रिपाल टाँगिएको छ । कार्यालय समयमा त्रिपालमुनि परीक्षा नियन्त्रक सूर्यप्रसाद संग्रौला हुन्छन् । उनले यसरी काम गरेको एक साता भएको छ ।

परीक्षा नियन्त्रक त्रिपालमुनि

कार्यालयको मूल गेटमा विभिन्न विद्यार्थी संगठनले घर पायक परीक्षा केन्द्रको माग गर्दै ताला लगाएका हुन् । संग्रौलाले उपकुलपति यादवराज कोइरालाको गैरजिम्मेवार कामका कारण यो ताला लागेको दाबी गरे । परीक्षा नियन्त्रण कार्यालयको परीक्षा व्यवस्थापन समितिले व्यवस्थापन संकायको दोस्रो, चौथो, छैटौं र आठौं सेमेस्टरको वार्षिक परीक्षा फागुन २३, मेडिकलको २६ र विज्ञान तथा प्रविधि तथा इन्जिनियरिङ संकायको चैत ३ देखि कोरोनाकाल पहिलाको अवस्थामा परीक्षा लिने गरी कार्यक्रम प्रकाशन गरेको थियो । ‘तर उपकुलपति कोइरालाले परीक्षा नियन्त्रक कार्यालय र परीक्षा व्यवस्थापन समितिसँग समन्वय नै नगरी फागुन २५ गते कार्यकारी परिषद्मार्फत परीक्षा स्थगन गरेपछि समस्या सुरु भयो,’ नियन्त्रक संग्रौलाले भने ।

कोरोना महामारीका कारण गत वर्ष ती संकायका पहिलो, तेस्रो, पाँचौं र सातौं सेमिस्टरको परीक्षा लिइएको थियो । अहिले दोस्रो, चौथो, छैटौं र आठौं सेमिस्टरको परीक्षा भौतिक उपस्थितिमै लिने गरी कार्यक्रम प्रकाशन गरेको दुई सातासम्म कुनै पनि विद्यार्थी संगठनले विरोध जनाएका थिएनन् । नियन्त्रक संग्रौलाले भने आफू १० दिन बिदामा बसेका बेला उपकुलपति कोइरालाले विद्यार्थी संगठनलाई उकासेर परीक्षा स्थगन गर्नेदेखि कार्यालयमा तालाबन्दी गराउनेसम्मको काम गरेपछि समस्या जटिल बनेको दाबी गरे । उनका अनुसार फागुन २३ मा सुरु भएको व्यवस्थापन र २६ मा सुरु भएको मेडिकल संकायको परीक्षा उपकुलपतिले स्थगन गरे पनि जारी छ तर चैत ३ देखि हुने भनिएको परीक्षा स्थगन हुँदा इन्जिनियरिङका १५ हजार र विज्ञान तथा प्रविधि संकायका तीन हजार विद्यार्थी परीक्षा दिनवाट वञ्चित भएका छन् ।

सबै संकायका डिनसँगको परामर्शपछि परीक्षा कार्यक्रम सार्वजनिक गरेर आफू १० दिन बिदामा बसेका बेला उपकुलपति कोइरालाले अनेरास्ववियुको एक गुट र नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीसँग बसेर परीक्षा सार्ने निधो गरेको आरोप संग्रौलाको छ । उनका अनुसार फागुन २५ गते कार्यकारी परिषद्मार्फत परीक्षा स्थगन गरिएपछि भोलिपल्ट कोइरालाले सहपरीक्षा नियन्त्रक अजय साहलाई जबर्जस्ती परीक्षा स्थगन भएको सूचना सार्वजनिक गर्न लगाए । उपकुलपति कोइरालाले फागुन २८ गते अर्को परीक्षा तालिका प्रकाशन गर्न दबाब दिए । परीक्षा स्थगितको सूचना प्रकाशन गरेलगत्तै जनता समाजवादी दल निकट विद्यार्थी र अनेरास्ववियु विश्वविद्यालय राष्ट्रिय समितिले घरपायक परीक्षा केन्द्रको माग मूल गेटमा ताला लगाए ।

संग्रौलाले परीक्षा नियन्त्रक कार्यालय आफैंमा स्वतन्त्र रहेको बताएका छन् । विगतमा यो विश्वविद्यालयको परीक्षा तालिका नियमित र व्यवस्थित थिएन । पछिल्लो समय नियमित छ ।

उपकुलपति कोइरालाले इन्जिनियरिङ र विज्ञान संकायका क्याम्पस प्रमुख र विद्यार्थीले कोर्स पूरा हुन नसकेको भन्दै केही समय परीक्षा स्थगन गर्न आग्रह गरेपछि समन्वयबाटै निर्णय गरेको दाबी गरे । परीक्षामा समस्या आइपरेपछि आफू जोगिन माथिल्लो निकायलाई दोष देखाउन खोजिएको टिप्पणी उनले गरे ।

सेवा आयोग दुई वर्षदेखि खाली

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा अध्यक्ष पद रिक्त भएको दुई वर्ष भएको छ । सेवा आयोग अध्यक्ष रिक्त हुँदा विश्वविद्यालयमा कर्मचारी र शिक्षक नियुक्ति हुन नसकेर समस्या भएको उपकुलपति कोइरालाले बताए । उनका अनुसार करिब सय कर्मचारी र त्यति नै मात्रामा शिक्षक नियुक्ति गर्नुपर्ने अवस्था छ ।

यो विश्वविद्यालयका तत्कालीन उपकुलपति घनश्यामलाल दास र सेवा आयोगका अध्यक्ष बदप्रसाद्र श्रेष्ठको साता अन्तरमा कार्यकाल सकिएको थियो । त्यसपछि सरकारले सेवा आयोग अध्यक्ष अझै नियुक्ति गरेको छैन ।

विश्वविद्यालय रजिस्ट्रार र सहरजिस्ट्रारविहीन छ । रजिस्ट्रार नहुँदा विश्वविद्यालयको प्रशासनिक काम प्रभावित भएको उपकुलपति कोइरालाले बताए । तत्कालीन रजिस्ट्रार प्रमिला थापाको दुई महिनाअघि र सहरजिस्ट्रार राजेश झाको एक महिनाअघि कार्यकाल सकिएको थियो ।

प्रकाशित : चैत्र ५, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?