'एसिड आक्रमणकारीलाई अझै कडा सजाय हुनुपर्छ'

काठमाडौँ — अभियन्ता तथा सामाजिक कार्यकर्ता उज्‍ज्‍वल थापाले तेजाब आक्रमणलाई लैंगिक हिंसाका रुपमा हेर्न नहुने बताएका छन् ।

'एसिड आक्रमणकारीलाई अझै कडा सजाय हुनुपर्छ'

बुधबार काठमाडौंमा कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिकद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रमको दोस्रो सत्र 'म त्यो नारी' मा बोल्दै थापाले एसिड आक्रमण विश्वकै जघन्य अपराध भएको र यसमा सबै लिंग, समुदाय र वर्ग पर्ने गरेको बताए ।

एसिड आक्रमणमा पर्ने महिला वा पुरुष दुवैको चरित्रहत्या गरेर सञ्‍चार माध्यम तथा समाजले प्रस्तुत गर्ने गरेको पनि थापाको भनाइ थियो । तेजाब बिक्री वितरणको नियमन नेपाल सरकार र सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने पनि थापाले बताए ।

थापाले भने, 'एसिडको व्यापार पूर्ण रुपमा रोक्नुपर्छ भन्ने होइन, तर ४५ रुपैयाँको एसिडले एउटा सिंगो परिवार पीडित र बिस्थापित हुन्छ भने मलाई थाहा थिएन भनेर पन्छिन पाइँदैन । यस्तो अवस्थामा व्यापारीले पनि सजाय पाउनुपर्छ । अहिलेको कानुनले पनि एसिड आक्रमण रोकिएन भने कानुनमा अझ परिवर्तन गर्नुपर्छ ।'

त्यस्तै एसिड आक्रमणमा परेकी पवित्रा कार्कीले भने एसिड आक्रमणकारीलाई कडा सजाय हुनुपर्ने बताएकी छिन् । उनले भनिन्, 'एसिड आक्रमणबाट हामीले जस्तो पीडा भोगेका छौँ, त्यस्तै पीडा पीडकले पनि भोगून् भन्ने हामी चाहन्छौँ ।' उनले आफू कानुन व्यवसायी बनेर एसिड आक्रमणमा परेकालाई न्याय दिने काममा लाग्ने पनि बताइन् ।

त्यस्तै नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले एसिड आक्रमणलगायतका हिंसामा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउन कानुन बनिसकेको र केही कानुनलाई समयअनुसार परिष्कृत गर्न सकिने बताए । नेपालमा कानुन कमजोर भन्दा पनि कानुन कार्यान्वयनको पाटो कमजोर भएको उनको भनाइ थियो ।

त्यस्तै अभियन्ता मुना नेपाली दमाईले जुनसुकै हिंसामा परेकालाई पनि सरकारबाट संरक्षण र सहयोग हुनुपर्ने बताइन् । उनले पीडितलाई संरक्षण र सहयोग गर्नेमा जोड दिँदै पीडकलाई पारिवारिक, सामाजिक र राजनीतिक रुपमै बहिष्कार गर्नुपर्ने बताइन् । घरेलु हिंसा र यौन हिंसामा परेकी मुनाले अहिले आफूले समस्यामा परेका महिलाहरूको उद्धार गरिरहेकी छिन् । उनले आफू घरमा आफ्नै दाइबाट पनि हिंसा भोगेको र पछि विभिन्न ठाउँमा ठक्कर खाँदाको अनुभव सुनाएकी थिइन् । उनले महिलालाई बस्तुभाउझैं छान्नु निकै दु:खद भएको पनि बताइन् । उनले भनिन्, 'बस्तुभाउलाई झैं मान्छेलाई छान्दा कस्तो पीडा हुन्छ ?'

सत्रको सहजीकरण पूर्वमिस नेपाल तथा सञ्‍चारकर्मी सुगारिका केसीले गरेकी थिइन् ।

प्रकाशित : चैत्र ४, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?