महिला उद्यमी भन्छन् : सक्षम छौँ, सक्छौँ पनि

काठमाडौँ — महिला उद्यमीहरूले सरोकारवाला निकायले साथ दिएका आफूहरू विश्व बजारमै प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । बुधबार काठमाडौंमा कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिकद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रमको 'सक्षम छौँ, सक्छौँ पनि' सत्रमा  सहभागी महिला उद्यमीहरूले महिलाको सीप विकासमा सरकारले साथ दिनुपर्ने बताएका हुन् ।

महिला उद्यमी भन्छन् : सक्षम छौँ, सक्छौँ पनि

महिनावारी स्वास्थ्य व्यवस्थापनमा काम गर्ने संस्था 'प्याड टु गो' की संस्थापक शुभाङ्गी राणाले महिनावारी महिलाको मात्रै विषय नभएको बताएकी छिन् । राणाले महिनावारीका विषयमा कुरा गर्दा प्रयोग हुने शब्दहरूले पनि महिलाको आत्मसम्मानमा ठेस पुग्ने गरेको बताइन् । महिनावारी महिलाको मात्रै समस्या हो भनेर पुरुषहरू बस्न नहुने उनको भनाइ थियो ।

उनले भनिन्, 'कुराकानीमा प्रयोग हुने शब्दहरूले पनि महिलाहरूको प्रतिष्ठामा आँच आउने गर्छ । महिनावारी महिलाको मात्र समस्या मात्रै हो भनेर अघि बढ्नु भएन । रजस्वला हुँदा पनि 'म नछुने भएँ' 'म पर सरेँ' भन्नुभन्दा पनि मेरो महिनावारी भयो लगायतका शब्द प्रयोग गर्नुपर्छ ।'

पेशाले इन्जिनियर शुभाङ्गीले जेसेलिना राणासँग मिलेर सन् २०१८ मा ‘प्याड टु गो’को स्थापना गरेका हुन् । प्याड टु गो नाफामूलक सामाजिक व्यावसायिक संस्था भएको र महिनावारी स्वास्थ्य र यससँग जोडिएका रुढिवादी परम्पराविरुद्ध सचेतना जगाउने काम गरेको शुभाङ्गीले बताइन् । यसले नेपालका ४ वटा प्रदेशमा करिब ८० वटा स्यानिटरी प्याड भेन्डिङ मेसिन राखेको छ ।

अस्पताल, विद्यालय, सिनेमाघरलगायतका संघसंस्थामा राखिएका यस्ता मेसिनले २ सय जनासम्म महिलालाई स्यानिटरी प्याड उपलब्ध गराउन सक्छन् ।

त्यस्तै अर्बन गर्लकी संस्थापक निकिता आचार्यले आफूले नेपालमै अवसर देखेर विदेश नगएको बताइन् । उनले उद्यमीहरूलाई प्रोत्साहन मात्रै होइन सरकारले पनि नीति कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिइन् । स्थापित भइसकेका उद्यमीहरूले नयाँ उद्यमीहरूलाई अघि बढ्न साथ दिनुपर्ने उनको भनाइ थियो ।

२ सय अमेरिकी डलरको सुरुवाति लगानीमा निकिताले किरण तिमल्सिनासँग मिलेर सन् २०१२ मा अर्बन गर्लको स्थापना गरेका थिए । अर्बन गर्लले फेसन ज्वेलरी, टिसर्ट, वाटर बोटल, मेकअप सामग्रीलगायतका सामग्री बेच्दै आएको छ । अहिले यसमा करिब ५० जनाले जागिर पाएको पनि संस्थापक आचार्यको भनाइ छ । अर्बन गर्लले पोखरामा पनि यसले आफ्नो व्यवसाय विस्तार गरेको छ । सन् २०१६ बाट अर्बन गर्लले यूजी केक्समार्फत अनलाइनबाट बेकरी सामग्री पनि बेच्दै आएको छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले महिला उद्यमीहरूलाई सहयोग गर्न सरकारले विभिन्न कार्यक्रम र तालिमहरू सञ्चालन गरिरहेको बताए । उनले १५औं राष्ट्रिय योजनामा महिलाकेन्द्रित शाखा राख्ने योजना अघि सारेको पनि बताए । सरकार महिला उद्यमीले काम गर्न सक्ने वातावरण बनाउन तयार रहेको सचिव पोखरेलले बताए ।

त्यस्तै मेड इन नेपालकी संस्थापक लतिका गोल्यानले अझै पनि नेपाली महिला उद्यमीहरूका लागि बजारको पहुँच नभएको बताइन् । त्यस्तै ग्रामीण भेगका महिलालाई सीप विकास र विभिन्न तालिमको खाँचो रहेको पनि उनको भनाइ थियो । सार्वजनिक-निजी साझेदारीमा विभिन्न कार्यक्रमहरू ल्याएर महिलाको सीप विकास गर्न सकिने उनको भनाइ थियो । ग्रामीण भेगमा उत्पादित बस्तुहरूको गुणस्तर वृद्धि र महिला उद्यमीको सशक्तीकरणका लागि सरकारले पनि साथ दिनुपर्ने उनले बताइन् ।

सत्रको सहजीकरण टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले गरेका थिए ।

प्रकाशित : चैत्र ४, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?