रहेनन् वामपन्थी चिन्तक

नेपालभाषालाई स्थानीय तहको सरकारी कामकाजको भाषाका रुपमा लागू गराएका माणिकलाल श्रेष्ठले नेपाल संवत् स्थापित गर्नमा समेत महफ्वपूर्ण योगदान पुर्‍याएका छन्
गणेश राई

काठमाडौँ — भाषा आन्दोलनका एक खम्बा एवं वामपन्थी चिन्तक माणिकलाल श्रेष्ठ ८९ वर्षको उमेरमा अस्ताएका छन् । लामो समयदेखि मिर्गौला र मुटु रोगको समस्याबाट पीडित उनको महाराजगन्जस्थित सहिद गंगालाल अस्पतालमा मंगलबार बिहान निधन भएको हो ।

रहेनन् वामपन्थी चिन्तक

‘उहाँ बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो,’ अधिकारवादी नेता मल्ल के सुन्दरले भने, ‘वामपन्थी विचारक, इतिहासका सूक्ष्म ज्ञाता, विज्ञानका ज्ञाता, कानुनका ज्ञाता, नेपालभाषाका समालोचक, मातृभाषा अभियन्ता, विश्वविद्यालयका प्राध्यापक भनेर चिनिनुहुन्थ्यो ।’ कम्युनिस्ट विचारधाराका श्रेष्ठले मार्क्सबारे गहन अध्ययन गरेका थिए । तीक्ष्ण स्मरण शक्ति भएका उनी इतिहासका तिथिमिति यकिनसाथ भन्न सक्थे । त्रिविअन्तर्गत त्रिचन्द्र क्याम्पसमा प्राध्यापनरत छँदा वामपन्थी आन्दोलनमा लागेका कारण गिरफ्तारीमा परेर थुनिएपछि उनलाई बर्खास्त गरिएको थियो । पछि त्रिवि नेपालभाषा केन्द्रीय विभागमा पाश्चात्य समालोचना विषयमा उनले प्राध्यापन गरेका थिए ।

उनी २०१४ सालमा काठमाडौं नगरपालिका–९ (हाल–१७) ठहिटीमा वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले नेपालभाषालाई स्थानीय तहको सरकारी कामकाजको भाषाका रूपमा लागू गराएका थिए । नेपाल संवत् स्थापित गर्नमा समेत उनको महत्त्वपूर्ण योगदान छ । त्यसैगरी नेपालमा चलेका संवत्मध्ये किरात येले (यलम्बर) संवत्को प्रामाणीकरणमा समेत श्रेष्ठको योगदान छ । श्रेष्ठलाई ‘जीवित इन्साइक्लोपिडिया’ भनेरसमेत चिनिन्थे । विश्लेषक राजेन्द्र महर्जनका अनुसार श्रेष्ठले भाषण गर्दागर्दै कुनै इतिहासको तिथि, मितिदेखि पुस्तकका पृष्ठ संख्यासमेत उल्लेख गरेर प्रस्ट पारिदिन्थे ।

श्रेष्ठले फत्तेबहादुर सिंह सम्पादक रहेको ‘नेपालभाषा दैनिक’ मा लामो समय पत्रकारिता गरेका थिए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अध्यक्ष रहेको नेपाल पत्रकार संघको कार्यसमितिमा उनी महासचिव थिए । पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको कम्युनिस्ट पार्टीनिकट रहेका उनलाई कम्युनिस्ट आन्दोलनका एक धरोहर र बौद्धिक व्यक्तित्वका रूपमा चिनिन्छ । उनी सहिद गंगालालका विद्यार्थी पनि थिए ।

प्रगतिशील लेखक संघ (प्रलेस) का पूर्वअध्यक्ष निनु चापागाईं श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनका नेताभन्दा गम्भीर प्रकृतिका बौद्धिक व्यक्तित्वका रूपमा परिचित रहेको बताउँछन् । ‘उहाँ निर्मल लामाका समकालीन हुनुहुन्थ्यो र लामाले माणिकलाललाई विश्वकोश भन्नुहुन्थ्यो,’ चापागाईं सम्झिन्छन्, ‘उहाँ नेपालको इतिहास, संस्कृतिका वेत्ता हुनुहुन्थ्यो ।’ प्रलेसका अर्का पूर्वअध्यक्ष मातृका पोखरेल श्रेष्ठलाई मार्क्सवादी चिन्तन धारका आधिकारिक व्यक्तित्व भएको बताउँछन् । ‘मार्क्सवादी आन्दोलनको गहिरो ज्ञान राख्नेहरूका लागि माणिक सरको निधन अपूरणीय क्षति हो,’ पोखरेलले भने । उनी सहयोगी स्वभाव, स्पष्ट वक्ता, धेरै विषयका जानकारी राख्थे । श्रेष्ठ मार्क्सवादका अध्येतामात्र नभई त्यसबारे सहज र सरल ढंगले बुझाउन सक्ने वक्तासमेत थिए ।

वामपन्थी विचारधारा भए पनि उनले कहिल्यै कुनै पार्टीको सदस्यता लिएनन् । यद्यपि उनी लोकतान्त्रिक शक्तिसँग समेत सम्बन्ध र समन्वय गरेर सहयोग गर्थे । पूरै नास्तिक उनले कहिल्यै मठमन्दिर धाउने, पूजापाठ गर्ने र टीका लगाउने काम गरेनन् ।

उनका ‘मानव समाजको विकासबारे मार्क्सवादी दृष्टिकोण’, ‘तिब्बत चीनको अभिन्न अंग हो’ कृति प्रकाशित छन् । नेपालभाषामा ‘समालोचनायम सिद्धान्त’, ‘नेपालय् भाषानीति गथे जुइमाःरु’, अंग्रेजीमा ‘हिस्टोरिकल डेभलपमेन्ट अफ जुचे कज’ र ‘हिस्टोरिक इनहेरिटेन्स अफ जुचे कज’ पुस्तक पनि छापिएका छन् । त्यसैगरी जापानी भाषाको नयाँ कथा भाग–१ र २ लाई नेपालभाषामा अनुवाद गरेका ‘जापानी न्हू बाखं भाग–१’, ‘जापानी न्हू बाखं भाग–२’ प्रकाशित छन् । श्रेष्ठका सयौं विचारात्मक आलेख विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

श्रेष्ठ काठमाडौंको व्यापारिक परिवारमा सन् १९३२ अक्टोबर १४ (१९८९ असोज) मा जन्मिएका थिए । उनले कलकत्ता विश्वविद्यालयबाट सन् १९५६ मा अंग्रेजीमा एमए र कानुनमा एलएलबी शिक्षा हासिल गरेका थिए । उनकी पत्नी सुशीला सिंह ‘शिलु’ (सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश) को गत जेठ ९ गते निधन भएको थियो । उनका दुई छोरा वरिष्ठ कार्डिओलोजिस्ट डा. मलखलाल श्रेष्ठ र चिकित्सक डा. सितुलाल श्रेष्ठ छन् । जेठो छोरा विदेशमा रहेकाले उनी फर्किएपछि श्रेष्ठको अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।

श्रेष्ठको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेका छन् । ‘मार्क्सवादको गहिरो अध्ययन गर्नुभएका प्राध्यापक श्रेष्ठ २०१४ सालमा काठमाडौं नगरपालिकामा निर्वाचित जनप्रतिनिधिसमेत हुनुहुन्थ्यो,’ मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रा. श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनलाई क्षति पुगेको छ । वामपन्थी आन्दोलनमा श्रेष्ठले पुर्‍याउनुभएको योगदानलाई स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गर्दछु ।’

प्रकाशित : चैत्र ४, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?