दुर्गाप्रसादको बाटो हेर्दै परिवार

४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसादको मुद्दामा सोमबार सुनुवाइ सकिए पनि फैसला भएन

इलाम — गत फागुनमा भारतको कोलकातास्थित दमदम कारागारमा दाइलाई भेट्न गएका प्रकाशचन्द्र तिमिल्सिना उनी छुटेपछि लिन आउने प्रतिबद्धता जनाउँदै फर्किए ।

४० वर्षदेखि सम्पर्कविहीन दाइ दीपक जैसी भनिने दुर्गाप्रसाद तिमिल्सिनाबारे खबर पाएपछि उनी भतिज गोपाल तिमिल्सिना र इन्द्र बस्नेतसँगै त्यहाँ पुगेका थिए । दुर्गाप्रसाद सोमबार छुट्ने आकलन थियो तर कोलकाता अदालतले दुर्गाप्रसादमाथिको मुद्दाको सुनुवाइ गरे पनि फैसला नसुनाउँदा उनी छुट्न पाएनन्, उक्त खबरपछि प्रकाशचन्द्र पनि गाउँमै रोकिए ।

यता दुर्गाप्रसादकी आमा धनमाया भने छोराको ठाउँ/ठेगानबारे खबर पाएदेखि दंग छिन् । उनी छुटेर घर फर्कने प्रतीक्षामा सिंगो परिवार छ ।

दुर्गाप्रसादको जन्म विसं २०१७ मा भएको हो । २०३७ मा एकतप्पाबाट मंगलबारे बजारमा तोरी बेच्न हिँडेका दुर्गाप्रसाद त्यसपछि घर फर्किएनन् । हत्या अभियोगमा कोलकातास्थित जेल परेका दुर्गाप्रसादबारे ४० वर्षपछि खबर पाउँदा उनको परिवारलाई हर्ष र विस्मात् दुवै मिल्यो । ‘दूतावासले खबर गरेपछि हामीले कोलकाताको जेलमा गएर दाजुलाई भेट्यौं,’ भाइ प्रकाशचन्द्रले भने, ‘गाउँका कुरा गर्दै जाँदा गोठमा सँगै सुतेको, छरछिमेक र गाउँका पुराना कुरासमेत दाइले भन्न थाल्नुभयो ।’

दुर्गाप्रसाद प्रकाशचन्द्रका ठूलोबुबाका छोरा हुन् । उनका अनुसार दूतावासबाट आफ्नो मान्छे हो होइन पहिचान गर्न आउन भनिएको थियो । ‘जेलमा नै भेटेर गफ भएपछि दाइ नै भन्ने पक्का भयो,’ उनले भने । यसअघि दाइकै नाममा एकपटक हवाई पत्र प्राप्त भएको उनले सुनाए । ‘२०६९ मा दीपक जैसीको नामबाट एउटा हवाई पत्र प्राप्त भएको थियो,’ प्रकाशचन्द्रले सम्झिए, ‘तर आफ्नो मान्छे भएको यकिन गर्न सकिएन । प्रमाणीकरण गर्न जाने तयारी गरिए पनि सफल भएनौं ।’

गत वर्षमात्रै दाइ त्यहाँ भएको उनले अपुष्ट खबर पाए । तर कोरोना महामारी र लकडाउनका कारण समयमै दाइलाई भेट्न जान नसकेको उनले बताए । कामको खोजीमा दार्जिलिङ पुगेका दुर्गाप्रसाद हत्या अभियोगमा जेल परेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : चैत्र ३, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?