१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

देउवाको बेवास्ताले जसपा अनिर्णीत

माओवादी र आफूहरुले समेत प्रधानमन्त्री प्रस्ताव गरिसक्दा पनि देउवाले कुनै अग्रसरता नलिएपछि जसपा नेताहरु सशंकित भएका छन् । देउवाले ओलीलाई नै साथ दिन खोजेको उनीहरुको आशंका छ । ओली र देउवाको सम्बन्ध पहिला प्रस्ट हुनुपर्ने उनीहरुको माग छ ।

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको गठबन्धन बनाउन अग्रसरता नलिएपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि तत्कालै कुनै निर्णय नलिने संकेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाको एउटा धारले देउवालाई उनकै निवास बूढानीलकण्ठ पुगेर औपचारिक रूपमै प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि देउवाले अग्रसरता नलिएको उनीहरूको गुनासो छ ।

देउवाको बेवास्ताले जसपा अनिर्णीत

जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले गत शुक्रबार देउवालाई प्रधानमन्त्री स्विकार्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसअघि नै प्रस्ताव गरिसकेका थिए ।

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको धारले भने अहिल्यै कसैलाई पनि समर्थन गर्न नहुने फरक धारणा राख्दै आएको छ । सत्ता समीकरणमा निर्णय लिनुअघि निलम्बित सांसद रेशम चौधरीलगायतका मधेस र थरुहट आन्दोलनका क्रममा परेका नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सुनिश्चित हुनुपर्ने माग उनीहरूले गरेका छन् । त्यसपछि मात्रै सत्ता समीकरणमा गठबन्धन गर्न सकिने उनीहरूको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन कार्यदल नै बनाएर छलफल गरिरहेका बेला कांग्रेस सभापति देउवाले भने एकपटक पनि आफूहरूलाई बोलाएर छलफल नगरेको जसपाका नेताहरूको भनाइ छ । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले देउवाले आफूहरूलाई एकपटक पनि बोलाएर छलफल नगरेको बताए । ‘हामी आफैंले समय लिएर आफ्नो एजेन्डा राख्न गत शुक्रबार गएका थियौं तर देउवाले हामीलाई बोलाएर एकपटक पनि छलफल गरेका छैनन्, हाम्रा मुद्दा सम्बोधनका लागि कांग्रेसले एकपटक पनि कुरा गरेको थाहा छैन,’ महतोले कान्तिपुरसँग भने, ‘सित्तैमा सहयोग गर्नेवाला छैनौं । जसले हाम्रा मुद्दा सम्बोधन गर्ने भरोसा दिलाउँछ, उसैलाई हामी सहयोग गर्छौं ।’

प्रधानमन्त्री ओलीले आफूहरूले उठाएका मुद्दा सम्बोधन गर्ने वचन दिँदै आए पनि आफूहरूलाई विश्वास भने नभएको महतोले बताए । अध्यक्ष ठाकुरले सरकारी पक्षसँग छलफल गर्न पार्टीमा सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण भएको दुई सदस्यीय कार्यदल बनाएका छन् । सरकारका तर्फबाट अर्थमन्त्रीसमेत रहेका पार्टी उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई सदस्य छन् । ‘ओलीलाई हामीले विगतमा पनि हेरेको हो, हाम्रा माग पूरा गर्छु भनेर सहमति गरेका हुन् । हामीले पनि सरकारलाई समर्थन दिएका हौं, उपेन्द्र यादवजीहरू त सरकारमै जानुभएको हो,’ महतोले भने, ‘विगतमा जस्तै अहिले पनि हामी दौडिएर गइहाल्ने अवस्था छैन । ओली, देउवा र प्रचण्ड हाम्रा लागि एकै हुन् । जसले माग सम्बोधन गर्छ, उसैलाई सहयोग गर्छौं ।’

मुद्दा सम्बोधनका लागि सरकारी कार्यदलस्तरमा छलफल भइरहँदा देउवाले भने छलफलका लागि एकपटक पनि नबोलाउनुलाई जसपा नेताहरूले अर्थपूर्ण रूपमा लिएका छन् । जसपा नेताहरूमा आफूहरूले सहयोग गरे पनि देउवाले ओलीलाई छाड्न नचाहेको बुझाइ रहेको छ । ‘ओली र देउवाको सम्बन्ध पहिला प्रस्ट हुनुपर्छ, देउवाले ओलीलाई साथ दिन खोजेको हो भने अहिले हामीले हतारिएर किन निर्णय लिने ?’ पूर्वराजपामा रहेका जसपाका अर्का नेताले भने, ‘पहिला कांग्रेसले पारदर्शी रूपमा स्थिति स्पष्ट गरोस् अनि मात्रै हाम्रो खेल देखाउँछौं । अहिले हामी कांग्रेसलाई पर्खेका छौं ।’

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले स्वाभाविक रूपमा गठबन्धन निर्माण भएमा मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरे । हुने/नहुने सम्झौता गरेर कांग्रेसले सरकारको नेतृत्व लिन नचाहेको उनको भनाइ छ । ‘ओलीको स्वाभाविक विकल्प खोजौं भनेर समर्थन गर्ने हो भने कांग्रेस तयार छ तर तपाईं (देउवा) र ओलीमा केही फरक छैन, हाम्रा मुद्दा जसले सम्बोधन गर्छ, उसैलाई समर्थन गर्छौं भनेर निहुँ खोज्ने, हुने/नहुने सम्झौता गरेर, चलखेल गरेर नेतृत्वमा जाने कुरा राम्रो हुँदैन भन्ने हाम्रो ठम्याइ हो,’ महतले भने ।

शुक्रबार जसपासँगको बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराईको प्रस्तावलाई कांग्रेसले सकारात्मक मानेको छ । यादव र भट्टराईले कुनै पनि हालतमा असंवैधानिक कदम उठाउने प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्नुपर्ने भन्दै देउवालाई अघि बढ्न आग्रह गरेका थिए । उनीहरूको प्रस्ताव ससर्त थिएन तर महन्थ ठाकुर र राजेन्द्र महतोको प्रस्ताव भने ससर्त थियो । त्यसैले जसपा पार्टीको सिंगो समर्थन वैकल्पिक सरकारको पक्षमा हुनेमा कांग्रेस सशंकित छ ।

जसपाको सिंगो समर्थन नभएसम्म वैकल्पिक सरकार निर्माण हुन सक्दैन । ‘असंवैधानिक कदम चाल्ने, लोकतन्त्र ध्वस्त पार्नेका विरुद्ध एक ठाउँमा उभिऔं भनेर तीन दल नै अघि बढ्ने हो भने कांग्रेस पछि हट्ने कुरा छैन,’ महतले थपे, ‘तानतुन पार्ने र हुने/नहुने खेल खेल्दा आगामी निर्वाचनमा कांग्रेसलाई राम्रो गर्दैन । हामीले अहिलेको सत्ताभन्दा पनि निर्वाचन हेरेका छौं ।’

पार्टीभित्र र बाहिर देउवाकै नेतृत्वमा वैकल्पिक गठबन्धनको पक्षमा वातावरण बन्दा पनि उनी आफैंले भने जसपाका ठाकुर पक्षले उठाएका मागका विषयमा सामान्य छलफल पनि गरेका छैनन्, जसलाई कांग्रेस नेताहरूले अनौठो मानेका छन् । देउवाको संदिग्ध भूमिकालाई लिएरै जसपाले पनि कुनै निर्णय नलिएको जनाएको छ ।

जसपाको सोमबार बसेको पदाधिकारी बैठकमा तत्काल सत्ता समीकरणका विषयमा निर्णय नलिने संकेत गरेको हो । पार्टीका वरिष्ठ नेता अशोक राईले सत्ता समीकरणका विषयमा नभएर पार्टीको समायोजनका विषयमा बैठकमा छलफल भएको बताए । सत्ता समीकरणकै विषयलाई लिएर पार्टी विभाजन हुन सक्ने अड्कलबाजीसमेत जसपाका कतिपय नेताहरूले गर्न थालेका छन् । त्यसलाई बचाउन भन्दै करिब एक दर्जन सांसद क्रियाशीलसमेत भएका छन् । उनीहरूले पार्टी विभाजन हुन नदिन जसपाले कसैलाई समर्थन नगरी आफैंले नेतृत्वको दाबी गर्नुपर्ने यो समूहको छ ।

प्रकाशित : चैत्र ३, २०७७ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?