दाहाललाई ओलीको फोन : भेटौँ न, म केही कुरा गर्न चाहन्छु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाललाई ओलीको फोन : भेटौँ न, म केही कुरा गर्न चाहन्छु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटको प्रस्ताव गरेका छन् ।सोमबार बिहान ओलीले दाहाललाई फोन गरेर भेटको प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए । 

‘उहाँले भेटौ कुरा गरौं भनेर प्रस्ताव गर्नुभएको छ । प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौंला तर अहिले म बैठकमा छु भन्नु भएछ,’ दाहालनिकट ती नेताले भने, ‘त्यसपछि उहाँ(ओली) ले बिहान बेलुका समय मिलाएर भेटौँ न भन्नु भएछ । त्यसपछि प्रचण्ड कमरेडले पार्टी अलग अलग भएपछि अब के कुरा छ र भन्‍नुभयो ।’

ओलीले भने दाहालसँग आफूले केही कुरा गर्न चाहेको बताएका थिए । ‘तपाईंको कुरा तपाईसँग हुन्छ, मेरो कुरा मैसँग हुन्छ । मैले भनेको कुरा तपाईंले मान्नु पर्छ भन्ने पनि छैन, तपाईंले भनेका कुरा मैले मान्नु पर्छ भन्ने पनि छैन । तर म केही कुरा गर्न चाहन्छु,’ ओलीले दाहालसँग भनेका थिए ।

गत पुस १५ गते ओलीले दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेका थिए । त्यसयता उनीहरुबीच सामान्य संवाद पनि भएको छैन ।

प्रकाशित : चैत्र २, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्

भारोत्तोलनमा प्रहरीको वर्चस्व

अवधेशकुमार झा

राजविराव — विभागीय टोली नेपाल प्रहरी सप्तरीको राजविराजमा सोमबार सम्पन्न भारोत्तोलनको राष्ट्रिय प्रतियोगितामा १४ स्वर्ण जित्दै वर्चस्व जमाएका छन् ।

भारोत्तोलनका राष्ट्रिय खेलाडी देवसुन्दर यादवको स्मृतिमा आयोजित प्रथम राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा १४ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएको हो ।

सात स्वण जित्दै बर्दिया दोश्रो तथा सामान ४/४ स्वर्ण जित्दै नेपाली सेना, कञ्चनपुर र आयोजक सप्तरी तेश्रो स्थान प्राप्त गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार मध्यरातिसम्म खेल भएको थियो ।

प्रतियोगिताको अन्तिम नतिजा सोमबार सार्वजनिक गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ कञ्चनपुरका सुभास उपाध्याय ‘स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट’ तथा सोही जिल्लाका अशोकसिंह भण्डारी ‘राइजिङ प्लेयर म्यान अफ टुर्नामेन्ट’ घोषित भए । त्यस्तै महिलातर्फ नेपाल प्रहरीकी तारा पुन ‘स्ट्रोङगेस्ट वुमन अफ द टुर्नामेन्ट’ तथा सप्तरीकी सरिता यादव ‘राइजिङ प्लेयर वुमन अफ टुर्नामेन्ट’ घोषित भइन् ।

जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा सञ्चालित प्रतियोगितामा ७ वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका गरी १ सय २० खेलाडीको सहभागिता रहेको थियो ।


प्रकाशित : चैत्र २, २०७७ १८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×