२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बीएन्डसीको सम्बन्धन नरोके जुनसुकै बेला सत्याग्रह : डा. केसी

काठमाडौँ — डा.गोविन्द केसीले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया नरोके जुनसुकै बेला सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।

बीएन्डसीको सम्बन्धन नरोके जुनसुकै बेला सत्याग्रह : डा. केसी

आइतबार विज्ञप्ति प्रकाशित गरी उनले मेडिकल कलेजको सम्बन्धनका लागि सरकारले अवैध प्रक्रिया चालेको बताएका हुन् । ‘सम्बन्धनका लागि सरकारले चालेको अवैध प्रक्रिया तत्काल रोक्न र प्रधानमन्त्री लगायत अनियमिततामा संलग्न पदाधिकारीहरुको राजीनामाको माग गर्दछौं, माग पूरा नभएमा कुनै पनि बेला सत्याग्रह सुरु गर्ने पनि जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

गतहप्ता शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौं विश्वविद्यालय र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच १० बुँदे सम्झौता गरिएको छ । सम्झौतामा विश्वविद्यालयले सम्बन्धन दिने र प्रतिष्ठानले मेडिकल कलेजको शैक्षिक लगायत अन्य पक्षको नियमन अनुगमन गर्ने उल्लेख छ । प्रतिष्ठानले सम्बन्धन दिन पाउने व्यवस्था ऐनमा गरेपछि सम्बन्धन पनि उतै सार्ने सम्झौतामा उल्लेख छ । यसअघि काठमाडौं विश्वविद्यालयको सभाले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री श्रेष्ठको ठाडो निर्देशनमा बीएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दूषित स्वार्थपूर्तिका लागि कानुन बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुरुपयोग गर्ने कार्य गर्दै आएको डा. केसीले जनाएका छन् ।

‘आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक पनि उनी नै हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना अर्थ–राजनीतिक साझेदार मध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापा स्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउनका लागि ओली मन्त्रीमण्डलका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, धुलिखेलस्थित काठमाडौ विश्वविद्यालय तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति लगायतका नैतिकताहीन स्वार्थी पदाधिकारी तथा अन्य आसेपासेलाई उनले परिचालन गरी रहेको कुरा सर्वत्र सार्वजनिक भइरहेका छन् ।’ उक्त मेडिकल कलेजका सञ्चालक विवादस्पद व्यापारी दुर्गा प्रसाई हुन् ।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठको निर्देशनमा चिकित्सा शिक्षा ऐन र नियमावलीको समेत ठाडो उल्लंघन गरी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको उनले बताए । सरकारले निरन्तर त्यस्तो अवैध काम अघि बढाएकाले विरोधका कार्यक्रम ल्याउन बाध्य हुने उनले दोहार्‍याए ।

आफूसँगको सहमति अनुसार सरकारको ध्यान प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउनेतर्फ नभएको डा. केसीले प्रष्टाए । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार हरेक प्रदेशमा २०८० फागुनसम्म एउटा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्छ । निजी मेडिकल कलेजको इसारामा प्रधानमन्त्री ओलीले सरकारी मेडिकल कलेज खोल्ने काम रोकेर राखेको उनले जनाए ।

‘केपी शर्मा ओली र उनको भ्रष्ट तथा आपराधिक सञ्जालबाट देशलाई मुक्त गर्नैपर्छ, उनलाई पदमुक्त गरी कानुनको कठाघरामा ल्याउनुको विकल्प छैन,’ विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री प्रतिनिधिसभाको अनधिकृत विघटन, मूलुकको संवैधानिक प्रणालीविरुद्ध षड्यन्त्र गरी संसदलाई अवरुद्ध पार्ने, संविधानलाई भंग गर्न खोज्ने, संविधानका संरचनामा खलल पुयाउने, विदेशी खुफिया ऐजिन्सीको मतियार बन्ने, राष्ट्रपति तथा न्यायिक संस्थाको दूरुपयोग गर्ने जस्ता राज्यद्रोही कार्यहरुका संलग्न रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित : चैत्र १, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?