३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

चार छोराछोरीसहित आमा कर्णालीमा : मुख खोल्नै डराउँछन् गाउँले

‘हजुरलाई भनेर सुकी फर्केर आउने होइन क्यारे, पुलिसले दिनरात हामीलाई झमेला गराउँछ’
ज्योति कटुवाल

दैलेख — राकम कर्णालीस्थित जाक्सीकी नामा कार्कीले गएको आइतबार दिउँसो ४ बजेतिर सुकी बडुवाललाई भेटेकी थिइन् । उनीहरूबीच बाटोमा सामान्य कुराकानी पनि भयो । तर, उनीबीच भएको कुराबारे कार्की कसैलाई भन्न चाहँदिनन् । ‘हजुरलाई भनेर सुकी फर्केर आउने होइन क्यारे,’ उनले भनिन्, ‘तपाईं लेख्नुहुन्छ, पुलिसले दिनरात हामीलाई झमेला गराउँछ ।’

चार छोराछोरीसहित आमा कर्णालीमा : मुख खोल्नै डराउँछन् गाउँले

सुकी घरबाट निस्कने बेला अधिकांश महिला मेलापात र घाँस–दाउरा गरेर फर्किरहेका थिए । धेरैले सुकीलाई भेटाए पनि । तर यस विषयमा स्थानीय कसैसँग कुरा गर्नै चाहँदैनन् । आठबिस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी चार छोराछोरीसहित कर्णाली नदीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

सुकीको घरदेखि घटनास्थल झन्डै २ घण्टाको पैदल दूरीमा छ । एक स्थानीयका अनुसार सुकी घरबाट चार छोराछोरीसहित घाँस काट्न जान्छु भन्दै निस्किएकी थिइन् । उनीसहित छोरीहरू १४ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ५ वर्षीया रजनी र छोरा १० वर्षीय ललितमध्ये कर्णाली नदीमा सोमबार कल्पना र सरिताको शव भेटिएको थियो । त्यसको भोलिपल्ट सुकी र ललितको शव भेटिए पनि रजनी अझै बेपत्ता छिन् ।

मंगलबार अछामबाट चार जनाको शव पोस्टमार्टम गरी निमायलगाउँ ल्याइएको थियो । उनीहरूको दाहसंस्कारका लागि कर्णाली तीरमा आफन्त र छरछिमेकी भरिभराउ थिए । तर, घटनाबारे सोध्दा धेरैले त्यो दिन आफूहरू गाउँमै नभएको बताए । ‘पुलिस/प्रशासनको झमेला हुन्छ, हामी किन बोल्ने ?’ एक युवकले कान्तिपुरसँग भने, ‘मर्ने मरिहाले, हामीले केही बोले उल्टै दुःख पाउँछौं ।’ प्रहरीको झमेलामा परिन्छ भन्दै सुकीका छोरीलाई माछा मार्ने जालमा भेट्टाएका माझीहरू पनि घटनाबारे बोल्न चाहँदैनन् । सुरुमा सबैले मदिरा सेवन गरी श्रीमती कुटेको भन्ने आरोप लगाएका थिए ।

परिवारका पाँच जनाको मृत्युपछि अहिले सुकीको घरका चारवटै ढोकामा ताला लागेको छ । बस्तुभाउ भोकै छन् । सुकीका भदा (दाजुको छोरा) कमल थापाले फुपाजुले नै उनलाई मर्न बाध्य बनाएको दाबी गरे । ‘फुपू योभन्दा पहिला धेरै माइत आउँदैनथिन्,’ उनले भने, ‘फुपाजु भारतबाट फर्किएपछि हाम्रो घरमा आएर धेरै रुन्थिन् ।’ १५ दिनअघि श्रीमान्ले कुटेर घरमा बस्न नदिएको भन्दै सुकी माइतीमा आएको उनले जानकारी दिए । सबैले श्रीमान्सँगै मिलेर बस्नुपर्छ भनेपछि मात्रै घर फर्किएकी थिइन् ।

कोरोना महामारीका कारण सुकीका श्रीमान् मानसिंह एक वर्षअघि भारतबाट फर्किएका थिए । ‘उनी सबैसँग मिलनसार देखिन्थे, सोझा पनि थिए,’ स्थानीय शेरबहादुर भण्डारीले भने, ‘तर उनमा एकाएक परिवर्तन आएपछि घरमा दिनदिनै झगडा हुन्थ्यो ।’ मदिराले मात्तिएर घर पुग्ने उनले धेरै दिन श्रीमती र छोराछोरीलाई कुटपिट गरी गोठमा सुताएको उनले बताए । स्थानीयका अनुसार मानसिंहले मदिरा मात्र नभई गाँजालगायत लागूऔषध पनि सेवन गर्थे । रातदिन मदिरा खाएर घरमा अनावश्यक तनाव दिएपछि सुकीले आत्महत्याको बाटो रोजेको हुन सक्ने भण्डारीले बताए ।

तीन महिनाअघि रोजगारीका लागि भारत गएका सुकीका भाइ शेरबहादुर दिदीको मृत्युको खबरपछि घर फर्किएका छन् । ‘दिदीको पेटमा ३ महिनाको बच्चा थियो भन्ने सुनेको थिएँ,’ उनले भने, ‘बच्चा जन्मिने खबर पाएको एक/दुई दिनमै कस्तो घटना सुन्नुपर्‍यो ।’ उनका अनुसार विवाह गरेको केही समयदेखि नै मानसिंहले सुकीमाथि कुटपिट गर्न थालेका थिए । ‘श्रीमान्–श्रीमतीको झगडा भन्दै चुप बसेका थियौं,’ उनले भने, ‘एकपल्ट समाजका अगुवा राखेर कागजसमेत गराएका हौं, अहिले दिदीलाई भिनाजुले मर्न बाध्य बनाए ।’

एक छिमेकीका अनुसार एक साताअघि मानसिंहले श्रीमतीको पेटमा अर्को बच्चा रहेको भन्दै नेपालगन्ज जान केही पैसा मागेका थिए । ‘तर मैले दिएको पैसा त मदिरा सेवनका लागि रहेछ,’ उनले भने, ‘सुकीले धेरै सन्तान भएकाले गर्भपतन गराउने निर्णय गरेको मेरी श्रीमतीसँग सुनाएकी रहिछन्, तर मानसिंहले मलाई फसाएर पैसा लियो ।’

घटनापछि मानसिंह प्रहरी नियन्त्रणमा छन् । ‘एकै दिनको झगडाले गर्दा ५/५ जनाको ज्यान गयो होला त ?’ जिल्ला प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले भने, ‘पोस्टमार्टम रिपोर्ट नआएसम्म अन्य

कुरा भन्न सकिने अवस्था छैन ।’ अछाम प्रहरीले रिपोर्ट आउन अझै ५ दिन लाग्ने जनाएको छ ।

प्रहरीले सुकीको साथबाट ३ हजार ९९ रुपैयाँ र बालबच्चाको गोजीमा चाउचाउ भेटाएको थियो । प्रहरीका अनुसार नदी नजिकै भेटिएका स्थानीयलाई सुकीले ‘श्रीमान् अछामबाट आउँदै छन्, लिन जाँदै छु’ भनेकी थिइन् । आइतबार राति साढे १२ बजे सुकीको मोबाइल खोलाको ‘लोकेसन’ देखाएर अफ भएको पाइएको डीएसपी श्रेष्ठले बताए । ‘सायद पानीमा हाम फालेपछि मोबाइल बन्द भएको थियो होला,’ उनले भने, ‘साइखोला पुल नजिकै ५ जनाको चप्पल भेटिएपछि हामीले अनुसन्धानलाई नदीमा केन्द्रित गरेका थियौं, विस्तृत अनुसन्धान अझै जारी छ ।’

श्रीमान् मदिराले सधैं मातिने गरेका कारण छोराछोरीसँगै सुकीले आत्महत्याको बाटो रोजेको वडाध्यक्ष प्रयाग शाहीको अनुमान छ । उनका अनुसार मानसिंहका तीन दाजुभाइ बम्बईमा छन् । ‘घरमा उनीहरूको परिवार मात्र बस्ने भएकाले घरभित्रको झगडा गाउँलेलाई पनि धेरै पछि थाहा हुने रहेछ,’ उनले भने, ‘घटनाबारे

ठ्याक्कै भन्न त गाह्रो छ, तर घरेलु हिंसाकै कारण उनले मृत्युको बाटो रोजेको अनुमान गरेका छौं ।’ आठबिस नगरपालिकाकी उपमेयर दीपा बोहराले घरेलु हिंसा, गरिबी र अशिक्षाका कारण घटना भएको बताइन् ।

प्रकाशित : फाल्गुन २९, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?