यसरी बरामद भयो बहुमूल्य ‘युरेनियम’- समाचार - कान्तिपुर समाचार

यसरी बरामद भयो बहुमूल्य ‘युरेनियम’

डेढ अर्बमा डिल, ४ करोड कमिसन, ग्राहक बनेर पुगेको थियो प्रहरी
मातृका दाहाल, गोविन्द पोखरेल

काठमाडौँ — दुई साताअघि नेपाल प्रहरीलाई कतैबाट सूचना आयो– ‘बौद्ध क्षेत्रमा बहुमूल्य खनिज पदार्थ युरेनियम (रेडियोधर्मी पदार्थ) बेच्न ग्राहकको खोजी भइरहेको छ ।’ प्रहरीलाई सुरुमा पत्यार लागेन । नेपालमा युरेनियमको खरिदबिक्री सम्भवतः अहिलेसम्म खुला गरिएको छैन । युरेनियमको खपत हुने अस्पताललगायत क्षेत्रले पनि विदेशबाट आयात गर्दा निश्चित सर्त र बन्देज पालना गर्नुपर्छ ।

प्रहरीले पनि विगतमा युरेनियम कसैबाट बरामद गरेको थिएन । युरेनियम खानी भएको सम्भाव्यता अध्ययनपछि बल्ल केहीअघि मात्रै मुस्ताङको लोमन्थाङमा सेनाले खानी सुरक्षार्थ फौज तैनाथ गरेको थियो । त्यसबाहेक युरेनियमबारे खासै छलफल र बहस पनि भएको छैन । तैपनि काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रहरी वृत्त बौद्धको टोली सूचनामा भनिएअनुसार युरेनियम बेच्नेको खोजीमा जुट्यो ।

हुलिया बदलेर सादा पोसाकका प्रहरी ‘युरेनियम’ किन्न ग्राहक बनेर पुगे । सूचनामा उल्लेख गरिएअनुसार खोजी गर्दै जाँदा प्रहरी युरेनियम राख्ने र बिक्रीको योजना बनाउने दुई जना र ग्राहक खोज्ने दुई गरी चार जनाको पहुँचमा पुग्यो । त्यही क्रममा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ र सोही ठाउँ घर भई हाल बौद्धमा बस्दै आएकी ४० वर्षकी जानुका तामाङ, रामेछापकै २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपानेसँग हुलिया बदलेका प्रहरीले करिब डेढ सातासम्म युरेनियम किन्न डिल गरे ।

१ अर्ब ५० करोडदेखि २ अर्बसम्ममा युरेनियम किन्ने गरी डिल भयो । ग्राहकमार्फत नै नारायणसिंह हुँदै जानुकाको बौद्धस्थित घरसम्म ग्राहक बनेका प्रहरीको पहुँच पुगेको थियो । युरेनियम भनिएको सामान जानुकाकै घरमा राखिएको रहेछ । युरेनियम हो/होइन भनेर ग्राहकभेषी प्रहरीले ‘स्याम्पल’ ‘नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा परीक्षण गरायो । परीक्षणमा उक्त वस्तुमा प्रशोधन नगरिएको ‘युरेनियम–२३८’ का कण भेटियो । यद्यपि नास्टको परीक्षणबाट प्रमाणित यसबारेको तथ्य भने आउन बाँकी नै छ ।

वैज्ञानिकहरूका अनुसार यो भनेको प्रशोधनअघिको प्राकृतिक युरेनियम कच्चापदार्थ हो । प्रशोधन गरिएको युरेनियमलाई ‘युरेनियम–२३५’ उल्लेख गरिन्छ । प्रशोधित युरेनियम अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो १५ देखि २० अर्ब रुपैयाँसम्म पर्न सक्ने बताइएको छ । प्रहरी जानुकाको कोठामा युरेनियम किन्न पुगेपछि सबै एकसाथ पक्राउ परेका थिए । त्यसपछि मात्रै उनीहरूले थाहा पाए– ग्राहक बनेर पुगेको टोली त प्रहरी रहेछ । स्टिलको क्यान र प्लास्टिकको बट्टामा राखिएको अवस्थामा प्रहरीले करिब २ केजी ९ सय ग्राम सामान बरामद गर्‍यो । उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

जानुका, नारायणसिंह र अन्य दुई जनालाई बरामद सामानसहित उपत्यका प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले पत्रकार सम्मेलन गरी सार्वजनिक गरे । ‘बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनियम भएको परीक्षणबाट पुष्टि भएको छ । पक्राउ परेकालाई विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ । प्रहरीले बरामद वस्तु अन्दाजी साढे २ केजी भने पनि २ केजी ९ सय ग्राम भेटिएको छ । बरामद सबै सामान नास्टमा पठाइएको छ ।

त्यसको रिपोर्ट नास्टले आइतबार मात्रै दिने भनेको एआईजी पालले बताए । प्रहरीसँगको प्रारम्भिक सोधपुछका क्रममा ग्राहक खोज्ने जिम्मा पाएका प्रकाश चौहान र मनोज न्यौपानेले आफूहरूलाई २–२ करोड रुपैयाँ कमिसन दिने प्रलोभन दिएको बताएका छन् । ‘ग्राहक खोज्नु, यसबाट दुई जनालाई ४ करोड कमिसन आउँछ भनेपछि हामी लोभियौं,’ मनोज र प्रकाशले बयानमा भनेका छन् ।

जानुका छोराछोरीसहित बौद्धमै बस्छिन् । उनका पति अमेरिकामा छन् । जानुकाका ससुरा अमर लामा पहिले भारतको खानीमा मजदुरी गर्थे । करिब अढाई दशकअघि खानीबाट अमर नेपाल फर्किएका थिए । त्यसबखत अमरले बट्टामा हालेर केही सामान ल्याएका थिए तर परिवार र बाहिरका कसैलाई पनि सुइँको दिएका थिएनन् । केही वर्षदेखि अमर पनि छोरीज्वाइँसँगै अमेरिकामा बस्छन् तर आफूसँग भएको सामानबारे उनले केही नखुलाएको जानुका बताउँछिन् । ‘यो बहुमूल्य वस्तु हो मात्रै भन्नुभएको थियो, हामीले पनि त्यतिबेला केही वास्ता गरेनौं, पछि पो यसबारे थाहा भयो,’ उनले भनिन् । युरेनियम भन्ने शंका लागेपछि जानुका र नारायणसिंहले पनि गोप्य रूपमा त्यसको परीक्षण गरेको र त्यसपछि मात्रै बिक्रीका लागि ग्राहक खोज्दै हिँडेको हुन सक्ने प्रहरीको आशंका छ ।

अनुसन्धानमा भएकाले यसबारे केही खुलाइएको छैन । जानुकाले प्रहरीलाई दिएको जानकारीअनुसार उमेरले ८० काटेका ससुरा अमर पक्षघात भएका कारण हिँडडुल गर्न सक्दैनन् तर त्यसको पुस्ट्याइँ भइनसकेको प्रहरीले जनाएको छ । अमरबारे उनकी छोरीसँग प्रहरीले शुक्रबारै अमेरिकामा कुराकानी गर्‍यो । ‘बुबा बोल्न सक्नुहुन्न, प्यारालाइसिस भएको छ, हामीलाई यसबारे केही थाहा छैन’ भन्दै उनी पन्छिएकी छन् ।

ससुरा र पति अमेरिकामै भएको बेला केही समयअघि नै उक्त सामानबारे जानुकाले चिनेजानेकै नारायणसिंहलाई जानकारी गराएकी रहिछन् । नारायणसिंह पेसाले औषधि विक्रेता भएको बताएका छन् । औषधिसम्बन्धी जानकार भएकै कारण उनले युरेनियमसम्बन्धी जानुकाबाट सुइँको पाएका रहेछन् । ‘गोप्य सूचनाका आधारमा हामीले केही साताअघिबाटै यसमाथि निगरानी बढाएका थियौं, हाम्रा टोली ग्राहक बनेर खटिएका थिए,’ उपत्यका प्रहरी कार्यालयका एआईजी पालले कान्तिपुरसँग भने, ‘सूचनालाई पछ्याउँदै जाने क्रममा युरेनियम छ भन्ने पुष्टि भयो । परीक्षणमा युरेनियमको कच्चापदार्थ हो भन्ने अनौपचारिक जानकारी पाएका छौं, विस्तृत रिपोर्ट नास्टबाट आइतबार आउँछ ।’

यसअघि भारतमा सन् २०१८ र सन् २०१० मा १/१ केजी युरेनियम बरामद भएको थियो । नेपालमा भने अहिलेसम्म युरेनियम बरामद भएको जानकारी आफूसँग नभएको एआईजी पालले बताए । पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । चारैलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । बहुमूल्य खनिज भएका कारण युरेनियमको कारोबार आफैंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा खतरासँग पनि जोडिन्छ भने मानवलगायत जीवको स्वास्थ्यका दृष्टिकोणले युरेनियम ज्यादै हानिकारक मानिन्छ ।

राष्ट्रिय सुरक्षा संवेदनशीलताकै कारण अध्ययनबाट खानी क्षेत्र भएको पुष्टिपछि लोमन्थाङमा १ हजार २ सय ७१ रोपनी क्षेत्रफलको सुरक्षामा सेना तैनाथ छ । २०७३ साउन ७ को मन्त्रिपरिषद् बैठकले लोमन्थाङमा सम्भावित युरेनियम खानी सुरक्षार्थ सेना परिचालनको निर्णय गरेको थियो । सन् १९९० तिर मकवानपुरको धियाल–तीनभंगाले क्षेत्रमा पनि युरेनियम सम्भाव्यता अध्ययन गरिएको थियो । तर, यसको संरक्षण र सुरक्षामा सरकारले ध्यान दिएको छैन । युरेनियमलगायत बहुमूल्य खानी क्षेत्र सबैको पहुँचमा समेत नदिने चलन छ ।

नेपालमा पनि युरेनियमको उत्खनन, प्रयोग र बिक्रीसम्बन्धी रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन–२०७७ जारी भइसकेको छ । गत असार ११ मा राष्ट्रपतिबाट ऐन प्रमाणिकरण भएको हो । ऐनको दफा ५५ मा ‘नेपालभित्र फेला परेको रेडियोधर्मी पदार्थ वा सोसँग सम्बन्धित पदार्थउपर नेपाल सरकारको स्वामित्व रहनेछ’ भनिएको छ ।

के हो युरेनियम ?

सन् १९४५ को अगस्टमा जापानको हिरोसिमामा एउटा १० मिटर ठूलो बम खस्यो । बम खसेको क्षणभरमै हिरोसिमा सहर नासियो । हजारौं मानिसहरूको ज्यान गयो । यो घटनामै हो संसारले पहिलो पटक देखेको ‘युरेनियम’ को शक्ति । एक केजी युरेनियमबाट दुई लाख मेगावाट इलेक्ट्रोनभोल्ट ऊर्जा उत्पादन हुने अमृत साइन्स कलेजमा भौतिकशास्त्र अध्ययनरत मदन भण्डारी बताउँछन् । युरेनियम प्राकृतिक रूपमा टुक्रिनका लागि पनि धेरै समय लाग्ने गर्छ ।

रसायनशास्त्रमा आधुनिक पेरियोडिक तालिकामा तत्त्वहरूलाई उनीहरूको आणविक संख्याको आधारमा वर्गीकरण गरेर राखिएको छ । उक्त तालिकाको ९२ नम्बरमा छ, युरेनियम अर्थात् ‘यू’ । रेडियोधर्मी पदार्थ भएकाले यसबाट विभिन्न प्रकारका विकिरणहरू आउने भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक राजु खनाल बताउँछन् । एक हजार १ सय ३२ डिग्री सेल्सियस तापक्रममा पग्लने युरेनियमका ‘यू–२३८’, ‘यू–२३४’, ‘यू–२३५’ जस्ता आइसोटप्सहरू पाइन्छन् । आइसोटप्स भनेको एउटै तत्त्वको धेरै न्युट्रोनहरू हुन्छन् । यू–२३८ प्राकृतिक रूपमा धेरै पाइने गरे पनि यू–२३५ प्रशोधन गरेर निकालिने नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक एवं आणविक पदार्थ विज्ञ बुद्धराम साह बताउँछन् ।

युरेनियम प्राकृतिक रूपमा कम मात्रामा पाइने खनिज भएको उनले बताए । युरेनियम २३८ प्राकृतिक रूपमा पाइने गरे पनि यू–२३५ धेरै कम मात्रामा पाइने उनले सुनाए । आणविक भट्टी केन्द्रहरूमा यू–२३८ लाई टुक्र्याएर यू–२३५ बनाइने गरेको उनको भनाइ छ । यू–२३५ आणविक भट्टीमा प्रयोग हुने गरेको छ ।

‘यू–२३५ सजिलैसँग टुक्र्याउने सकिने भएकाले यो बम बनाउनका लागि प्रयोग हुन्छ,’ वरिष्ठ वैज्ञानिक साहले भने । प्रहरीले बरामद गरेको वस्तु युरेनियम नै हो भने यसलाई यति रकम नै पर्छ भन्न नसकिने बताए । अन्तर्राष्ट्रिय आणविक एसोसिएसनका अनुसार विश्वमा १० प्रतिशत विद्युत् युरेनियम प्रयोग गरिएका आणविक भट्टीहरूबाट उत्पादित हुने गरेको छ । युरेनियम मेडिकल, सैन्यलगायत क्षेत्रहरूमा प्रयोग हुने गर्छ ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता नारायण बाँस्कोटाले नेपालमा मकवानपुरको तीनभंगाले, मुस्ताङको लोमन्थाङ र बैतडीमा युरेनियमका कणहरू भेटिएको बताए । उनले भने, ‘यी क्षेत्रहरूमा युरेनियमका कणहरू भेटिएकाले हामीले प्रारम्भिक रूपमा अध्ययन गरेका छौं ।’ यो तत्त्व नेपालमा शुद्ध रूपमा पाइन्छ भन्ने सम्बन्धमा बृहत् अनुसन्धान नभएको बाँस्कोटाले बताए । नेपालमा यसको शुद्धता परीक्षण र अनुसन्धान गर्ने सबै उपकरणहरू नभएकाले थोरै अध्ययन भएको उनले बताए ।

‘नेपालमा शुद्ध युरेनियम सम्भावना नै छैन’

नेपाल प्रहरीले बरामद गरेको सामान युरेनियम–२३८ नै भएको बताए पनि विज्ञहरूले त्यसमा आशंका व्यक्त गरेका छन् । नास्टका प्रवक्तासमेत रहेका भौतिकशास्त्री डा. सुरेशकुमार ढुंगेलले प्रहरीले परीक्षणका लागि ल्याइएको पदार्थमा विकिरणको मात्रा असामान्य रूपमा अत्यधिक देखिएको बताए ।

‘परीक्षणका लागि ल्याइएको पदार्थ ठ्याक्कै युरेनियम भन्न सकिने अवस्था नै छैन, विकिरणहरू असामान्य रूपमा छ । यो प्रारम्भिक चरणमै छ,’ उनले भने, ‘प्रहरीले परीक्षणका लागि ल्याएको वस्तु परीक्षण रिपोर्ट नआएसम्म युरेनियम नै हो भन्न सक्ने अवस्था छैन ।’

प्रकाशित : फाल्गुन २९, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

ब्याटिङकेन्द्रित फाइनल

कुशल तिमल्सिना

काठमाडौँ — सुरुका दिनमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबारे गुनासो हुने गर्थ्यो । यस पिचले बलरलाई बढी मद्दत गर्छ । अहिले दिन फेरिएको छ । यो पिचले अचेल ब्याट्सम्यानलाई मद्दत गर्न थालेको छ । काठमाडौं मेयर कप क्रिकेटको लिग चरणमा त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेशबीचको खेलमा दुई शतक बन्नुले पनि यसलाई पुष्टि गर्छ ।

फाइनलअघि दुवै टोलीका कप्तान पुलिसका मन्जित श्रेष्ठ र एपीएफका शरद भेषावकर काठमाडौं मेयर कप क्रिकेटको ट्रफीसाथ । तस्बिर सौजन्य : क्रिकेटिङनेपाल

उपाधिका लागि शनिबार भिड्ने दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब पनि ब्याटिङमै केन्द्रित हुनेछन् । कीर्तिपुर मैदानमा भएका मेयर कपका ६ खेलमध्ये एउटाबाहेक अरूमा एकै इनिङ्समा २ सय बढी रन बनेको छ । बलरहरू हाबी भएको खेलमा ब्याट्सम्यानहरूले लामो साझेदारी गर्न सकेका छैनन् । सबैको एउटै तर्क रहने गरेको छ, पिचले साथ दिँदादिँदै पनि रन बनिरहेको छैन ।

पुलिसविरुद्ध १ सय ९७ रनको लक्ष्य पछ्याउने क्रममा ९४ रनमै अलआउट भएपछि काठमाडौं मेयर ११ का कप्तान सन्दीप लामिछानेले ब्याटिङमैत्री पिच हुँदाहुँदै पनि लामो साझेदारी गर्न नसक्नुलाई आफ्नो ब्याट्सम्यानको कमजोरीका रूपमा व्याख्या गरेका थिए । फाइनल पुगेका टोलीले लिग चरणका चारमध्ये तीन खेल जितेका थिए । लिग चरणमा एपीएफले पुलिसलाई १ विकेटले हराएको थियो । २ सय ५९ रनको लक्ष्य पूरा गर्न एपीएफले अन्तिम ओभरसम्म कुरेको थियो । एपीएफका कप्तान शरद भेषावकरका अनुसार लिग चरणको नतिजालाई फाइनलमा तुलना गर्न मिल्दैन । ‘क्रिकेटमा अघिल्लो खेल तुलना गरेर नतिजा अनुमान गर्न सकिन्न । भोलिको दिन राम्रो खेल्ने प्रयासमा हामी हुनेछौं,’ उनले भने ।

दुवै कप्तानले ठूलो स्कोर बनाउनेतर्फ केन्द्रित रहने बताएका छन् । ‘ब्याटिङ राम्रो गर्ने टिमले जित्न सक्ने खालको पिच छ । हामी धेरै स्कोर गर्नमा केन्द्रित हुनेछौं । सबैले आफ्नो जिम्मेवारीअनुसार विकेट सम्हालेर खेल्न सके ठूलो स्कोर बन्न सक्छ,’ शरदले २४० देखि २६० स्कोर गर्दा खेल जित्न सकिने बताए । उनले युवा खेलाडीलाई स्वतन्त्र भएर खेल्न आग्रह गरे ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले १ सय ४० रनको योगदान गर्नुबाहेक अन्य ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेका छैनन् । स्पिन बलिङमा निर्भर पुलिसले फाइनलमा ब्याटिङ राम्रो गर्नेतर्फ केन्द्रित रहेको बताएको छ । ‘बलिङमा हामी स्पिनरहरूमा भर परेका छौं । अहिलेसम्म उनीहरूकै प्रदर्शनले यहाँसम्म आएका हौं,’ पुलिसका कप्तान मन्जित श्रेष्ठले भने, ‘अहिले ब्याटिङमा केन्द्रित छौं । समग्र प्रयासले ठूलो स्कोर बनाउने प्रयास रहनेछ ।’

मन्जितले ठूलो स्कोरका लागि युवा खेलाडीले जिम्मेवार ढंगले ब्याटिङ गर्नुपर्ने बताए । ‘मैले खेल्न सुरु गर्दा ठूलो स्कोर कमै बन्ने गरेको थियो । अहिले त एकै प्रतियोगितामा ४–५ वटासम्म शतक बन्ने गरेको छ,’ मन्जितले भने, ‘अहिले क्रिकेटको स्तर धेरै बढेको छ तर युवा खेलाडीमा एकदिवसीय खेलको अनुभव कम छ । उनीहरूले खेलको स्थिति बुझेर खेल्नुपर्छ ।’

दुई महिनाको अन्तरमा दुई राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको एपीएफले उपाधि जित्न नसकेको झन्डै तीन वर्ष भयो । २०७५ जेठमा भएको दोस्रो प्रधानमन्त्री कपमा आर्मीलाई हराएर उपाधि जितेको एपीएफ सोही प्रतियोगिताका पछिल्ला दुई संस्करणमा उपाधिविहीन छ । उसले अघिल्लो महिना चौथो प्रधानमन्त्री कपको फाइनलमा आर्मीसँग हार बेहोरेको थियो ।

त्यही गल्ती दोहोर्‍याउने पक्षमा छैनन् शरद । उनले भने, ‘अघिल्लो महिना हामी आफ्नै कारणले हार्न पुगेका थियौं । विकेट जोगाउन सकेका थिएनौं । फाइनलमा पुगेर उपाधि जित्न नसकेको धेरै भयो, उपाधिका लागि राम्रो खेल्नुपर्छ र हामी त्यसमा केन्द्रित छौं ।’

शरद, सुवास खकुरेल, प्रदीप ऐरीलगायत एपीएफका खेलाडीहरू चोटग्रस्त छन् । त्यसको असर फाइनलमा पुग्न नदिनेतर्फ सचेत शरदले सामूहिक प्रयासले फिटनेसलाई बिर्सेर प्रदर्शन हुने दाबी गरे । मन्जितले पनि राम्रो प्रदर्शनबाट उपाधिको आशा गरेको सुनाए । ‘एपीएफ धेरै उत्कृष्ट छ । हामीले योजनाबद्ध रणनीति बनाउँदै छौं । हामी सामूहिक प्रदर्शनलाई आधार मान्छौं,’ उनले थपे, ‘एपीएफका धेरै खेलाडीहरू चोटग्रस्त छन् तर उनीहरूले आवश्यकताअनुसार राम्रो प्रदर्शन गरिरहेका छन् ।’

३ खेलबाट १२ विकेट लिएका पवन सर्राफसहित सागर ढकाल, ललितनारायण राजवंशी जस्ता उत्कृष्ट स्पिनरहरू पुलिसका भरोसा हुन् । तीव्र बलिङमा पछिल्लो खेलमा गुल्सन झालाई डेब्यु गराएको पुलिसका लागि मन्जित पनि रहनेछन् । गुल्सनको गति र बाउन्सले धेरैलाई प्रभावित पारेको छ । एक खेलमा १ सय ४० रनको इनिङ्स खेल्नुबाहेक दीपेन्द्रले बाँकी ३ खेलमा २५ रनमात्र बटुलेका छन् । पवनले आवश्यक समयमा रन जोड्दै मध्यक्रमको नेतृत्व गरिरहेका छन् । ओपनर सुनील धमला र कुशल भुर्तेलले औसतबाट माथि उठेर प्रदर्शन गर्नुपर्नेछ ।

एपीएफका सन्दीप जोरालाई मध्यक्रममा धेरै भरोसा गर्न सकिन्छ । यी युवा ब्याट्सम्यानले अहिलेसम्म दुई अर्धशतक प्रहार गरेका छन् । लिग चरणको अन्तिम खेलमा मूलपानी मैदानमा काठमाडौं मेयर–११ विरुद्ध कप्तान शरदसँग १ सय २१ रनको अविजित साझेदारी गरी उनले जित आधार खडा गरेका थिए । फिल्डिङमा पनि उनको चुस्त शैली प्रशंसनीय छ । कप्तान शरद पनि लिगको अन्तिम खेलमा अर्धशतक प्रहारसँगै लयमा फर्किएका छन् । शंकर राना, अमरसिंह राउटेला, सुमित महर्जनलगायतका युवा खेलाडीले औसतभन्दा माथिको प्रदर्शन गर्नुपर्नेछ । अविनाश बोहराको योर्कर र वसन्त रेग्मीको स्पिन अनुभवले एपीएफको बलिङ आक्रमण बलियो छ । उनीहरूलाई भुवन कार्की, कमलसिंह ऐरी र किशोर महतोको साथ रहनेछ ।

प्रकाशित : फाल्गुन २९, २०७७ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×