२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कार्यकर्तालाई दाहालको निर्देशन : प्रतिक्रियावादी सल्बलाइरहेका छन्, हाई अलर्टमा बस्नुस्

अमृता अनमोल

बुटवल — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुन:स्थापित भए पनि  प्रतिक्रियावादीको षड्यन्त्र अझै समाप्त नभएको बताएका छन् । 

कार्यकर्तालाई दाहालको निर्देशन : प्रतिक्रियावादी सल्बलाइरहेका छन्, हाई अलर्टमा बस्नुस्

बुटवलमा शुक्रबार अगुवा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै दाहालले षड्यन्त्रबाट बच्न नेता/कार्यकर्तालाई ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएका छन् । ‘लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन षड्यन्त्र भइरहेको छ । प्रतिक्रियावादीहरु सलबलाइरहेका छन्,’ उनले भने, ‘हामीले रिल्याक्स गर्ने र काम पूरा भएको सोच्ने गर्नु भएन । हाई अलर्टमा बस्नुपर्ने छ । पूरै चनाखो बन्नुपर्ने छ ।’

सरकार निर्माण गर्ने तथा गठबन्धन निर्माण गर्नेलगायतका काममा देखिएको अवरोधले प्रतिगमनकारी अझै पनि सलबलाइरहेको बताए । ‘यस्तोमा संविधान, लोकतन्त्र र निरंकुशताविरुद्ध जानेसँग सहकार्य गरिरहनुपर्ने अबस्था छ,’ उनले भने, ‘हामीहरु आत्तिन पर्दैन तर चनाखो बस्नुपर्छ ।’

यसअघि राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा प्रथम महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा फेरि एकपटक अनिष्ट निम्त्याउन खोजिएको बताएका थिए । सर्वोच्च अदालतले हालै नेपाल कम्युनिस्ट पार्टी खारेजीको सम्बन्धमा गरेको फैसलाप्रति संकेत गर्दै उनले जन्मिसकेको बच्चालाई पुन: गर्भमा पठाउन खोजिएको टिप्पणी गरे । ‘यस्तो अचम्म पनि हुँदो रहेछ । यस्तो अनौठो परिघटना पनि हुँदो रहेछ । जन्मिसकेको बच्चा फेरि आमाको गर्भभित्र लगिदिन खोजेजस्तो गरिँदैछ,’ दाहालले भने, ‘देशमा फेरि एकपटक अनिष्ट निम्त्याउन खोजिएको छ ।

अध्यक्ष दाहालले पछिल्लो केही समय यता देशमा परिवर्तनलाई उल्ट्याउन अनिष्टको संकेत देखिएको दावी गरे । उनले परिवर्तन र उपलब्धी उल्टाउन प्रतिक्रियावादीहरु लागीपरेको बताए । ‘देशमा अनिष्टको संकेत देखिएको छ । अब के हुन्छ ? गम्भीर प्रश्न तपाई हाम्रोसामु उब्जेको छ । ’ उनले भने ।

प्रकाशित : फाल्गुन २८, २०७७ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?