कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघ आक्रमण बढेपछि घाँसदाउरा र चरिचरनमा रोक

८ वटा क्यामेरा जडान गरी बाघको पहिचान गरिँदै
कमल पन्थी

बर्दिया — बाघको आक्रमणबाट स्थानीय मारिन थालेपछि मधुवन नगरपालिकाले खाता जैविक मार्ग र सामुदायिक वनमा घाँसदाउरा गर्न र बस्तुभाउ चराउन रोक लगाएको छ । बुधबार दिउँसो पाटेबाघको आक्रमणबाट मधुवन–३ को सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय रीना भनिने रेनुका सुनारको ज्यान गएको थियो ।

बाघ आक्रमण बढेपछि घाँसदाउरा र चरिचरनमा रोक

नेपाल र भारतको सीमामा घना जंगल भएका कारण यस क्षेत्रमा बाघको बिगबिगी बढेको छ । गत साउनयता यस सामुदायिक वन क्षेत्रमा मात्रै बाघको आक्रमणबाट ५ जनाको ज्यान गइसकेको छ । नगर प्रमुख गणेश केसीले बर्दिया निकुञ्जमा बाघको संख्या यकिन गरी सामुदायिक वन क्षेत्रमा कति छन् भन्ने सार्वजनिक हुनुपर्ने बताए । ‘अहिले वन्यजन्तुबाट जोगिन सचेतना कार्यक्रम अघि सारेका छौं,’ उनले भने, ‘वन र निकुञ्जले मानिसको ज्यान बचाउन आवश्यक पहल गर्नुपर्छ ।’

बाघले सुनारको ज्यान लिएपछि यस क्षेत्रका विभिन्न ठाउँमा क्यामेरा ट्र्यापिङ जडान गरिएको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले ८ वटा क्यामेरा जडान गरी बाघको पहिचान गर्न थालिएको बताए । ‘मानिस र बाघ दुवैको ज्यान बचाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘मानिस आफैं सचेत हुनुपर्छ ।’ करिब चार महिनाअघि बर्दिया सिमानामा राखिएको क्यामेराप्रति भारतले आपत्ति जनाएपछि वन कार्यालयले त्यहाँबाट हटाएको थियो । गत साउनयता बर्दियामा बाघको आक्रमणबाट ८ जनाको ज्यान गइसकेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिने गरिएको बताए । ‘मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुबाट मारिएका परिवारलाई साढे १० लाख राहत दिने गरेका छौं,’ उनले भने, ‘यसबाहेक एकल महिलालाई मासिक १ हजार ५ सय र मृतक परिवारका छोराछोरीलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौं ।’ सन् २०१८ को गणनाअनुसार बर्दिया निकुञ्जमा ८७ वटा बाघ छन् ।

बाघको आतंककै कारण प्रत्येक दिन साँझ ५ बजेपछि मधुवन–३ भगरैया गाउँ सुनसान देखिन थालेको छ । कर्फ्यु लागेजस्तै मानिसको चहलपहल बन्द छ । मानिसहरू घरबाहिर निस्कन पर्‍यो भने एक्लैदुक्लै होइन, समूहमा लट्ठी लिएर आउजाउ गर्छन् । केटाकेटीलाई घरपरिवारले जंगल आसपास क्षेत्रमा आउजाउ गर्न दिँदैनन् । खाता जैविक मार्ग र भारतीय सीमा बहराइच जिल्लाको कतरनियाघाट वन्यजन्तु आरक्ष परेकाले यहाँ वन्यजन्तुको आउजाउ बढी छ । हुलाकीमार्गको करिब २ किमि सडक खण्डमा साँझ ६ बजेपछि दुईपांग्रे र मानिसको आउजाउमा कडाइ गरिएको छ । यहाँ राति १० देखि बिहान ६ बजेसम्म आउजाउ गर्न पाइँदैन ।

मधुवन–३ की सरस्वती साहले यस वर्ष बाघको आक्रमणले त्रास बढाएको बताइन् । ‘गत वर्ष हात्तीले बालीनालीमा क्षति पुर्‍याउनुका साथै दर्जनभन्दा बढी घर भत्काएको थियो,’ उनले भनिन्, ‘अहिले बाघले गाउँमा कुन बेला आक्रमण गर्ने हो भन्ने त्रास फैलिएको छ ।’ धनौरा, कोठियाघाट, खाता र भगरैया क्षेत्रका बासिन्दा साँझ पर्नासाथ झ्यालढोका बन्द गरी घरभित्र बस्ने गरेको मधुवन–३ विपतपुरका बडघर फूलाराम थारूले बताए । अहिले दिउँसै एक्लै मानिस हिँड्न छाडे,’ उनले भने, ‘बाघ दिउँसै गाउँ आसपासमा हिँडडुल गर्छ, जसले गर्दा सिंगो गाउँ त्रसित छ ।’

तीन महिनाअघि यहाँ सशस्त्र प्रहरी बलको बीओपी स्थापना भएको थियो । बीओपीका सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरले जतिबेला पनि बाघको आउजाउ बढेको बताए । कहिलेकाहीँ सशस्त्रको बीओपी नजिक आउने गरेको उनले सुनाए  ।

प्रकाशित : फाल्गुन २८, २०७७ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?