६ दशक पुरानो बस्तीमा ‘भूमाफिया’ को दाबी- समाचार - कान्तिपुर समाचार

६ दशक पुरानो बस्तीमा ‘भूमाफिया’ को दाबी

कोसीले आफ्नो जग्गा कटान गरेपछि थारु र दलित समुदायका ३२ परिवारले खाली रहेको करैयामा बस्ती बसाएका थिए । तीन पुस्ता बसिसकेको बस्ती आफ्नो दाबी गर्दै जग्गाधनी खडा भएपछि उनीहरु कहाँ जाने भन्ने बिलखबन्दमा छन् ।
डिल्लीराम खतिवडा

करैया, उदयपुर — संसारीदेवी चौधरी धुमधामले छोराको बिहे गर्ने सोचमा थिइन् । वैदेशिक रोजगारीबाट फर्किन लागेका छोराका लागि उनले बुहारी पनि खोजिसकेकी थिइन् । बिहेका लागि आफन्तलाई निम्तो बाँड्ने, सामान जोहो गर्ने र घर सजाउनतिर लाग्नुपर्ने बेला भत्काउन थालिएपछि भने उनी बिलखबन्दमा परेकी छन् ।

उदयपुरको बेलका नगरपालिका–२ स्थित करया बस्ती । तस्बिर : डिल्लीराम/कान्तिपुर

बेलका नगरपालिका–२ करैयास्थित उनको घर अहिले आधा भत्काइएको छ । उनीसँगै करैया बस्तीको २ बिघा ३ कट्ठा १४ धुर जग्गामा बनेका करिब ३२ परिवारलाई घर हटाउन उर्दी जारी भएको छ । उक्त जग्गा ‘भूमाफिया’ ले आफ्नो दाबी गर्दै जिल्ला अदालतका कर्मचारी, प्रहरी प्रशासन र जनप्रतिनिधिका साथमा बस्ती नहटाए भत्काइदिने धम्की दिएपछि स्थानीय बिचल्लीमा परेका हुन् ।

२०१६/१८ सालतिर पूर्वपट्टिबाट बग्दै गरेको सप्तकोसी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान थाल्यो । कोसी कटानको मारमा परेका करिब ३२ घरपरिवार थारू र दलित समुदाय अहिले बस्दै आएको करैयामा सरे । त्यही वर्ष संसारीदेवी जन्मिएकी थिइन् । करैया त्यतिबेला पूरै खाली थियो । कसैले आफ्नो जग्गा भनेर दाबी पनि नगरेको स्थानीय बताउँछन् । ‘सुरुमा १०–१५ घर आएर बसियो,’ ६८ वर्षीया भुवनेश्वर पासवानले भने, ‘कोसीले पश्चिम धार कटान गरिरहेपछि अरू परिवार पनि यतै आए ।’ पासवान पनि ११/१२ वर्षको हुँदा बाजेसँगै आएका थिए । उनका अनुसार अहिले बसिरहेका थारू र दलित समुदायको तीन पुस्ता करैयामा बितिसकेको छ । ‘पहिले आएको परिवारका सदस्य छुट्टिएर बसे पनि बाहिरबाट अरू आएका छैनन्,’ उनले भने ।

तर, अहिले परशुराम कठायतले आफूहरूको जग्गा त्योभन्दा पूर्वपट्टि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रतिर देखाउने गरेको स्थानीय भोगेन्द्र चौधरीले बताए । ‘बस्तीमा २०२८ सालमा नापी हुँदा खाली कित्ता नम्बर १ पर्ती ऐलानी जग्गा थियो,’ भोगेन्द्रले भने, ‘तत्कालीन सुन्दरपुर थानाका असई राजविराज–४ का रामकृष्ण उपाध्यायको क्षेत्र साविक तपेश्वरी कमान्ड एरियाभित्र पर्थ्यो । उनै रामकृष्णले २०३१ सालमा आफ्नी श्रीमती गोमादेवी उपाध्यायका नाममा कसैलाई थाहा नदिई बस्ती बसेको जग्गा छुट दर्ता गरी लालपुर्जा बनाए ।’

उपाध्यायले मालपोत र नापी कर्मचारीसँगको मिलेमतोमा लालपुर्जा फिल्ड बुकमा स्रेस्ता खडा गरी थारू र दलित समुदायलाई ४ कट्ठाको पैसा लिएर २ कट्ठा मात्र पास गरेको उनको भनाइ छ । घर भएको ठाउँमा कित्ताकाट नगरी अन्तै गरिदिएको र राजविराजमा बोलाएर खानपिन गराउँदै आफूहरूलाई ठगेको स्थानीयको आरोप छ । त्यसैबीच २०४२/०४३ मा गोमादेवीका नाममा रहेका बाँकी स्रेस्तामा भएका तर थारू र दलित परिवारका घरगोठ भएका जग्गा डम्बरबहादुर, प्रेमबहादुर र टीकादेवीले रजिस्ट्रेसन पास गरेको मालपोतको रेकर्डमा देखिन्छ । प्रेमबहादुरले बस्तीको जग्गा आफ्नो दाबी गरेपछि स्थानीय अदालत गएका थिए । जिल्ला अदालतले बस्तीवासीकै पक्षमा फैसला गरेको थियो । त्यसलगत्तै ‘मिलेमतो’ मा रातारात प्रेमबहादुरको नामबाट टीकादेवी कठायतको नाममा जग्गा नामसारी भएको मालपोतको रेकर्डमा छ ।

५८ वर्षदेखि थारू र दलित समुदाय बसोबास गरिरहेको जग्गा करिब १५/२० वर्षयता भारतको असमबाट आएको कठायत परिवारले आफ्नो दाबी गरेको बेलाका नगरपालिका–२ वडा सदस्य फूलकुमारी सादले बताइन् । ‘चौधरी र दलित बस्ती भएको जग्गा कठायत परिवारले कसरी खरिद गरे ?,’ वडा सदस्य फूलकुमारीले भनिन्, ‘कठायतको नाममा रहेको कित्ता नम्बर ९०, ९१, ९२ क्षेत्रफल ०–४–० जग्गाको मुद्दा चल्दा कोबीलाल चौधरी, मोहितलाल चौधरी र हरि चौधरीको घरजग्गा हालकै बसोबास भएको ठाउँमा मालपोतको रेकर्डमा देखिन्छ ।’ तर भाइ प्रेमले मुद्दा हारेपछि परशुरामले श्रीमती टीकादेवीका नाममा जग्गा नामसारी गरेको र फेरि मुद्दा हालेर पद र पैसाको दुरुपयोग गरी जितेको स्थानीयको आरोप छ । प्रेम कठायतको नाममा हुँदा पीडितहरूको घरजग्गा आफ्नै हुने र त्यही जग्गा टीकादेवीको नाममा नामसारी भएपछि अन्तै पर्ने जिल्ला अदालत उदयपुरको अलग–अलग फैसलाले झन् अन्योलमा परेको स्थानीय बताउँछन् ।

टीकादेवीको नाममा जग्गा सारिएपछि उनी फेरि अदालत गएकी थिइन् । २०७३ सालमा जिल्ला अदालतले टीकादेवीको पक्षमा फैसला गरेको थियो । त्यसविरुद्ध पीडितहरू उच्च अदालत विराटनगर अस्थायी इजलास गएका थिए । तर, आर्थिक अभावका कारण वकिल राख्न नसकेको र तारिख गुजारेका कारण २०७५ मंसिरमा कठायतकै पक्षमा फैसला भएको थियो ।

अदालतबाट टीकादेवीको पक्षमा फैसला भएपछि अहिले परशुरामले जग्गा आफ्नो भन्दै थारू र दलित समुदायलाई घर भत्काउन दबाब दिइरहेका छन् । अदालतका कर्मचारी, प्रहरी प्रशासन लगाएर जबर्जस्ती घर भत्काउने, भाँडाकुँडा फालिदिने, महिला बालबालिकालाई तानेर बाहिर निकाल्ने गरिरहेको स्थानीयको आरोप छ । परशुरामले भने अदालतबाट आफ्नो पक्षमा फैसला भएकाले जसरी पनि जग्गा भोग गर्ने बताए । उनले जग्गा आफ्नो भएकाले नछोड्ने वा हरेक परिवारले २० लाख रुपैयाँ प्रतिकट्ठाका दरले पैसा दिनुपर्ने बताए ।

बेलका नगरपालिका–२ का वडाध्यक्ष मिश्रीलाल चौधरीले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा आफू रोहबरमा बसेको बताएका छन् । संसारीदेवीलगायत आफैंले घर भत्काएर सारेको र अहिले अरुलाई दोष लगाएको उनले दाबी गरे । ‘थारु र दलित समुदायको बस्ती उठाउने भन्दा पनि टीकादेवी (परशुराम कठायतकी श्रीमती)सँगको जग्गा किचलो मिलाउन खोजिएको हो,’ उनले भने, ‘यो बस्ती कठायतको जग्गामा पर्ने र उनीहरूको जग्गा अगाडि सर्छ । आफैंले घर सारेर अरुलाई दोष लगाएको हो ।’ वडाध्यक्षले भने जस्तै थारु र दलित बस्ती अगाडि सार्दा सडकमा पुग्छ । त्योभन्दा अगाडि अर्को बस्ती छ । त्यहाँ भन्दा अगाडि कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र पर्छ ।

प्रकाशित : फाल्गुन २८, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

खेल उत्कृष्ट, पुगेनन् फाइनल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली घरेलु क्रिकेटमा यो खेललाई पछिसम्म पनि दोहोर्‍याएर सम्झिइनेछ । यसको खास नतिजा के रह्यो भने दुवै प्रतिद्वन्द्वी टिम फाइनल पुग्न सकेनन् । काठमाडौं मेयर कप क्रिकेटमा बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वाग्मती प्रदेश र आर्मी क्लब भिडेका थिए ।

कीर्तिपुर मैदानमा वाग्मती प्रदेशविरुद्ध ब्याटिङ गर्दै आर्मीका सोमपाल कामी । तस्बिर : इलिट जोशी/कान्तिपुर

खेल सकिनु अगाडि नै तय भइसकेको थियो, यी दुई टिममध्ये कुनै फाइनल पुग्ने छैन । किनभने मूलपानीमा भएको खेलमा एपीएफ क्लबले काठमाडौं मेयर–११ टिमलाई हराएर फाइनल सुरक्षित गरिसकेको थियो । यस्तोमा वाग्मती र आर्मी खाली प्रतिष्ठाका लागि मात्र लडे, तर यो प्रतिष्ठाको लडाइँ ‘क्या खेल’ जस्तै रह्यो । सबैभन्दा पहिले मूलपानीमा भएको खेल । त्यसमा एपीएफका लागि कप्तान शरद भेषवाकरले अर्धशतकमात्र प्रहार गरेनन्, सन्दीप जोरासँग शतकीय साझेदारी गरे र टिमलाई ७ विकेटले विजयी गराए । टस हारेर पहिले ब्याटिङ अवसर पाएको मेयर–११ ले ४८.२ ओभरमात्र टिकेर १ सय ७७ रन बनाएको थियो ।

जवाफमा एपीएफ ४४.१ ओभरमै जितसम्म पुग्न सफल रह्यो । शरदले सबैभन्दा पहिले शंकर रानासँग दोस्रो विकेटमा ४४ रनको साझेदारी निभाए । त्यसपछि दबाबमा आएको एपीएफका लागि शरदले कप्तानी इनिङ्स खेले । यो किन महत्त्वपूर्ण रह्यो भने उनले लामो समयपछि आफ्नो प्रतिष्ठाअनुसार खेले । शरदले सन्दीप लामिछानेको फ्री हिटमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । उनी ६१ रन बनाएर नटआउट रहे । सन्दीप जोरा आफैं पनि नटआउट रहे । उनले ६२ रन बनाए । यसक्रममा सन्दीपले सिद्धान्त लोहनीको बलमा चौका प्रहार गर्दै जितको औपचारिक पूरा गरेका थिए । सन्दीप र शरदले तेस्रो विकेटमा १ सय २१ रनको निर्णायक साझेदारी गरे । यसअघि मेयर–११ का लागि हरिशंकर साह र सन्दीप रजालीले ६५ रन साझेदारी गरेर टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । सन्दीप रजालीले ४८ र हरिशंकरले ३६ रन बनाए । उनीहरूबाहेक अन्य कसैले गतिलो योगदान दिन सकेनन् ।

एपीएफको त्यो जितपछि कीर्तिपुर मैदानको खेल वास्तवमै औपचारिकमै सीमित भएको थियो । तर, दुवै टिमका खेलाडीले त्यसलाई त्यस्तै व्यवहार गरेनन् । एउटा अब्बल दर्जाको खेलमा जे जति चाहिन्छ, त्यो सबै त्यसमा थियो । जस्तो, शतकीय इनिङ्स र ५ विकेटको प्रदर्शन । त्यो पनि दुवै टिमबाट । जतिबेला आर्मीका कप्तान विनोद भण्डारी आउट भए । त्यसपछि खेल वाग्मतीको पक्षमा मोडियो । सबैले फेरि अनुभव गरे, क्रिकेटमा जित धेरै नजिक भएर पनि कति धेरै टाढा हुनसक्छ भनेर । १० रनले विजयी रहेको खेलमा वाग्मतीले पहिले ब्याटिङ गरेर ४९.४ ओभरमा सबै विकेट गुमाई २ सय ६६ रन बनाएको थियो । त्यसमा पारस खड्काले १ सय १९ रनको शतकीय इनिङ्स खेले । जसका लागि ११ चौका र दुई छक्का प्रहार गरे । संयोगले यो घरेलु क्रिकेटमा पारसको पहिलो शतक रह्यो । जवाफमा आर्मीले ४७.१ ओभरमा २ सय ५६ रन बनायो । यसमा पनि विनोद भण्डारीले १ सय १९ रन बनाए । उनको यो प्रदर्शन नहुँदो हो त खेल कति चाँडै टुंगिसकेको हुन्थ्यो, थाहै हुँदैनथ्यो । विनोदले ८ चौका र ७ छक्का प्रहार गरेर खेललाई रोमाञ्चक बनाए ।

आर्मीले एक समय ४ विकेट गुमाउँदा ७९ रन मात्र बनाएको थियो । फेरि सात विकेट गुमाउँदा १ सय ५२ रन बनाएको थियो । तर विनोदले आठौं विकेटमा करण केसीसँग ८४ रनको आक्रामक साझेदारी गरे । आरियो पौडेलको बलमा एक रन बटुलेर स्ट्राइक आफ्नै पक्षमा पार्ने प्रयासमा विनोद नराम्रोसँग स्टम्पिङ हुन पुगे । लगत्तै अर्को ओभरमा आरियोले जितेन्द्र मुखियालाई लगभग प्लम्प एलबीडब्लूमा आउट पारे । वाग्मतीका लागि तिनै आरियो र आर्मीका लागि सोमपाल कामीले ५–५ विकेट लिए । शतकपछि आर्मीबाट ओपनर लोकेश बमको ४६ र वाग्मतीबाट नन्दन यादवको ४२ रन नै ठूलो स्कोर थियो ।

प्रकाशित : फाल्गुन २८, २०७७ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×