कर्णाली उत्सव : खेल, स्वास्थ्यदेखि कर्णाली समृद्धिको बहस 

कृष्णप्रसाद गौतम

सुर्खेत — ‘संसारलाई सुनाउन कर्णालीसँग असंख्य कथाहरु छन्,’ लेखक बुद्धिसागरले भने, ‘कर्णालीको कथा सुनाउने बान्की पनि छुट्टै छ ।’ आफूले भोगेको कथा आफैं लेखेको बताउँदै उनले कर्णालीले आफ्नो कथा आफैं भन्नुपर्ने जनाए । 

कर्णाली उत्सव : खेल, स्वास्थ्यदेखि कर्णाली समृद्धिको बहस 

वीरेन्द्रनगरको बुलबुले उद्यानमा सुरु भएको कर्णाली उत्सवको दोस्रो दिन बिहीबार खेल, कर्णालीको दु:ख, स्वास्थ्य, हाटदेखि समृद्धिका विषयमा बहस केन्द्रित भयो । गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले सहजीकरण गरेको ‘आफ्नै कथा, आफ्नै बान्की’ मा बुद्धिसागरसँगै रंगकर्मी हिराबिजुली नेपाली, देउडा गायक नेत्रराज शाही र लेखक सरला गौतमले पनि आफ्नो अनुभव सुनाए । ‘एउटा भुगोलमा एउटा समुदायले मनाउने गौरा पर्व अहिले राष्ट्रिय स्तरको पर्व भएको छ,’ शाहीले भने, ‘हामीले चाहे नहुने के छ ?’ नेपालीले कर्णालीका धेरै कथाहरु सुनिन, भनिन र लेखिन बाँकी रहेको औल्याए भने कर्णालीलाई समग्रतामा बुझ्नुपर्ने गौतमले बताइन् ।

खेलमार्फत कर्णालीलाई चिनाउने जुम्लाकी सुनमाया बुढाले उत्सवको पहिलो सत्रमा आफ्नो अनुभव सुनाइन् । ‘आफैंले संघर्ष गर्न जरुरी छ,’ उनले भनिन्, ‘संघर्ष गरे कहिँ पनि असफल भइँदैन ।’ छोराछोरीको भविष्यप्रति अभिभावक पनि गम्भीर बन्न जरुरी रहेको उनको भनाइ छ । ‘अल्ट्रा म्याराथन’ मार्फत देशलाई चिनाउने आफ्नो लक्ष्यमा दृढ रहेको उनी बताउँछिन् ।

कार्यक्रमको अर्को सत्रमा कर्णालीको अर्को पाटो ‘हाट र भोट जाने चलनबारे’ बहस चलाइयो । पत्रकार नगेन्द्र उपाध्यायले सहजीकरण गरेको सत्रमा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले ४० वर्षअघि दुईपटक हाट गएको अनुभव सुनाए । ‘कहिल्यै पहाडा घाम, कहिल्यै स्याला घाम । हटारुका पनि दिन आउँदा रहेछन्,’ उनले भने, ‘हामीभन्दा पहिलेको पुस्ता भोट जान्थ्यो, हामी हाट गयौँ । नुन, सुन र उनका लागि ।’ उनले हाट र भोट कर्णालीले सदियौंदेखि अभ्यास गरिरहेको सामाजिक पुँजी निर्माणको अभियान भएको बताए ।

मानवशास्त्री जनक राईले हामीलाई विभिन्न संघसंस्था र विश्वविद्यालयले सिकाएको कुरा कर्णालीमा वर्षौ अघिदेखि जिउँदो भएको बताए । समाजसेवी धनराम बुढाथोकीले ६० दिन हिँडेर आफू हाट गएको बताए । ‘टन्नै भारी बोकेर डोल्पाबाट नेपालगन्जसम्म हाट जान्थ्यौं,’ उनले भने, ‘आफूले लगेको सामान बेचेर किनिएका सामान बोकेर घर जान पनि गाह्रो हुन्थ्यो ।’

यस्तै ‘कहरी सुकालो होला, कहिले जाला कैठ’ मा जनस्वास्थ्यविज्ञ संक्रमणरोग विशेषज्ञ डा. अनुप सुवेदीले सोचेभन्दा धेरै संक्रमण फैलिएको बताए । ‘हामीले सोचेभन्दा धेरैको ज्यान गएको छ,’ उनले भने, ‘कोरोनाबाट कर्णाली मात्रै हैन, हामी सबै अझै जोगिन जरुरी छ ।’ अर्का डा. सुरेश तिवारीले संघीयतापछि कर्णालीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताए । स्वास्थ्य अवस्था सुध्रदै गएपनि जनशक्ति अभावको समस्या वर्षौंदेखि झेलिरहेको प्रदेश अस्पताल सुर्खेतकी डा. दुर्गा थापाले बताइन् । ‘जनशक्ति कम हुँदा एकजनाले नै लगातार धेरै समय काम गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘यसको अन्त्य गर्न सके मात्र कर्णालीका सबै नागरिक स्वस्थ भएको जीउन पाउँछन् ।’

कार्यक्रमको अन्तिम सत्रमा लिला पोखरेल, माया निर्भिक, सीता यरी, पत्निका थापा, पुनम धमला, समिक्षा खड्का अम्विका भट्टराईललायत २२ गजलकारले आफ्नो सिर्जना वाचन गरे । बुधबारदेखि सुरु भएको उत्सव शनिबारसम्म चल्नेछ ।

प्रकाशित : फाल्गुन २७, २०७७ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?