पहिलो हिमाल आरोहण अनुमति जारी

नुप्से हिमाल आरोहण गर्दै क्यानेडियन टोली
सुरज कुँवर

काठमाडौँ — पर्यटन विभागले अबको वसन्तकालीन हिमाल आरोहण अभियान अन्तर्गत खुम्बु क्षेत्रमा पर्ने ७ हजार ८ सय ६४ मिटर अग्लो नुप्से हिमालका लागि मंगलबार पहिलो आरोहण अनुमति जारी गरेको छ । 

पहिलो हिमाल आरोहण अनुमति जारी

विभागका अनुसार ४ जना क्यानेडियन नागरिकहरुको समूहलाई विभागले चैतदेखि सुरु हुने वसन्तकालीन सिजनमा आरोहण गर्न अनुमति दिएको हो । ‘अबको वसन्तकालीन हिमाल आरोहण अन्तर्गत यो पहिलो अनुमति हो,’ विभागकी निर्देशक मिरा आचार्यले कान्तिपुरसँग भनिन् । विभागले अनुमतिपत्र जारी गरेपछि उनीहरुसहित नेपाली शेर्पाहरुको समूह हिमाल आरोहणका लागि बुधबार लुक्लातर्फ लागेको छ ।

विभागका अनुसार यी विदेशी नागरिकहरुको समूह नेपालले कारोना महामारीमा बनाएको नयाँ नियम पालना गर्ने पहिलो पर्वतारोही टोली भएको छ । आरोहण अनुमति लिनुअघि यी क्यानेडियन नागरिक ठमेलस्थित मलबेरी होटलमा १५ दिन क्वारेन्टाइन बसेको आरोहण व्यवस्थापक एवं एसेन्ट हिमालयजका प्रबन्ध निर्देशक लाक्पा दोर्जी शेर्पाले बताए ।

उनका अनुसार कोभिडपछि जारी भएको नियम अनुसार उनीहरुले कोभिड जाँच गरेर पीसीआर नेगेटिभ भएको प्रमाण पनि बुझाउनु परेको थियो । त्यस्तै, सरकारले लागू गरेको ५ हजार डलर बराबरको बिमा पनि उनीहरुले गरेका छन् । यसअघि कोरोना बिमा, होटल क्वारेन्टाइन, पीसीआर जाँच, अन–अराइभल भिसाका लागि पूर्व अनुमति आदी नियम थिएनन् ।

कोरोना माहामारीका कारण गत वर्षको वसन्तकालीन हिमाल आरोहण सरकारले रोकेको थियो । नुप्से हिमाल सगरमाथाको दक्षिण पश्चिममा पर्ने चुचुरो हो ।

प्रकाशित : फाल्गुन २७, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?