२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

तानातानमा जसपा

पूर्वराजपा धार ओलीसँग जोडिन सक्ने आशंका बढेपछि त्यसलाई रोक्न दाहालको दौडधुप
कुलचन्द्र न्यौपाने

काठमाडौँ — सत्ता समीकरणलाई लिएर सत्तारूढ एमाले र माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) लाई आफूतिर तान्न रस्साकसी थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन निर्णायक शक्ति बनेपछि दुवै पार्टीले जसपालाई फकाउन थालेका हुन् ।

तानातानमा जसपा

एमाले र माओवादी केन्द्रले बुधबार जसपाका नेताहरूसँग छलफल गरेका थिए । बिहान सरकार पक्षसँग कार्यदलस्तरमा छलफल भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरूमाझ जसपा कार्यकारिणी समितिका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग कुराकानी गरे । दाहालले ओलीको विकल्पमा तीन दलीय गठबन्धन सरकार बनाउन जसपालाई आफूतिर ल्याउन चाहिरहेका छन् । प्रधानमन्त्री ओलीले पनि जसपाको साथ लिएर सरकारलाई टिकाउन खोजेका छन् । सत्ता समीकरणलाई लिएर यी दुई पक्षको तानातानमा परेको जसपा भने आफैं अन्तरकलहमा फस्न थालेको छ ।

व्यावहारिक रूपमा अलग भए पनि माओवादी केन्द्र प्राविधिक रूपमा सत्तापक्षमै छ । उसले औपचारिक रूपमा सत्ता सहकार्य तोडेको जानकारी गराएपछि प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता हुन्छ । माओवादी केन्द्रको मुख्य तारो पनि प्रधानमन्त्री ओली बनेका छन् । उनलाई सत्ताबाट च्युत गराउन अध्यक्ष दाहालले केही दिनयता आफ्नो सक्रियता बढाइरहेका छन् । मंगलबार जसपा संघीय परिषद्का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेका दाहालले बुधबार ठाकुर र महतोसँग वार्ता गरेका हुन् । ठाकुरले पार्टीमै जानकारी नगराई सरकार पक्षसँग वार्ताका लागि कार्यदल बनाएको जानकारी गराएपछि दाहाललाई आशंका बढेको छ । ठाकुर, महतोसहित जसपाको पूर्वराजपा धार ओलीसँग जोडिन सक्ने आशंका बढेपछि दाहालले त्यसलाई रोक्न ठाकुर र महतोसँगै छलफल गरेका थिए । जसपाका कार्यकारिणी समितिका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष भट्टराईसहित पूर्वसमाजवादीका नेताहरूको जोड भने तीन दलीय गठबन्धनतिरै छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडकमा उत्रिएका दलहरूको सत्ता गठबन्धन नै प्राकृतिक हुने उनीहरूको ठम्याइ छ ।

जसपा अध्यक्ष यादवले ओली नेतृत्वको सरकारसँग सहकार्य गर्ने सम्भावनै नरहेको बताए । ‘अहिलेको अवस्थामा सरकारलाई सघाउने र गठबन्धन बनाउने कुनै सम्भावना छैन, प्रतिगमनकारीलाई सत्ताबाट च्युत गर्ने हाम्रो मूल ध्येय हो,’ उनले भने । ठाकुरले बनाएको कार्यदल रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइका लागि मात्रै भएको यादवले बताए ।

अध्यक्ष ठाकुरले नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई कार्यदलको सदस्य तोकेपछि पार्टीभित्र भने विवाद बढेको छ । संसदीय दल बैठकमा बुधबार ठाकुरले यसबारे जानकारी गराएपछि यादव, भट्टराईसहित अधिकांश नेता झस्केका थिए । त्यसले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पनि झस्कायो । त्यसैले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै उनी जसपाको मनस्थिति बुझ्न नेता भट्टराईको निवास पुगेका हुन् । आफूलाई प्रधानमन्त्री स्विकारेमा मात्रै तीन दलको गठबन्धनमा सामेल हुन सक्ने देउवाले बताउँदै आएका छन् । ओलीलाई जसरी पनि सत्ताच्युत गर्न माओवादी केन्द्रका अध्यक्ष दाहाल देउवाकै नेतृत्वमा सरकार बनाउन सकारात्मक देखिए पनि जसपाभित्रको विवादले उनलाई सशंकित बनाएको छ ।

माओवादी केन्द्रको बुधबारकै बैठकले सत्ता समीकरणका लागि कांग्रेस र जसपासँग वार्ता गर्न अध्यक्ष दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ । वैकल्पिक गठबन्धनका लागि ३२ सांसद (दुई निलम्बितबाहेक) रहेका जसपाको सग्लो समर्थन आवश्यक हुन्छ तर १ सय २० (एक निधनबाहेक) सांसद रहेका ओलीका लागि सरकार टिकाउन १८ सांसद मात्रै भए पनि पुग्छ । त्यसका लागि सके सग्लो जसपाको समर्थन लिने, नसकेमा फुटाएर भए पनि वैकल्पिक गठबन्धन बनाउन नदिने ओलीको रणनीति भएको जसपाकै नेताहरू बताउँछन् ।

जसपा नेता महतोले सत्तालाई केन्द्रमा राखेर आफूहरूले छलफल नगरेको दाबी गर्दै सत्ता समीकरणलाई लिएर पार्टी विभाजन हुने हल्ला बकबास मात्रै भएको बताए । ‘प्रधानमन्त्री ओलीसँग जे विषयमा छलफल भइरहेको छ, आज (बुधबार) माओवादीसँग पनि त्यही विषयमा छलफल भयो,’ महतोले भने, ‘प्रचण्डसँग पनि हामीले मुद्दाकै विषयमा छलफल गर्‍यौं । हामी सरकार बनाउने गोटी बनिरहेका छैनौं, हाम्रा माग पूरा गराउन लागिरहेका छौं । जुन पक्षले हाम्रा माग सम्बोधन गर्छ, त्यसैलाई साथ र सहयोग रहन्छ ।’

सरकार र जसपाबीचको कार्यदल सत्ता समीकरणका विषयमा नभई निलम्बित सांसद रेशम चौधरीलगायत मधेस विद्रोह र थरुहट आन्दोलनका क्रममा राज्यबाट पक्राउ परी मुद्दा लगाइएका नेता–कार्यकर्ताको रिहाइ र संविधान संशोधनका विषयमा छलफल भएको महतोले बताए । सरकारी कार्यदलका सदस्य एवं पार्टी स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले पनि सत्ता समीकरणको विषयमा नभएर जसपाका राजनीतिक मुद्दाहरूका विषयमा मात्रै छलफल भएको बताए । सत्ता समीकरणका विषयमा सरकार पक्षसँग कुरा गर्नै नहुने पक्षमा रहेका यादव र भट्टराईले ठाकुरले गठन गरेको कार्यदलमा आफ्नो पक्षका सदस्य थप्न मानेका छैनन् । सरकारी पक्षमा नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई सदस्य छन् । जसपाबाट दुई जनामात्रै सदस्य छन् ।

बिहानको कार्यदलस्तरमा भएको छलफल सकारात्मक भएको नेम्वाङले बताए । ‘रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा भएका मुद्दामामिलाप्रति उहाँहरू गम्भीर हुनुहुन्छ । मुद्दा फिर्ता र थुनामा रहेका नेता–कार्यकर्ताको रिहाइको माग उहाँहरूले राख्नुभएको छ,’ संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले भने, ‘सरकार सकारात्मक छ । सरकार कानुनबमोजिम नै अघि बढ्छ ।’ तर उनले सत्ता समीकरणको विषयमा छलफल गर्न कार्यदल गठन नभएको दाबी गरे । जसपाका कार्यदल सदस्य कर्णले पनि सत्ता समीकरणका विषयमा कुरै नभएको बताए । ‘हाम्रो मुद्दालाई केन्द्रमा राखेर छलफल गरिरहेका छौं, सत्ता समीकरणको विषयमा कसैसँग छलफल गरेका छैनौं,’ उनले भने, ‘हाम्रो कार्यदल सरकार निर्माणका लागि छलफल गर्न बनेको होइन ।’

माओवादी अध्यक्ष दाहालले ठाकुर र महतोसँगको कुराकानीमा कांग्रेस र माओवादी केन्द्र गठबन्धनको विगतको सरकारले संविधान संशोधनको विधेयक अघि बढाएको बताउँदै विश्वास गर्न आग्रह गरेका थिए । प्रक्रिया मिलाएर चौधरीको रिहाइ गर्न पनि कुनै आपत्ति नहुने दाहालको भनाइ थियो । जवाफमा महतोले संविधान संशोधनका लागि दुई तिहाइको समर्थनमा सरकार बन्दासमेत बेवास्ता गरिएको कुरा उठाएका थिए । ‘दुई तिहाइ समर्थनको सरकार हुँदाका बखत तपाईंहरूले संविधान संशोधनलाई अघि बढाउन किन छलफल गराउन चाहनुभएन भनेर कुरा राख्यौं,’ महतोले भने, ‘उहाँले कांग्रेस, माओवादी र जसपा गठबन्धनको सरकार बनाउन सहयोग गर्नुपर्‍यो भन्नुभयो । हाम्रा मुद्दा पहिला सम्बोधन हुनुपर्छ भन्ने हाम्रो धारणा रह्यो ।’

प्रकाशित : फाल्गुन २७, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?