२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ओली सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुन सक्दैन : यादव 

‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्या होइन ? फेरी गर्ने ? त्यसैको लागि जन्मिया हामी ?' : राजेन्द्र महतो
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्य हुन नसक्ने जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । वर्तमान सरकारलाई जसपाले समर्थन दिने कुरा आइरहेका बेला अध्यक्ष यादवले त्यस्तो सम्भावना नरहेको बताएका हुन् । 

ओली सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुन सक्दैन : यादव 

प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा यादवले सरकारबाट ओलीलाई हटाउने पार्टीको मूल ध्येय रहेको बताए । ‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्दाहरूलाई समर्थन गर्दछ, संविधान संशोधनलाई अगाडि बढाउँछ ती शक्तिहरूसँग सहकार्य गर्ने हो,' यादवले भने, 'त्यो शक्ति भनेको नेकपा (एमाले) होइन । त्यो विगतदेखि हामीले अहिलेसम्म जाँचपरक, टेष्ट गरेर व्यवहारमा हेरिसकेका छौं ।'

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सांसद रेशम चौधरीलगायतमाथि लगाइएका मुद्दा फिर्ता, मधेश/थारुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सवालहरू केपी ओली समक्ष पटक पटक राखिएको भएपनि ओलीले ठग्ने बाहेक केही काम नगरेको बताएका थिए ।

आफ्ना माग जसले पुरा गर्छ, उसैलाई समर्थन गर्ने नेता महतोको भनाई थियो । उनले भने, ‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्या होइन ? फेरी गर्ने ? त्यसैको लागि जन्मिया हामी ? यी शासक, सम्भ्रान्तहरूलाई सित्तैमा समर्थन गर्न जन्म्या हो हामी ? मागहरू पुरा गरे हुन्छ, नत्र हुँदैन । हामीले भन्दै आएका मागहरु जसले पुरा गर्छ त्यसप्रति सहानुभुति हुन्छ ।'

प्रधानमन्त्री ओलीले मधेसका मागहरूलाई विगतमा इन्कार गर्दै आएको महतोको भनाइ थियो । 'रेशम चौधरी लगायतका मुद्दा फिर्ता, मधेश/थारुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सवालहरू आजको होइन नि, यो त पटक पटक राखेकै हो नि, केपी ओलीलाई नि राखेको, समर्थन पनि गरेको हो नि त । ठग्ने बाहेक केही काम गरेको छ केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ? काम गरेर देखाउनुपर्‍यो नि !’

जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्ना मागहरू सरकारसँग राखिएको बताएका छन् । विगतका सरकारसँग कुरा गर्दै आएको र वर्तमान सरकारसँग पनि माग पूरा गर्न आग्रह गरिएको उनको भनाइ थियो ।

नेकपा(एमाले) सँग सत्ता समीकरण बारे छलफल गर्न कार्यदल नबनेको कर्णको भनाइ थियो । ‘हामीले सरकारको 'स' पनि चर्चा गरेको छैन, अहिले कार्यदल बनेको छैन । तर हाम्रो जो इस्यु हो त्यो इस्युको लागि सबै सरकारसँग आग्रह गर्दै आएको कुरा हो र आज पनि आग्रह गरिएको हो । हामीले अहिले सत्ता समीकरणको कुनै कुरा गरेको छैन,’ उनले भने ।

सत्ता समिकरणबारे जसपाले अहिले कुनै पक्षलाई पनि समर्थन गरिनसकेको जसपाका नेताहरूले बताएका थिए । आफूहरूले विगतदेखि उठाउँदै आएका मुद्दा जसले सम्बोधन गर्छ र जोसँग एजेन्डा मिल्छ उनीहरूलाई नै समर्थन गर्नेबारे सोच्ने धारणा राखेका छन् ।

सर्वोच्च अदालतले नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र ब्युँताएपछि सरकार संकटमा परेको छ । माओवादीले औपचारिक रूपमा समर्थन फिर्ता नलिएपनि जुनसुकै बेला त्यो निर्णय गर्नसक्ने भएकाले प्रधानमन्त्री ओलीले जसपालाई सत्ता सहकार्यका लागि आग्रह गर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन २६, २०७७ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?