पेरिसडाँडामा दाहाल र जसपा नेताबीच छलफल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेरिसडाँडामा दाहाल र जसपा नेताबीच छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफल चलिरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

बुधबार र मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । सोही अनुसार दाहालले जसपा नेताहरुसँग छलफल गरेका हुन् । दाहालले मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए ।

देउवासँगको भेट सकारात्मक भएको र जसपासँग बुधबार पनि छलफल गरेपछि एउटा निष्कर्षमा पुग्न सकिने ब्रिफिङ दाहालले स्थायी कमिटी बैठकमा गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरिदिएपछि नयाँ सत्ता समिकरणको प्रयास अगाडि बढेका छन् ।

जसपाको पनि मंगलबार संसदीय दलको बैठक बसेको थियो । बैठकले रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मुद्दालाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो । बिहीबार जसपाको अध्यक्ष मण्डलको बैठक बस्दै छ ।

प्रकाशित : फाल्गुन २६, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्

वर्तमान सरकार टिकाउने नटिकाउने भन्ने बारेमा मलाई कसैले केही भनेको छैन : माधव नेपाल

इकान्तिपुर डेस्क

काठमाडौँ — एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान सरकार टिकाउने नटिकाउने भन्ने बारेमा आफूलाई कसैले केही नभनेको बताएका छन् ।

फाइल तस्बिर

संसद् भवनमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले सरकारको निरन्तरताको विषयमा छलफल गर्नका लागि सरकारका मानिसहरु आफूसँग कुरै गर्न नआएको बताएका हुन् । उनले भने,' मलाई सरकारका मान्छे भन्छन् तर मलाई नै थाहा छैन ।'

उनले पार्टीभित्रको विमतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताए । 'छलफल, बहस र विवादबाटै हामी कहिल्यै पनि डराउँदैनौं । यो राजनीतिज्ञहरुको विशेषता पनि हो,' उनले भने ।

एमाले केन्द्रीय कमिटी बैठक बोलाउनेबारे आफूलाई केही थाहा नभएको उनको भनाइ थियो ।

प्रकाशित : फाल्गुन २६, २०७७ १४:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×