चुनाव गराउने सर्तमा कांग्रेसले सरकार बनाउनुपर्छ : कोइराला

अर्जुन राजवंशी

बिर्तामोड — कांग्रेस नेता शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा मात्र कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताएका छन् । देशको अहिलेको निकासका लागि चुनावको विकल्प नभएको उनको भनाइ छ ।

चुनाव गराउने सर्तमा कांग्रेसले सरकार बनाउनुपर्छ : कोइराला

कोइरालाले अदालतको दोस्रो फैसलाले देश अन्योलको अवस्थामा पुगेको पनि बताए । बिर्तामोडमा बुधबार प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले ढिलोमा ०७८ चैतभित्र चुनाव गराउनुपर्नेमा जोड दिए । ‘चुनाव ०७८ चैतभन्दा पछि जान भएन । त्यसभन्दा पछि भयो भने देशले ठूलो नोक्सान बेहोर्छ,’ उनले भने, ‘देशको अहिलेको अन्योल अन्त्य गर्दै मुलुकलाई निकास दिन कांग्रेसले सरकार निर्माणको पहल थाल्नुपर्छ ।’

कांग्रेस केपी शर्मा ओलीसाग मिलेर सरकारमा जान नहुने पनि कोइरालाले बताए । ‘संविधान नै ध्वस्त गरेर अघि बढेका केपी ओलीसँग सरकार बनाउने विषयमा कांग्रेसले सहकार्य गर्नु हुँदैन,’ उनले भने । अहिलेको अवस्थामा कांग्रेस ‘पर्ख र हेर’ को अवस्थामा बस्न नहुने भन्दै कोइरालाले चुनावमुखी कार्यक्रम गर्नुपर्नेमा जोड दिए । संसद्को आयु दुई वर्ष भए पनि अहिलेको अवस्थामा संसद्ले बाँकी समय पूरा गर्न सक्ने अवस्था नभएको उनको दाबी छ ।

पत्रकारहरूसँग नेता कोइरालाले आफू पार्टीको १४औं महाधिवेशनका लागि माहोल बनाउन जिल्ला दौडाहमा निस्किएको बताए । ‘पार्टी सभापतिका लागि मेरो उम्मेदवारीबारे केन्द्रीय नेताहरूसँग एक किसिमले र जिल्लास्तरीय नेता–कार्यकर्तासँग अर्को किसिमले समर्थन जुटाउन म अहिले जिल्ला दौडाहमा छु,’ उनले भने । उनले पार्टीभित्र तेस्रो धारको नेतृत्व गर्ने नेता कृष्णप्रसाद सिटौला आफूसँग रहेको दाबी पनि गरे ।

प्रकाशित : फाल्गुन २६, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?