३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

कर्णालीमा ३ छोराछोरी सहित आमा मृत फेला

ज्योति कटुवाल

दैलेख — आठबीस नगरपालिका–३, निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका तीन छोरा–छोरी कर्णाली नदीमा मृत फेला परेका छन् ।

कर्णालीमा ३ छोराछोरी सहित आमा मृत फेला

आइतबार नदीमा हाम फालेको दाबी गरिएकामध्ये चार जनाको शव भेटिएको प्रहरीले बताएको छ । ६ वर्षीया छोरी भने अझै बेपत्ता छिन् ।

बडुवालले आइतबार मध्यपहाडी लोकमार्ग अन्तर्गतको दैलेख र अछाम जोड्ने पुल नजिकैबाट हाम फालेको प्रदेश प्रहरीको भनाइ छ ।

पुलभन्दा झण्डै २ सय मिटर दूरीमा पाँचै जनाको चप्पल भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

दुई बालिकाको शव सोमबार माछा मार्ने जालमा भेटिएको थियो भने सुकी र उनका छोराको शव मंगलबार अछामको पञ्चदेवल नगरपालिकास्थित टोट्केसाल नजिकैको कर्णाली नदीको भंगालोमा भेटिएको हो । सुकीसहित १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता र ८ वर्षीया ललितको शव भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले बताए । उनका अनुसार ६ वर्षीया बालिका रजनी अझै बेपत्ता छिन् ।

घटनालगत्तै कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी वसन्त पन्तलगायतको टोली पनि घटनास्थल पुगेको छ । बेपत्ताको खोजीका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक वर्षदेखि दैनिकजसो पतिले मदिरा सेवन गरी कुटपिट गरेको खुल्नामा आएको र सोही कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । भारतमा मजदुरी गर्ने उनका पति मानसिंह कोरोना महामारीपछि गत चैतमा घर फर्किएका थिए ।

स्थानीयका अनुसार सुकीले नै गाउँमा मजदुरी गरी ६ जनाको परिवारको पालनपोषण गरिरहेकी थिइन् । ‘पतिको यातना सहन नसकी उनले आत्महत्याको बाटो रोजिन्,’ वडाध्यक्ष प्रयागबहादुर शाहीले दाबी गरे, ‘मानसिंह भारतबाट फर्केपछि घरमा दिनदिनै झगडा हुने गरेको रहेछ ।’ उनका अनुसार मानसिंहले छोराछोरीलाई पनि दैनिकजसो कुटपिट गर्ने गरेका थिए ।

आठबीस नगरपालिका उपप्रमुख दिपा बोहराले घरेलु हिंसाका कारण कहालीलाग्दो घटना भएको बताइन् । ‘सुकीले घर छोडेको दिन पनि उनका पतिले सबैजनामाथि कुटपिट गरेको खुलेको छ,’ उनले भनिन्, ‘यस्ता घटना हुन नदिन महिलामाथिको हिंसा रोक्न जरुरी छ ।’

जिल्ला प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठका अनुसार घटनास्थल अछाममा पर्ने भएकाले चारैजनाको शव पोष्टमार्टमका लागि अछाम पठाइएको छ । उनका अनुसार मुुद्दा पनि अछाममै चल्नेछ । घटनाको अनुसन्धानका लागि मानसिंहलाई सोमबार पक्राउ गरिएको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २५, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?