कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ओली र दाहाल अध्यक्ष रहेको 'नेकपा' निर्वाचन आयोगद्वारा खारेज

एकता प्रक्रिया रद्द भएकाले दुवै दल अलग–अलग रहेको संसद् सचिवालयलाई जानकारी
राजेश मिश्र

काठमाडौँ — निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविककै जस्तो अलग–अलग दलका रूपमा कायम रहेको निर्णय गरेको छ । आयोगले त्यसबारे जानकारी संघीय संसद् सचिवालय र सातवटै प्रदेशसभा सचिवालयलाई मंगलबारै गराएको छ ।

ओली र दाहाल अध्यक्ष रहेको 'नेकपा' निर्वाचन आयोगद्वारा खारेज

सर्वोच्च अदालतले पार्टीको नामसम्बन्धी विवादमा आइतबार फैसला गर्दै दुवै दललाई एकीकरणपूर्वको अवस्थामा पुर्‍याइदिएपछि आयोगले त्यसलाई कार्यान्वयन गर्दै सरोकारवाला सबै पक्षलाई त्यस विषयमा जानकारी दिएको हो ।

आयोगको निर्णयसँगै संघीय संसद्मा अब एमाले, कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरी चार वटा राष्ट्रिय दलको प्रतिनिधित्व भएको छ । आयोगको पत्रसँगै संसद् सचिवालयले अब एमाले र माओवादी केन्द्रका सांसदलाई छुट्टाछुट्टै संसदीय दल, छुट्टाछुट्टै बस्ने स्थानलगायतको व्यवस्थापन गर्नुपर्नेछ ।

२०७४ को आमनिर्वाचनमा चुनावी गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएको थियो । आयोगले जेठ २३ गते उक्त एकीकरणलाई मान्यता दिँदै एकीकृत पार्टीका नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दिएको थियो । तर उक्त नाम आफ्नो दलसँग मिलेको भन्दै आयोगमा पहिलेदेखि दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले नाम जुधेको ठहर गर्दै झन्डै तीन वर्षपछि एकीकरण प्रक्रिया रद्द गरिदिएको हो ।

आयोगले एमाले र माओवादी केन्द्रलाई नयाँ ढंगबाट एकीकरण प्रक्रियामा आउने भए १५ दिनभित्र आ–आफ्नो केन्द्रीय कमिटीबाट निर्णय गरेर निवेदन दिनसमेत भनेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले सर्वोच्चको फैसलालाई हुबहु कार्यान्वयनको प्रक्रियामा लगेको र केही निर्णय गरेर सम्बन्धित पक्षलाई जानकारी गराइएको बताए । ‘अब एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएका छन्,’ उनले भने ।

एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नामक राजनीतिक दल उत्प्रेषणको आदेशबाट बदर भएकाले आयोगको दर्ता नम्बर १४५ मा रहेको नेकपा दल खारेज गर्ने निर्णय आयोगले गरेको छ । त्यसको जानकारी आयोगले दुवै दलका अध्यक्ष क्रमशः केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पनि दिएको छ । आयोगले २०७५ जेठ २३ मा एकीकरणको निर्णयसम्बन्धी राजपत्रमा प्रकाशित सूचना पनि खारेज गर्ने निर्णय लिएको छ । एमाले र माओवादी केन्द्र २०७५ जेठ २३ पूर्वको अवस्थामा फर्किएको सूचना राजपत्रमा प्रकाशित गर्ने आयोगको निर्णय छ 

आयोगले दुई दलको एकीकरण पछाडि अरूले दर्ता गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नामका दललाई नयाँ नाम प्रस्ताव गर्न पत्र लेखेको छ । सर्वोच्चको फैसलाले ती दलले पाएको नाम साविककै दलको कायम भएपछि नाम परिवर्तनका लागि पत्र लेखिएको आयुक्त भण्डारीले बताए । सन्ध्या तिवारी अध्यक्ष रहेको एमाले र गोपाल किराती अध्यक्ष रहेको माओवादी केन्द्र आयोगमा दर्ता छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार एउटै नामका दुइटा दल नरहने भएकाले १५ दिनभित्र नाममा सुधारसहितको विवरण पेस गर्न आयोगले भनेको हो ।

हेर्नुहोस् आयोगको विज्ञप्ति

प्रकाशित : फाल्गुन २५, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?