कोमल वलीले रघुजी पन्तविरुद्ध दायर गरिन् गाली बेइज्जतीको मुद्दा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोमल वलीले रघुजी पन्तविरुद्ध दायर गरिन् गाली बेइज्जतीको मुद्दा

इकान्तिपुर डेस्क

काठमाडौँ — राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तले आफ्नो मानहानी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी छिन् ।

वलीले मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी कसुरमा पन्तविरुद्ध मुद्दा दायर गरेकी हुन् । उनले मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०५, ३०६ र ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।

नेता पन्तले फागुन १५ गते सामाखुसीमा आयोजित एक कार्यक्रममा वलीबारे विवादित टिप्पणी गरेका थिए । उनले वलीले कुनै योगदानबिना नै राष्ट्रिय सभासम्मको यात्रा गरेको बताएका थिए । उनले भनेका थिए, ‘हाम्रो पार्टीमा २०औं वर्ष देखि विवाह नगरी महिलाहरु लागेका छन् । केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद् त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरु न एक पटक राष्ट्रिय सभाको सदस्य पनि हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि हुन पाइन्, केन्द्रीय कमिटीको सदस्य पनि हुन पाइन् ।’

वलीले फिरादपत्रमा मुलुकी अपराध सहिंता २०७४ को दफा ३०५(१), (२)(क) बमोजिम कसुर गरेको दाबी गर्दै पन्तलाई दफा ३०७(१) बमोजिम सजाय हुनुपर्ने मागसमेत गरेकी छिन् । मुलुकी अपराध संहिताको दफा ३०७(१) मा ‘कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई २ वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ कानुनी प्रावधान छ ।

तर वलीले भने नेता पन्तले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेकाले कानुनी प्रावधानअनुसार थप एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गरेकी छिन् ।

प्रकाशित : फाल्गुन २५, २०७७ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्

चुरिया सुरुङछेवैमा इन्जिनियर थापाको सालिक

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिकास्थित चुुरिया सुरुङ बनाउने नेपालकै पहिलो ग्य्राजुएट इन्जिनियर डिल्लीजंग थापाको अर्धकदको सालिक निर्माण गरिएको छ । हेटौंडा उपमहानगरपालिका—१५ मा स्थित चुरियामाईमा सुरुङछेवैमा बनाइएको सालिक मेयर हरिबहादुर महतले मंगलबार अनावरण गरे । हेटौंडा उपमहानगरपालिकाले करिब १० लाखको लागतमा सालिक बनाएको हो । 

‘सुरुङ निर्माणको डिजाइन गर्ने इन्जिनियर थापाको चुरियामाई मन्दिर परिसर एवं सुरुङछेउमै उपमहानगरपालिकाले अर्धकदको सालिक राखेको हो,’ मेयर महतले भने । दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङ भएकाले यसलाई विश्वसामु चिनाउन उपमहानगरपालिकाले विगतदेखि नै संरक्षण कार्य गर्दै आएको उनले बताए ।

चिफ इन्जिनियर थापाले आफ्नो कार्यकालमा देशका १२ वटा महत्त्वपूर्ण भौतिक संरचनाको डिजाइनका साथै निर्माण गराएका थिए । हेटौंडा—काठमाडौं रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौंमा रहेका राणाजीहरूका दरबार, नेपालको प्रथम रेल वे जनकपुर–जयनगरको पनि उनले नै डिजाइन गरेका थिए ।

चुरियामाई सुरुङको निर्माण १०४ वर्षअघि अर्थात् सन् १९१७ मा गरिएको थियो । थापाले नै अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए । बक्स कटिङ गर्न उपकरण नभएकाले त्यति बेला मानिसद्वारा नै सुरुङ खनिएको थियो । चुरियामाई मन्दिर पनि इन्जिनियर थापाले नै बनाएका हुन् ।

पथलैया—हेटौंडा सडक निर्माण भएपछि यो सुरुङ सञ्चालनमा आउन छाडेको छ । १० फिट उचाइ रहेको करिब ७ सय ८५ फिट लामो सुरुङ निर्माण गर्न २ वर्ष लागेको थियो । एक दशकभन्दा बढी सयम यो सुरुङ हुँदै साना हलुका सवारी आवत—जावत गरे ।

मकवानपुर र बाराको सिमाना पर्ने चुरियामाई मन्दिरछेउको सुरुङ दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङ भएको विश्वविख्यात भूगर्भविद् डा. टोनी हेगनले आफ्नो चर्चित पुस्तक ‘नेपाल’मा उल्लेख गरेका छन् । २४ अक्टोबर १९५० का दिन रक्सौल नाका हुँदै अमलेखगन्जसम्म सानो रेल, त्यहाँबाट सानो जिपमा भीमफेदी आउने क्रममा चुरिया डाँडाको उकालो चढ्ने क्रममा देखेको मानवनिर्मित सुरुङले आफू आश्चर्यमा परेको उनले जनाएका छन् । हेगनले लेखेका छन्, ‘नेपालभन्दा ठूलो भारतले पनि सुरुङ प्रविधि भित्र्याउन नसकेको अवस्थामा नेपाल सफल भएको छ ।’

सुरुङ संरक्षण अभावमा पुरिने अवस्थामा पुगेपछि उपमहानगरपालिकाले करिब साढे ५ लाख रुपैयाँको लगानीमा बाहिरी भागको संरक्षण गरेको छ । ‘पहिरो गएर ऐतिहासिक सुरुङ पुरिएला भनेर उपमहानगरपालिकाको सहयोगमा संरक्षणको काम गरेका हौं,’ चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण समितिका अध्यक्ष प्रेम भोम्जनले भने, ‘सुरुङको भित्री भागको काम पुरातत्त्व विभागले नै गर्ने भएकाले हामीले बाहिरी काम मात्र गरेका हौं ।’ वाग्मती प्रदेश सरकारले पनि सुरुङ संरक्षण गर्न बजेट विनियोजन गरेको छ ।

प्रकाशित : फाल्गुन २५, २०७७ १२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×