२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चैत ९ देखि गैंडा गनिँदै

गैंडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन गैंडा गणना गरिन्छ, जसको निष्कर्षअनुसार संरक्षणको थप रणनीति अपनाइन्छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — कोरोना महामारीका कारण गत वर्ष स्थगित एकसिंगे गैंडा गणना चैत ९ देखि सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गर्ने निर्णय गरेको विभागका सूचना अधिकारी तथा पर्यावरणविद् हरिभद्र आचार्यले बताए ।

चैत ९ देखि गैंडा गनिँदै

वन तथा भूसंरक्षण विभाग तथा प्राविधिक सहयोग गर्ने संस्थाहरू राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), डब्लूडब्लूएफ नेपाल र जेडएसएल नेपाललगायतका प्रतिनिधि र विशेषज्ञसँग आइतबार छलफल गरी विभागले गणनाको मिति तय गरेको हो ।

हरेक ५ वर्षमा गैंडा गणना गरिन्छ । गत वर्ष विभागले चैत १० देखि गणना गर्ने गरी सबै प्राविधिक तयारी पूरा गरे पनि लकडाउन घोषणापछि रद्द गरिएको थियो । गैंडा पाइने निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकहरूले एक–एक गरी गैंडा गन्छन् । यसका लागि हात्ती, दूरबिन र क्यामेरालगायतको प्रयोग गरिन्छ । गैंडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन गैंडा गणना गरिन्छ । गणनाको निष्कर्षअनुसार संरक्षणको रणनीति अपनाइन्छ ।

गैंडा गणनाका लागि सरकारले गत वर्षदेखि बजेट विनियोजन गर्न थालेको छ । यसअघि संरक्षणमा सघाउने दातृ निकायसँग सहयोग लिइन्थ्यो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा गरी चारवटा निकुञ्जमा गैंडा छन् । पछिल्लो पटक सन् २०१५ को गणनाअनुसार नेपालमा कुल ६ सय ४५ वटा गैंडा थिए । गैंडा पर्यटकको मुख्य आकर्षण रहँदै आएका छन् । गैंडा र बाघकै कारण चितवन र बर्दिया निकुञ्ज वन्यजन्तु सफारीका लागि विश्वमै प्रख्यात छन् ।

विभागले गणना सुरु गरेको एक महिनाभित्रै प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । गैंडाको पाँचवर्षे कार्ययोजना (सन् २०१७–२०२१) मा हरेक ४–५ वर्षमा गैंडा गणना गर्ने, यसको जीवनचक्र र बासस्थानबारे नियमित अनुसन्धान गर्ने, जलवायु परिवर्तनले पार्ने र पार्न सक्ने खतराबारे अध्ययन गर्ने र मिचाहा प्रजातिका बिरुवाको नियन्त्रण र व्यवस्थापनमा अध्ययन गर्ने उल्लेख छ ।

सरकारले पहिलोपटक सन् १९९४ मा गैंडा गणना गरेको थियो । त्यसपछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना भएको थियो । पछिल्लो गणनाअनुसार चितवन निकुञ्जमा मात्रै ६ सय ५ गैंडा भेटिएका थिए । उक्त गणनापछिका चार वर्ष यहाँ गैंडाको शून्य सिकार भए पनि कालगति, प्राकृतिक र अन्य कारणले मर्ने संख्या उकालो लागिरहेको छ । चोरीसिकारबाहेक आहारा, बासस्थान, जलवायु परिवर्तन गैंडाका लागि मुख्य संकट रहेको विभिन्न अध्ययनले देखाएका छन् । चितवन निकुञ्जमा धेरै गैंडा अहिले पश्चिम क्षेत्र (कसराभन्दा पश्चिम) तिर सरेको बताइन्छ । ‘पूर्व क्षेत्रमा गैंडाको संख्या पातलो भएको छ,’ डब्लूडब्लूएफ नेपालका वन्यजन्तुविद् शिवराज भट्टले भने, ‘यसले के संकेत गर्छ भने त्यस क्षेत्रमा गैंडा बस्न सक्ने अवस्था नै छैन ।’

गत साउनयता चितवनमा २४ वटा गैंडा मरेका छन् । तीमध्ये ४ वटा चोरीसिकारीका कारण मरेको पुष्टि भएको छ । करिब १ हजार २ सय ४९ दिन गैंडाको शून्य सिकार (जिरो पोचिङ) भएको चितवन निकुञ्जमा लकडाउनको मौका छोपेर तस्करहरू सलबलाएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गैंडा मार्ने र खागको व्यापार गर्ने दर्जनभन्दा बढीलाई पक्राउ गरिसकेको छ भने फरार १६ जनाको नामसमेत सार्वजनिक गरेको छ ।

गैंडा गणना वर्ष र संख्या

वर्ष
संख्या
सन् २०१५
६४५
सन् २०१०
४३५
सन् २००५
४०९
सन् २०००
६१२
सन् १९९५
४६६
सन् १९९०
३५८
सन् १९८५
३१०
सन् १९८०
३१०
सन् १९७५
१४७
सन् १९७० १०८
सन् १९६५ १००
सन् १९६० ३००
सन् १९५५ ४००
सन् १९५० ८००

कहाँ कति गैंडा ?

चितवन राष्ट्रिय निकुञ्ज -६०५

बर्दिया राष्ट्रिय निकुञ्ज-२९

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज-८

पर्सा राष्ट्रिय निकुञ्ज-३

प्रकाशित : फाल्गुन २५, २०७७ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?