कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ब्युँतिए एमाले कार्यालय

प्रदेश १, वाग्मती र लुम्बिनीका अधिकांश जिल्लामा नेकपा कार्यालय बनाइएका साबिक एमालेका पार्टी कार्यालयका बोर्ड फेरिएर पुरानै राखिएका छन् । कतिपयले भने बोर्ड फेर्न केन्द्रको आदेश पर्खने भएका छन् । 
प्रदेश ब्युरो

काठमाडौँ — सर्वोच्च अदालतको आइतबारको फैसलापछि सत्तारूढ नेकपा साबिक एमाले र माओवादी केन्द्रमा अलग भएपछि केन्द्रीय तहका नेताहरू अन्योलमै छन् । जिल्लास्तरमा भने नेता–कार्यकर्ताले पार्टी छुट्याएर कार्यालय स्थापना र बैठक सञ्चालन गर्न थालेका छन् । 

ब्युँतिए एमाले कार्यालय

धेरैजसो जिल्लामा सोमबार तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेको बोर्ड राखिएका छन् । केही जिल्लामा एकाध दिनमै एमाले कार्यालय सञ्चालन गर्ने तयारी स्थानीय नेता–कार्यकर्ताले गरिरहेका छन् ।

विराटनगरको पाञ्चालीस्थित मोरङ नेकपा कार्यालयमा सोमबार एमालेको बोर्ड राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बोर्ड ‘उद्घाटन’ गरे । दुई दल मिलेर नेकपा बन्नुअघि पनि उक्त भवनमा एमालेकै पार्टी कार्यालय थियो । खोटाङमा नेकपा पार्टी कार्यालय रहेको पुष्पलाल स्मृति भवन एमालेले ‘कब्जा’ गरेको छ । यसअघि राखिएको नेकपाको साइनबोर्ड हटाइएको छ ।

उदयपुरको त्रियुगा–१३ फुलचोकस्थित नेकपा कार्यालयमा एमाले पार्टीको साइनबोर्ड राखिएको छ । कार्यालय पूर्ववत् रूपमा खोलिएको साथै सूर्य चिह्न अंकित झन्डा पनि राखिएको पार्टी सचिव कुशलबाबु बस्नेतले बताए । ताप्लेजुङमा जिल्लामा छुट्टै कार्यालय खोलेर नेकपाको बोर्ड राखेको ओली समूहले मंगलबार पार्टी कार्यालयको बोर्ड फेर्ने तयारी गरेको छ ।

ओली समूहका अध्यक्ष भूपेन्द्र थेबेले मंगलबार पार्टीको बोर्ड फेर्ने बताए । ‘एमालेको पुरानै बोर्ड भेटिएन, नयाँ लेख्न लगाएका छौं,’ उनले भने । पार्टी एकीकरण हुँदा विजय बनेम नेकपाको जिल्ला अध्यक्ष थिए । उनी तत्कालीन माओवादी केन्द्रका हुन् । तत्कालीन एमालेका उपाध्यक्ष मात्रिकाप्रसाद भट्टराई भने कसैले पनि बोर्ड राख्नु उत्ताउलो हुने बताउँछन् । मात्रिका पूर्वमन्त्री योगेश भट्टराईका दाजु हुन् । पार्टी एकीकरणअघिका एमाले अध्यक्ष र एकीकरणपछि सचिव भएका बलबहादुर साम्सोहाङले भने यो दुःखद घटना भएको प्रतिक्रिया दिए । अहिले अध्यक्षका रूपमा आफूले बधाई पाइरहँदा पनि दुःख लागेको उनले बताए ।

प्रदेश २ का आठै जिल्लामा प्रधानमन्त्री केपी ओलीका समर्थकले तत्कालीन नेकपा एमालेको कार्यालयमा पुगेर हर्ष मनाएका छन् । बारामा सोमबार पार्टी कार्यालयको बोर्ड नै फेर्ने तयारी गरे पनि एमालेबीचकै विवादले रोकियो । धनुषामा एमालेको साबिक पार्टी कार्यालयमा टाँगेको नेकपाको बोर्ड हटाइएको नेता राजकिशोर यादवले बताए । सर्लाहीमा ओली समूहका नेताहरूले पार्टीको ब्यवस्थापन र अगामी रणनीति र बारे केन्द्रीय नेतृत्वसँग छलफल भइरहेको बताए ।

लमजुङमा एमालेको बैठक

गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा र पर्वतमा सोमबार नेकपा एमाले कार्यालय सञ्चालनमा ल्याइएको छ । लमजुङमा बोर्ड नफेरे पनि तत्कालीन एमाले अध्यक्ष धनञ्जय दवाडीले पदाधिकारी बैठकको आयोजना गरे ।

गत पुस ६ देखि बन्द नेकपा जिल्ला कमिटी लमजुङको कार्यालय सोमबारदेखि सञ्चालनमा ल्याइएको हो । पुस ५ गते प्रतिनिधिसभा विघटनसँगै ओलीनिकट विद्यार्थीले तत्कालीन नेकपा अध्यक्ष मधुमाया अधिकारीलाई बाहिर बोलाएर कार्यकक्षमा तालाबन्दी गरेका थिए । पार्टी कार्यालयमा बसेर दाहाल–नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओली एवं सरकारविरोधी काम गरेको भन्दै अधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको थियो ।

त्यसयता बन्द पार्टी कार्यालयलाई तत्कालीन नेकपा एमालेका पदाधिकारीले सोमबार खुलाएका हुन् । कार्यालय सञ्चालनमा ल्याए पनि नेकपाको बोर्ड भने झिकिएको छैन । पार्टी केन्द्रीय कमिटीले तत्कालीन माओवादी केन्द्रका नेता अधिकारीलाई अध्यक्ष र तत्कालीन एमाले अध्यक्ष धनञ्जय दवाडीलाई पार्टी सचिवको जिम्मेवारी दिएको थियो । तत्कालीन एमालेले निर्माण गरेको मदन–आश्रित स्मृति भवनमा एमाले कार्यालय रहँदै आएकामा पार्टी एकीकरणको प्रक्रियासँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय राखिएको थियो । कार्यालय खुलेसँगै सोमबार पार्टी केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीको प्रमुख आतिथ्यतामा तत्कालीन एमाले अध्यक्ष दवाडीले पदाधिकारी बोलाएर बैठक राखे ।

पर्वतमा नेकपाको साइनबोर्ड हटाएर एमालेको राखिएको छ । ओली समूहका जिल्ला सचिव गोविन्द पहाडीसहित केही कार्यकर्ताले सोमबार कुश्मा बजारको मैत्रीचोकस्थित कार्यालयमा नयाँ बोर्ड राखेका हुन् । ‘अब आधिकारिक पार्टी एमाले नै भएपछि पुरानो बोर्ड ल्याएर मेटिएका ठाउँमा पुनर्लेखन गरेका हौं,’ पहाडीले भने । गत पुस ५ मा संसद् विघटनसँगै उक्त कार्यालयमा ताला लगाइएको थियो ।

पार्टी कार्यालयका ताला खुले

वाग्मती प्रदेशका विभिन्न जिल्लास्थित पार्टी कार्यालयमा राखेको नेकपाको बोर्ड फाल्दै एमालेको राखेर पार्टी कार्यालय सञ्चालनमा ल्याइएका छन् । प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपामा विवाद चर्किएसँगै पार्टी कार्यालयहरू बन्द गरिएका थिए । हेटौंडाको पुष्पलाल पार्कस्थित नेकपा एमाले मकवानपुरको पार्टी कार्यालय खोलेर नयाँ साइनबोर्ड राखिएको छ ।

काभ्रेमा पनि ओली समूहका नेता–कार्यकर्ताले एमालेको साइनबोर्ड राखेर पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन् । चितवनमा बुधबारबाट एमाले पार्टी कार्यालय सञ्चालनमा ल्याउने तयारी छ । ओली समूहले पुस ११ मा कार्यालयमा तालाबन्दी गरेको थियो । अर्को समूहले ताला खोलेको थियो । त्यसपछि कसैलाई पनि बस्न नदिने गरेर कार्यालयमा प्रहरीले पहरा दिँदै आएको थियो । धादिङस्थित पार्टी कार्यालयको ताला पनि सोमबार खुलेको छ ।

प्रदेशबाहेक सबैतिर एमालेको बोर्ड

लुम्बिनी प्रदेशका नेकपा जिल्ला कार्यालयका बोर्ड फेरिएका छन् । नेकपाको प्रदेश कार्यालय रहेको बुटवलको सुक्खानगरस्थित कार्यालयबाहेक अधिकांश जिल्ला कार्यालयका बोर्ड फेरिएका हुन् । जिल्लास्तरमै रहेका नेता–कार्यकर्ताले केन्द्रको सर्कुलरबिना नै बोर्ड फेरेका छन् । लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, दाङ, बाँके, पश्चिम नवलपरासीलगायत जिल्लामा सोमबार नै बोर्ड फेरिएको हो । लुम्बिनी अञ्चलका अधिकांश जिल्लामा नेकपा एमालेकै भवनमा नेकपाको कार्यालय सञ्चालन हुँदै आएका थिए । त्यसैले सबै जिल्लामा बिनाअवरोध नै बोर्ड फेरिएको हो । पूर्वी रुकुम नयाँ जिल्ला भएकाले अहिलेसम्म व्यवस्थित कार्यालय नै छैन । रोल्पा, कपिलवस्तु, अर्घाखाँची र प्यूठानमा मंगलबार फेर्ने तयारी छ ।

प्रादेशिक कार्यालय रहेको रूपन्देहीको बुटवल सुक्खानगरस्थित कार्यालयमा भने सोमबार बोर्ड फेरिएको छैन । नेकपाका बुटवल नगर कमिटी अध्यक्ष बाबुराम पन्थीले केन्द्रको निर्देशन नआएसम्म बोर्ड नफेर्ने छलफल भएकाले सर्कुलर कुरिएको बताए । ‘आज नै त फेरिएन,’ उनले भने, ‘केन्द्रको सर्कुलर पर्खंदै छौं ।’ पश्चिम नवलपरासीको कार्यालय यसअघि नै ओली समर्थित नेकपाका कार्यकर्ताले कब्जा गर्दै आएका थिए । सोमबार पनि पूर्वएमाले कार्यकर्ताले र्‍यालीसहित कार्यालय पुगेर बोर्ड फेरेका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७७ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?