कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्कानलाई अन्तर्राष्ट्रिय अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — एसिडपीडित मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्लूओसी) अवार्ड प्रदान गरिएको छ ।

मुस्कानलाई अन्तर्राष्ट्रिय अवार्ड

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार बेलुका अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिंकनको ‘भर्चुअल’ सहभागितामा काठमाडौंमै अवार्ड प्रदान गरिएको हो ।

ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानवअधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलालाई अमेरिकी विदेश मन्त्रालयले १४ वर्षदेखि यो अवार्ड प्रदान गर्दै आएको छ ।

अवार्ड प्रदान गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा मुस्कानले दागकै कारण आफू विश्वभर चिनिएको र पुरस्कारले झनै आत्मबल बढेको बताइन् । ‘यो दागले गर्दा म विश्वभर चिनिएको छु र यो दागलाई मचाहिँ आफ्नो शक्तिजस्तो मान्छु,’ उनले भनिन्, ‘हाम्रो सुन्दरता महत्त्वपूर्ण हुँदैन, सपना ठूलो हो । सपना कहिल्यै चाउरी पर्दैन । सुन्दरता जुन छ, त्यो चाउरी परिहाल्छ, त्यही भएर म सपनालाई ठूलो मान्छु ।’ आगामी दिनमा एसिड आक्रमणपीडित मात्र होइन, महिलामाथि हुने हरेक हिंसा र अपराधविरुद्ध आवाज उठाउने उनले बताइन् । यसका लागि घर, समाज र राष्ट्र एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मुस्कानले पाएको प्रतिष्ठित पुरस्कारले महिला, बालबालिकाहरूलाई लामो समयदेखि असर पुर्‍याइरहेको डरलाग्दो अभ्यासलाई नेपालले सम्बोधन गरेको र सबैका लागि प्रेरणा भएको धारणा राखे । ‘नेपालका लागि यो महत्त्वपूर्ण समय हो, यो महिला, बालबालिका र संसारभरका सबैका लागि मुस्कानबाट प्रेरित हुने र अन्यायविरुद्ध उठ्न महत्त्वपूर्ण समय हो,’ उनले भने, ‘अमेरिका यो विश्वास गर्छ कि साहसी महिलाहरूले संसारलाई असल प्रेरणा दिने काम गर्छन् ।’

१५ वर्षको छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गरेकामा मुस्कानमाथि डेढ वर्षअघि एसिड हमला भएको थियो । अनुहार, छाती र हातमा गहिरो चोट लागेकी उनी त्यसयता निरन्तर पीडितको घाउचोट होइन, अपराधीको सोच हेरेर सजाय दिनुपर्ने अभियानमा लागेकी थिइन् ।



फोटो सौजन्य : नेपालस्थित अमेरिकी दूतावास ।

प्रकाशित : फाल्गुन २५, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?