पार्टीको नाम र चुनाव चिह्नको चिन्ता नगर्नुस्, सही राजनीतिक विचार लिएर आउनेछौँ : झाँक्री- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टीको नाम र चुनाव चिह्नको चिन्ता नगर्नुस्, सही राजनीतिक विचार लिएर आउनेछौँ : झाँक्री

सुनिता बराल

महोत्तरी — साविकको नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले सर्वाेच्चको फैसलाले आफूहरुलाई कुनै संकट नआएको बताएकी छन् ।

१ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) का अवसरमा अखिल नेपाल महिला संघ महोत्तरीले बर्दिवासमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता झाँक्रीले आफूहरुलाई नपरेको र संकट सत्तामा रजगज गरिरहेकालाई पर्ने बताइन् ।

‘हामी दुई महिनादेखि सडकमा थियौँ । हामीलाई के संकट परोस् ?,’ झाँक्रीले भनिन्, ‘संकट त उनीहरुलाई पर्नेछ जो अहिले सत्तामा रजगज गरिरहेका छन् ।’

मागदाबी नै नगरिएको विषयमा प्रवेश गरेर पार्टीको आन्तरिक जीवनमा सर्वाेच्च प्रवेश गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर प्रश्न उब्जिएकाले आइतबार सर्वाेच्चले गरेको फैसलामा आफूहरु पुनरावलोकनमा जाने पनि झाँक्रीले बताइन् ।

‘म जुन दलको सदस्य हुँ मेरो राजनीतिक असहमति मैले पार्टीभित्र राख्न पाउने कि नपाउने ?,’ झाँक्रीले सर्वाेच्चलाई प्रश्न गरिन्, ‘नेकपा नाम हामीले नपाउने निर्णयसम्म हुन सक्थ्यो होला तर राजनीतिक असहमति राखेर विद्रोह गरिरहेकै आधारमा मेरो पार्टी र चुनाव चिह्न नै खोस्नु ममाथि कुन न्याय भयो ?’ दुई महिनादेखि विद्रोह गरिरहेको पार्टीभित्र धकेल्ने गरी भएको निर्णय जनता र व्यवस्थामाथि नै आघात पुग्ने खालको निर्णय भएकाले यस फैसलाको समीक्षा हुनुपर्ने उनले बताइन् ।

अब पार्टीको नाम र चुनाव चिह्न के हुन्छ भनेर चिन्ता गर्नेलाई यसको चिन्ता नलिन उनले आग्रह गरिन् । ‘पार्टीको नाम र चुनाव चिह्न के हुन्छ भनेर चिन्ता नगर्नुस्, हामी सही राजनीतिक विचार र सिद्धान्त लिएर आउनेछौँ ।’ लोकतन्त्रको सवालमा र जनताको माझमा गलत विचार र सिद्धान्त लिएर अघि बढ्नेलाई इतिहासले क्षमा नगर्ने उनले बताइन् ।

महोत्तरीमा बोक्सीको आरोपमा मलमुत्र खुवाएर दुर्व्यवहार गरिएकी मरणीदेवी र बलात्कार पछि हत्या भएकी बर्दिवासकी गुलाबसा खातुनकाजस्ता हजारौं घटनाको अन्त्य गराउँदै न्याय दिने र गरिब, दलित र शोषित वर्गको पक्षमा काम गर्ने पार्टीको रुपमा आफ्नो पार्टी रहने उनले बताइन् ।

राज्यले महिलाको हकअधिकार र सुरक्षाको प्रत्याभूति गराउन नसकेको भन्दै उनले महिलाले यसविरुद्ध सङ्घर्ष गरिराख्न पर्ने बताइन् ।

प्रकाशित : फाल्गुन २४, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्

पार्टी एकता जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौं : रघुजी पन्त

कान्तिपुर संवाददाता

काठमाडौँ — साविक नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्च अदालतको फैसला पछिको परिप्रेक्ष्यमा एमाले र माओवादी केन्द्रबीच एकताको सम्भावना खोज्नुपर्ने बताएका छन् । सोमबार कोटेश्वर पेरिसडाँडामा जारी साविक दाहाल–नेपालसमूहको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन पुष्पमल दाहाल र केपी ओली बसेर सम्भावना खोज्नु पर्ने धारणा आफूले राखेको पन्तले बताए ।

‘जसरी एकता प्रक्रिया सुरु भएको थियो, त्यो एकता प्रक्रिया आफैमा राम्रो थियो । एकताले लोकतन्त्र, नेपालको संविधानलाई जोगाएर जान सकिन्छ । सर्वोच्च अदालतको फैसलापछिको नयाँ परिप्रेक्ष्यमा फेरि पनि कुराकानी गरेर एकता जोगाउने सम्भावना छन् भने खोज्नुपर्छ भनेको छु,’ पन्तले भने, ‘तर, त्यसको लागि फेरि पनि कमरेड प्रचण्ड र कमरेड केपी ओलीले कुराकानी अगाडि बढाउनु पर्‌यो । बसेर छलफल गर्नुपर्‌यो ।’

अदालतले अलि बढी राजनीतिक फैसला गरेको भन्दै पन्तले फैसला मान्नै पर्ने बताए । ‘सर्वोच्चको फैसला सम्मान गर्नुपर्‌यो । तर, अलिबढी राजनीतिक भयो भन्ने छ । बैठक जारी छ । साथीहरु विभिन्न कोणबाट आफ्ना धारणा राखिरहनु भएको छ,’ पन्तले भने ।

प्रकाशित : फाल्गुन २४, २०७७ १८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×