पार्टी एकता जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौं : रघुजी पन्त- समाचार - कान्तिपुर समाचार

पार्टी एकता जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौं : रघुजी पन्त

कान्तिपुर संवाददाता

काठमाडौँ — साविक नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्च अदालतको फैसला पछिको परिप्रेक्ष्यमा एमाले र माओवादी केन्द्रबीच एकताको सम्भावना खोज्नुपर्ने बताएका छन् । सोमबार कोटेश्वर पेरिसडाँडामा जारी साविक दाहाल–नेपालसमूहको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन पुष्पमल दाहाल र केपी ओली बसेर सम्भावना खोज्नु पर्ने धारणा आफूले राखेको पन्तले बताए ।

‘जसरी एकता प्रक्रिया सुरु भएको थियो, त्यो एकता प्रक्रिया आफैमा राम्रो थियो । एकताले लोकतन्त्र, नेपालको संविधानलाई जोगाएर जान सकिन्छ । सर्वोच्च अदालतको फैसलापछिको नयाँ परिप्रेक्ष्यमा फेरि पनि कुराकानी गरेर एकता जोगाउने सम्भावना छन् भने खोज्नुपर्छ भनेको छु,’ पन्तले भने, ‘तर, त्यसको लागि फेरि पनि कमरेड प्रचण्ड र कमरेड केपी ओलीले कुराकानी अगाडि बढाउनु पर्‌यो । बसेर छलफल गर्नुपर्‌यो ।’

अदालतले अलि बढी राजनीतिक फैसला गरेको भन्दै पन्तले फैसला मान्नै पर्ने बताए । ‘सर्वोच्चको फैसला सम्मान गर्नुपर्‌यो । तर, अलिबढी राजनीतिक भयो भन्ने छ । बैठक जारी छ । साथीहरु विभिन्न कोणबाट आफ्ना धारणा राखिरहनु भएको छ,’ पन्तले भने ।

प्रकाशित : फाल्गुन २४, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

पठाओकी शोभा [फोटोफिचर]

तस्बिर: बिजु महर्जन

काठमाडौँ — शोभा श्रेष्ठ बिहान अफिस जाँदा, आउँदा पठाओ चलाउँछिन् । उनी पठाओ राइडर भएको झन्डै २ वर्ष भयो । उनी फरक सक्षमता भएकी पठाओ राइडर हुन् । पठाओका ग्राहकहरु राइड लिन बोलाउँछन् र उनको स्कुटरका थप दुई पांग्रा देखेर मुख अमिलो बनाउँछन् । तलदेखि माथिसम्म हेर्छन्, थुप्रै प्रश्न पनि सोध्छन् । तर उनलाई आफू फरक सक्षमता भएको व्यक्ति हुनुमा कुनै पश्चाताप नभएको बताउँछिन् ।

फुरकोट आहालेको भानु–८ तनहुँमा जन्मिएकी उनी पढाइको सिलसिलामा काठमाडौं आएकी हुन् । हाल आरआर क्याम्पसमा अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै छिन् । उनी ९ महिना जतिकी हुँदा आमा बुबाले उनको खुट्टामा समस्या छ भनेर थाहा पाए । सिधा उभिनै उनलाई गाह्रो हुन्थ्यो । परिवारसहित उनी त्यतिखेर भारतमै बस्थिन् । डाक्टरले पोलियो भने । उनको शरीर बिस्तारै सुक्दै जान थाल्यो, खुट्टा निकै छोटो भयो । घरबाट स्कुल निकै टाढा थियो, हिँड्डुल गर्ने नसक्ने भएका कारण आफन्तकोमा बसेर पढिन् । तीन वटा बैशाखी कामै नलाग्ने भए । पछि त उठ्न बस्न नै गाह्रो भयो । मान्छे बढ्दै जाने तर खुट्टा भने बढेन । एकदिन कृष्ण प्रणामी धर्म मान्नेहरुले पोलियो लागेका व्यक्तिमा पनि अपरेसनपछि निको हुने भनेर स्कुलमा सूचना पठाए । त्यतिखेर उनी १० कक्षामा पढ्थिन् । उनी तुरुन्त तयार भइन् । उनलाई जसरी भएपनि बैशाखी छोड्न मन थियो । बैशाखी टेकेर हिँड्दा कति लुगा च्यातिए । काखीमा असह्य घाउ पनि भए । उनी दुई साथीसहित काठमाडौं उपचारका लागि आइन् । उनीहरुको उपचार सम्भव देखिएन । उनको भने उपचार हुने भयो ।

अपरेसनका लागि नाम लेखियो । खुट्टा पहिलाभन्दा तन्कियो । अहिले पनि बराबरी छैन तर बैशाखीको साथ भने छुट्यो ।

अहिले पनि कसैलाई बैशाखी टेकेर हिँडेको देख्दा, पानी पर्दा छाता ओढ्न नसकेका दिनहरु सम्झिँदा मन अमिलो भएर आउँछ । शोभाले १३ वर्ष शिक्षण गरिन् । पछि अरु क्षेत्रबारे बुझ्न त्यो पेसा छोडिन् । सरकारी जागिर खानका लागि लोकसेवामा पनि परीक्षा दिइन् तर उनको नाम त्यहाँ निस्केन । आफू फरक सक्षमता भएको व्यक्ति भएपनि उनलाई यसबारे केही थाहा थिएन । एकदिन लोकसेवाको परीक्षा दिएर फर्किँदै गर्दा उनले बाटोमा अपांगता दिवसका दिन सडकमा निस्केको र्‍याली देखिन् । आफू पनि त्यही र्‍यालीमा नजानिँदै सहभागी भइन् । र्‍याली मन्त्रालयमा गएर सकियो ।

एउटा संस्थामार्फत अपांग व्यक्तिका लागि ३ महिने व्यक्तित्व विकासको नि:शुल्क तालिम दिँदै रहेछ । आफ्नो लागि आफैले कसरी रोजगारी खोज्ने, त्यसको तयारी कसरी गर्ने भन्ने कुरा त्यहाँ सिकाइयो । यसले उनको आत्मविश्वास धेरै बढायो । सोही संस्थामार्फत उनले नयाँ जागीरका लागि अन्तर्वार्ता पनि दिइन् । १३ वर्ष शिक्षण पेशामा बिताएकी उनलाई एउटा विद्यालयमा लेखा शाखाका लागि पठाइयो । एकाउन्टबारे उनलाई केही थाहा थिएन र सिक्नका लागि तयार भएको पनि बताइन् । विद्यालयमा जागिर पाइन् । तर कोभिडको प्रभावले स्कुल बन्द भयो । लकडाउनपछि बोलाउने कुरा थियो । बोलाइएन । अपांगता संरक्षण नेपाल संस्थाले उनलाई इन्टर्नसिपका लागि बोलायो । उनी हाल त्यहीँ कार्यरत छिन् ।

बैशाखी छाडेपछि पनि उनका दिनहरु सजिला भएनन् । अरुको दाँजोमा उनका दैनिकी कष्ठकर नै रहे । राजधानीमा यातायात चढ्न एक सामान्य मानिसकै लागि चुनौती हो ।अपांगता भएको व्यक्तिका लागि त महाभारत भन्दा कम छैन । एकदिन बाटोमा हिँड्दा उनले चार पांग्रे स्कुटर देखिन् । उनलाई पनि स्कुटर किन्ने सोच आयो । स्कुलमा पढाउँदा जोगाएको पैसाले रक्सौल गएर स्कुटर किनिन् । नेपाल सरकारले अपांगता भएको व्यक्तिका लागि भन्सार छुट दिएको रहेछ । केही दिनमा स्कुटर सिकिन् ।

उनले पठाओका बारेका एक साथी मार्फत थाहा पाइन् । पठाओमा राइडर भएर काम गर्दा राइड रिक्वेस्ट आउँदा आफ्नो फोर ह्विलर भएको सुनेर कैयौं पटक फोन काटिएको, स्कुटरमा चढ्न आनाकानी गरेको उनी बताउँछिन् । तर कोहीकोही भने उनलाई देखेर इन्सपायर हुन्छन् ।

पहिला बैशाखीका कारण उनलाई आफ्नो गन्तव्यसम्म पुग्न गाह्रो पर्‌थ्यो तर अहिले उनले सबैलाई आफ्नो गन्तव्य सम्म पुर्‌याउँछिन् ।

अहिले पनि मानिसहरुलाई अपांगताबारे जानकारी छैन । विशेषगरी महिलाहरु आफ्नो अवस्था पनि अरुलाई देखाउन लाज मान्छन् । आफूले आँट्यो भने सफल भइन्छ भन्ने कुरा बिर्सन्छन् । शोभा आफूजस्तै अपांगता भएका महिलाहरुका लागि थुप्रै काम गर्न चाहन्छिन् ।


प्रकाशित : फाल्गुन २४, २०७७ १८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×