आफ्ना अभिव्यक्तिको आलोचनापछि वनमन्त्रीले लिखित भाषण पढ्न थाले

कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नो अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना हुन थालेपछि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले औपचारिक कार्यक्रममा लिखित भाषण गर्न थालेका छन् । 

आफ्ना अभिव्यक्तिको आलोचनापछि वनमन्त्रीले लिखित भाषण पढ्न थाले


फागुन १८ गते सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) को आठौं परिषद्को उद्घाटन कार्यक्रममा आलेले ‘जुन रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामी अक्सिजन दिन्छौँ । त्यही रुख यदि रहेन भने के हुन्छ हालत ?’ भन्ने अभिव्यक्ति दिएका थिए । मन्त्री आलेको यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

आलेले त्यही कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न काठ व्यवसायीले एक अर्ब रुपैयाँ घुस अफर गरेकोसमेत दाबी गरेका थिए । उनको यो अभिव्यक्तिको पनि सर्वत्र आलोचना भएको थियो ।

आइतबार वन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिटको १० औं महाधिवेशन तथा २१औँ साधारण सभामा प्रमुख अतिथि रहेका मन्त्री आलेले लिखित भाषण गरे ।

काठ व्यवसायीहरुले १ अर्ब रुपैयाँ घुस अफर गरेको दाबी गरेका आले आइतबार तिनै व्यवसायीको १० औं महाधिवेशनमा प्रमुख अतिथि बनेका थिए । उनको अभिव्यक्तिप्रति फेनफिटले विज्ञप्ति निकालेर घुस अफर गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न चुनौती दिएका थिए । लिखित भाषणमासमेत सीमित बोलेका आलेले प्रविधिको प्रयोग गरी आफ्नो भाषण तोडमोड गरेको दाबीसमेत गरे ।

पारिवारिक निजी वन संघ, नेपाल (एफ्फोन) को ७औं स्थापना दिवसको सोमबार बिहानको कार्यक्रममा प्रमुख अतिथि बनेका मन्त्री आलेले लिखित भाषण गरे । सार्वजनिक कार्यक्रममा मन्तव्य राख्नेक्रममा यसअघि पनि उनी चिप्लिने गरेका थिए । वनमन्त्री भए लगत्तै उनले बोलेको ‘सरकार ७ नम्बर गियरमा चल्ने र सिधै समुन्द्रमा पुग्ने’ अभिव्यक्तिसमेत भाइरल बनेको थियो ।

प्रकाशित : फाल्गुन २४, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?