१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दाहाल-नेपालकाे पत्र दर्ता नगर्ने संसद्का महासचिवकाे अडान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा संसदीय दलकाे नेता परिवर्तनकाे जानकारी पत्र दर्ता नगर्ने अडान लिएका छन् । पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका नेकपाका सांसदहरू संघीय संसद् सचिवालय सिंहदरबारस्थित महासचिव भरतराज गाैतमकाे कार्यकक्षमा छन् ।

दाहाल-नेपालकाे पत्र दर्ता नगर्ने संसद्का महासचिवकाे अडान

आइतबार दिउँसो २ बजेतिर महासचिवकाे कक्षमा दाहाल-नेपालसहित सांसदहरू निवेदन लिएर प्रवेश गरेका थिए । महासचिवले पत्र बुझेपनि दर्ता गर्न भने मानेका छैनन् ।

फागुन २१ गतेकाे दाहाल-नेपाल पक्षकाे संसदीय दलकाे बैठकले दाहाललाई दलकाे नेता चयन गरेको थियाे । आइतबार पनि दलकाे बैठकपछि दाहाल-नेपाल पक्ष महासचिवकहाँ निवेदन लिएर गएका थिए ।

महासचिव गाैतमले भने, 'निर्वाचन आयाेगबाट आएपछि दर्ता गरिदिन्छाैं ।' उनले आफूले नेकपाकाे कुनै निर्णय नलिने बताएका हुन् ।

दाहाल-नेपाल पक्षका नेताहरूले भने निवेदन दर्ता गरिदिनुपर्ने माग राखेका छन् । सांसद कृष्णभक्त पाेखरेलले भने, 'अर्को पक्षका निर्णय तत्काल दर्ता गरेर कार्यान्वयन गर्ने तर हाम्रो पक्षको दर्ता पनि नगर्ने ?' भनेर प्रश्न गरेका छन् ।

मुख्य सचेतकमा केपी शर्मा ओलीले विशाल भट्टराईलाई नियुक्त गरेको कुरा महासचिव गाैतमले कार्यान्वयन गरेको विषय सांसद पाेखरेलले उठाएका हुन् ।

दाहाल-नेपाल पक्षकि सांसद यशाेदा सुवेदीले साेधिन्, 'न्यूनतम प्रशासनिक माम पनि नगर्ने भए किन महासचिव चाह्याे ?'

'संसदका विषय संसद् सचिवालयले दर्ता नगर्ने भए त्याे दर्ता गराउन गृहमन्त्रालय जाने हाे ?' भनेर सांसद रामनारायण बिडारीले साेधेका छन् ।

सांसद कृष्णभक्त पाेखरेलले भने, 'निवेदन दिँदा दर्ता नै गर्न नहुने, निर्णय नै गर्न लागेको जस्तो गर्ने ? नियमअनुसार आएका पत्र प्रतिनिधिसभा नियमावलीकाे दफा २१५ उपदफा ३ अनुसार आएकाे निवेदन दर्ता गर्ने कि नगर्ने भन्ने हुँदैन ।'

बिडारीले थपे, 'दलकाे बहुमतले नेता हेरफेर गर्ने हाे, तपाईंले गर्न हुँदैन भन्ने हाे ? दलकाे नेता तपाईलाईं साेधेर गर्छ ? त्याे त जानकारी तपाईलाई दिने हाे ।'

पाेखरेलले भने संसदीय दलकाे नेता परिवर्तन गरेको जानकारी दिन आएको परिवर्तन गरिदेउ भन्न नआएको बताए । 'हामीले तपाईंलाई संसदीय दलकाे नेता परिवर्तन गरिदेउ भनेका त हाेइना‌ैं नि,' उनले भने ।

महासचिव अहिले आन्तरिक छलफलमा रहेका छन् । महासचिवले सांसद रामनारायण बिडारी, संसद्का कानुनी महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालसँग सल्लाह गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन २३, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?