पाटेबाघको घाँटीमा ‘जीपीएस कलर’



काठमाडौँ — मान्छेमाथि आक्रमण गर्नुका साथै सवारीको ठक्करबाट मारिनेलगायत घटना बढ्न थालेपछि अब उपकरणमार्फत बाघका गतिविधि निगरानी गर्न थालिएको छ । घाँटीमा ‘स्याटेलाइट जीपीएस कलर’ जोडेर बाघको ओहोरदोहोर (मुभमेन्ट), आउजाउको समय, विचरण क्षेत्र र आनीबानीलगायत अनुगमन सुरु गरिएको हो । पहिलो चरणमा चितवन–पर्सा ब्लकअन्तर्गत पर्सा निकुञ्जको एउटा भाले बाघको घाँटीमा कलर जोडिएको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन), अमेरिकाको युनिभर्सिटी अफ मिचिगनको आर्थिक र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को प्राविधिक सहयोगमा निकुञ्ज विभागले फागुन पहिलो साता जीपीएस कलर जडान गरेको हो । पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहका अनुसार त्यो बाघ निकुञ्जभित्रकै विभिन्न भागमा ओहोरदोहोर गरिरहेको छ । ‘केही दिनदेखि पसाहा खोला क्षेत्रमा घुमफिर गरिरहेको छ,’ साहले भने, ‘आहारका रूपमा बँदेल मारेर खाएको देखिन्छ, अरू आहार पनि खाइरहेको छ ।’ बँदेलसहित चित्तल, मृग, लगुना, जरायोलगायत बाघका मुख्य आहार हुन् । घाँटीमा जडान गरिएको ‘स्याटेलाइट जीपीएस कलर’ मार्फत प्राप्त हुने संकेतका आधारमा उसले हिँड्ने बाटो, हिँडडुल गर्ने अधिक समय, आनीबानी, आहारलगायतका सबै गतिविधि निगरानी गर्न सकिन्छ ।
स्याटेलाइटले दुई वर्षसम्म सन्देश दिन्छ । अहिले बाघले आहारलगायतका लागि कतिसम्म यात्रा गर्छन्, कस्तो क्षेत्रमा बढी विचरण गर्छन् र कुन समयमा बढी सक्रिय हुन्छन् भन्ने वैज्ञानिक तथ्यांक छैन । भारतको तेलांगना राज्यको आदिलाबादमा रहेको टिपेश्वर वनको एउटा बाघ पोथी (प्रेमिका) को खोजीमा दुई हजार किलोमिटर यात्रा गरेर महाराष्ट्र राज्यको ज्ञानगंगा जंगलसम्म पुगेको स्याटेलाइट रेडियो कलरले दिएको संकेतबाट प्रमाणित भएको थियो । उक्त बाघले नहर, खेत, जंगल र सडक हुँदै त्यो दूरी पार गरेको थियो । नेपालमा पनि ३ हजार २ सय मिटर (छिन्टापु वनक्षेत्र) सम्मको उचाइमा बाघ भेटिएको छ ।
वन तथा वातावरण मन्त्रालयले ‘चितवन–पर्सा ब्लक’ मा २ र ‘बर्दिया–बाँके ब्लक’ का ४ वटा गरी ६ वटा बाघमा स्याटेलाइट कलर जोड्न स्वीकृति दिएको छ । ‘स्याटेलाइट कलरबाट त्यो बाघको गतिविधि र आउजाउ कतातिर बढी छ, कुन समयमा बढी छ र किन त्यो स्थानमा बढी चलखेल गरिरहेको छ भन्ने सूचना प्राप्त गर्न सहयोग पुग्छ’, निकुञ्ज विभागका महानिर्देशक दीपक खरालले भने, ‘त्यस आधारमा भविष्यमा ती स्थानमा वन्यजन्तुका लागि अन्डर पास र ओभरब्रिज बनाउन सूचना प्राप्त हुन्छन् ।’
विकसित मुलुकहरूमा सडक, रेल, नहरजस्ता ठूला संरचना बनाउँदा वन्यजन्तुका लागि अन्डर पास र ओभरब्रिज बनाउन थालिएको धेरै समय भइसकेको छ । त्यसो हुँदा सडक दुर्घनाबाट वन्यजन्तु मर्ने संख्या घट्छ भने वन्यजन्तुको आक्रमणबाट मान्छेको ज्यान जाने घटना पनि न्यून गर्न मद्दत पुग्छ । अघिल्लो वर्ष र यो वर्ष बर्दियामा मात्र बाघको आक्रमणबाट दर्जनभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।
‘पूर्व–पश्चिम राजमार्ग विस्तार, पूर्व–पश्चिम रेलमार्ग र हुलाकी मार्ग बनाउने योजना अघि बढेको छ,’ खरालले भने, ‘त्यस्ता ठूला संरचना वन्यजन्तुमैत्री हुनुपर्छ भनेर आवाज उठेको धेरै भयो, तर कुन–कुन स्थानमा अन्डरपास र ओभरब्रिज बनाउने भन्ने यकिन गर्न सूचना आवश्यक पर्छ ।’
काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सका वरिष्ठ वैज्ञानिक प्रकाशकुमार पौडेल बाघको गतिविधि र आनीबानी ट्र्याक गर्न जीपीएस कलर उपयोगी हुने बताउँछन् । ‘कस्तो बासस्थान, कस्तो वनमा आउजाउ गर्छ र अरू बाघसँग कस्तो अन्तर्क्रिया गर्छ भन्ने बुझ्न सहयोग पुग्छ’, उनले भने, ‘बस्तीमा हुने आउजाउसमेत यकिन गर्न सकिन्छ, कहाँसम्म उकालीओराली गर्छ भन्ने पनि थाहा हुन्छ ।’
विभागको तथ्यांकअनुसार २०७५/७६ मा निकुञ्ज र आरक्ष क्षेत्रमा ४ सय ९५ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये २४ प्रतिशत अर्थात् १ सय १९ वटा गाडीको ठक्कर वा सडक दुर्घटनाबाट मरेका हुन् । २०७४/७५ मा ३ सय ९१ वन्यजन्तु मरेकामा ३१ प्रतिशत अर्थात् १ सय २४ वटा मारिनुको कारण सडक दुर्घटना नै थियो ।
प्रकाशित : फाल्गुन २३, २०७७ १३:०९