जग्गा दलालीका लागि वातावरण बनाउनेबाहेक करिडोर शिलान्यासको अर्थ छैन : भुसाल

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय सांसद घनश्याम भुसालले मोतिपुर औद्योगिक करिडोर शिलान्यासका क्रममा स्थानीयहरुमाथि दमन गरी अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले आफूहरुलाई जनविरोधीको रुपमा उभ्याएको बताएका छन् ।

जग्गा दलालीका लागि वातावरण बनाउनेबाहेक करिडोर शिलान्यासको अर्थ छैन : भुसाल

नेकपा दाहाल-नेपाल समूहका स्थायी समिति सदस्यसमेत रहेका भुसालले विज्ञप्ति जारी गर्दै करिब साढे चार दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिई राजनीतिक प्रचारका लागि करिडोर तथाकथित शिलान्याय गरिएको टिप्पणी गरेका हुन् । 'केवल राजनीतिक प्रचारका लागि देखाइएको 'मोतिपुर औद्योगिक करिडोर' को तथाकथित शिलान्यास कार्यक्रमको विरोध गर्न पुगेका स्थानीय बासिन्दामाथि कामचलाउ सरकारका दुई-दुईजजना मन्त्रीहरुले जुन दमनपूर्ण हर्कत गरेका छन् त्यसले उनीहरुको जनविरोधीको मुकुण्डो उदांगो भएको छ,' विज्ञप्तिमा लेखिएको छ ।

औद्योगिक करिडोर बन्‍ने हल्ला चलाएर जग्गा दलालीको लागि वातावरण बनाउने बाहेक शिलान्यासको अर्थ नहुने भन्दै उनले जनतालाई दु:ख दिएर अरु कुनै नाजायज फाइदा लिनेहरुको चाहना पूरा हुन नदिने प्रतिबद्धता जनाए ।

त्यस क्षेत्रमा उम्मेदवार हुँदा अर्थमन्त्री पौडेलले स्थानीय बासिन्दाको समस्या समाधान नभइकन करिडोरबारे कुनै काम सुरु भए राजनीतिबाटै संन्यास लिने वाचा गरेको स्मरण गराउँदै सांसद भुसालले पौडेल स्वयम्‌ तिनै नागरिकहरुमाथि लाठी बर्साउन पुगेको आरोप लगाए । उनले स्थानीय बासिन्दाको हक अधिकार कसैले खोस्न नसक्‍ने पनि बताएका छन् । 'त्यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले मैले स्थानीय बासिन्दाको हक अधिकारको पक्षमा आवाज उठाउँदै र सम्बन्धित सरोकारवालासँग छलफल गर्दै आएको छु,' उनले भने, 'कायरहरुले कसैगरे पनि स्थानीय बासिन्दाको हक अधिकार खोस्न सक्ने छैनन् ।'

रुपन्देही बुटवल उपमहानगरपालिकास्थित मोतिपुरका जनताको सहमतिविपरीत मोतिपुर औद्योगिक करिडोर शुक्रबार शिलान्यास अर्थमन्त्री पौडेलले शिलान्यास गर्ने क्रममा झडप भएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०७७ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?