३६ वर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — ३६ वर्षअघि पाटनबाट हराएको वासुदेव–कमलाजा(लक्ष्मी–नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाललाई उक्त प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

अमेरिकी संघीय अनुसन्धान ब्युरो(एफबीआई) का उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राजदूत नेपालको प्राचीन मूर्ति फिर्ताका लागि पहल गरेकोमा अमेरिकी सरकारलाई विशेष धन्यवाद पनि दिए । सांस्कृति सम्पदाको संरक्षणका लागि दुई मुलुकबीच भएको सहकार्यको पनि राजदूत खतिवडाले प्रशंसा गरे ।

उनले मूर्ति फिर्ताका लागि पहल गरेकोमा सञ्चारमाध्य, सम्पदाविद् तथा विज्ञहरु, अमेरिकी विदेश मन्त्रालय, एफबीआई, काठमाडौंस्थित अमेरिकी दूतावास र डल्लास म्युजियम अफ आर्ट्सलाई पनि धन्यवाद व्यक्त गरे । वासिङ्टनस्थित नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर उक्त मूर्ति नेपाल पठाइने जानकारी दिएको छ ।

अमेरिकी विदेशमन्त्रालयका प्रमुख उपसचिव इर्भिन मासिंगाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने र वासुदेव–कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।

अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । डल्लास म्युजियमले भने गत नोभेम्बर ३० मै यो मूर्ति एफबीआईलाई हस्तान्तरण गरिसकेको थियो ।

आर्थिक संकटकै कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव–कमलाजाको मूर्तिलाई लागेजति खर्च बेहोरेर घर फिर्ता ल्याउने ललितपुर महानगरपालिकाले घोषणा गरिसकेको छ ।

मूर्तिलाई पट्को टोलको नारायण मन्दिरमै प्रतिस्थापन गरिने सहमतिसमेत बनेको छ । वासुदेव–कमलाजा मूर्ति रहेको ललितपुर महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष निर्मलरत्न शाक्यले सम्पूर्ण सुरक्षा र संरक्षणको जिम्मा लिएर घर फर्कन लागेको मूर्ति पुरानै मन्दिरमा राखिने प्रतिबद्धता जनाएका छन् ।

१२औं शताब्दीमा बनाइएको यो एउटै मूर्तिमा देब्रेतर्फ विष्णु(नारायण) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । पुरातत्व अन्वेषक लैनसिंह बाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा समेत वासुदेव–कमलाजा मूर्ति चोरिएकोबारे प्रामाणिक विवरण उल्लेख छ ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन २२, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

उर्लाबारी युवक मृत्यु प्रकरण : फरार दुई जना पक्राउ

देवनारायण साह

मोरङ — उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई प्रतिवादी पक्राउ परेका छन् । उर्लाबारी–६ का राजेश रणपहेली र दीपेश पौडेल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी मोरङका प्रमुख सन्तोष खड्काले रणपहेलीलाई शुक्रबार साँझ बुटबलबाट पक्राउ गरी विराटनगर ल्याइरहेको र पौडेललाई दमक प्रहरीले पक्राउ गरेको बताए ।

रणपहेलीलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने र पौडेलको लागूऔषधको मुद्दा टुंगिएपछि विराटनगर ल्याएर अदालतमा उपस्थित गराउने खड्काले बताए ।

उक्त घटनाका ६ जना प्रतिवादीमध्ये प्रहरीले ४ जनालाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । उर्लाबारी–६ का मेहरमान दर्जी, १९ वर्षीय सुदिप परियार, रमेश गिरी र कुमारमध्ये दर्जी र परियारलाई जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षका लागि थुनामा मोरङ कारागार पठाइसकिको छ भने कुमार राईलाई ३ लाख धरौटीमा र गिरीलाई १ लाख धरौटीमा छाडेको छ ।

उक्त घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै परिवार विरोधमा उत्रेपछि प्रहरीले फागुन ११ गते ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो ।

पीडित परिवारले घटनाको छानबिनमा बेवास्ता गर्ने प्रहरी अधिकृतलाई कारबाही नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुखख प्रहरी निरीक्षक उद्धव पोखरेललाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै आएका हुन् ।

मृतककी बिहिनी सदिक्षा भन्ने दुर्गा बास्तोलाले उक्त घटनाको फाइलमा अर्कैको फोटो भेटाएपछि अनुसन्धानमा प्रहरीले सत्यतथ्य लुकाउन खोजेको आशंकामा आन्दोलनमा उत्रेकी हुन् । उनले आवाज उठाएपछि जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको थियो । राईले सोमबार बुझाएको प्रतिवेदनमा मिसिलमा फोटो परिवर्तन भएको पुष्टि गरेको छ । मिसिलमा राखिएको फोटोमध्ये एउटा फोटो अर्कै घटनाका व्यक्तिको फोटो समावेश हुन गएको र त्यसलाई मानवीय त्रुटीको रुपमा प्रतिवेदनमा औंल्याएको छ ।

जिल्ला प्रहरी मोरङले भने हालसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन । पीडित परिवारले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । सदिक्षाले प्रहरीले हालसम्म प्रतिवेदन सार्वजनिक नगरेको र अहिले प्रतिवेदनमा उल्लेख भएका कुरा बाहिर आएको प्रति असन्तुष्टि जनाएकी छन् । फोटो मात्रै परिवर्तन नभइ घटनाको छानबिनमा गम्भीर लापरवाही भएको उनको आरोप छ ।

जिल्ला प्रहरी मोरङ प्रमुख प्रहरी उपरीक्षक खड्काले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने बताए । उनले प्रतिवेदनमा औंल्याएका कमी कमजोरीका आधारमा दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : फाल्गुन २२, २०७७ ०९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×