२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

मोतिपुरका जनताका उचित व्यवस्थापन र माग सम्बोधन गर्न सरकारसँग नेता खाणको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले रुपन्देही बुटवल उपमहानगरपालिकास्थित मोतिपुरका जनताका उचित व्यवस्थापन र मागलाई सम्बोधन गरी विकास कार्य अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।

मोतिपुरका जनताका उचित व्यवस्थापन र माग सम्बोधन गर्न सरकारसँग नेता खाणको माग

शुक्रबार विज्ञप्तिमार्फत खाणले जनताको सहमतिविपरीत मोतिपुर औद्योगिक करिडोर शिलान्यास गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्थानीयको माग सम्बोधन गर्न भनेका हुन् । स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र वैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार शिलान्यास गरेपछि करिडोर क्षेत्रमा झडप भएको थियो ।

नेता खाणले मोतिपुरका जनताले अपनत्व नलिएको विकासले गति नलिनेतर्फ सरकारलाई सचेत गराएका छन् । 'मोतिपुरका जनताको विमति हुँदाहुँदै नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले सुरक्षावलको आडमा जबर्जस्ती ढङ्गले दमन गरेर शिलान्यास गर्दा झडपमा परी घाइते भएका स्थानीयवासी र सुरक्षाकर्मीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मोतिपुरका जनताले अपनत्व नलिएको विकासले गति नलिनेतर्फ सरकारलाई सचेत गराउन चाहन्छु ।'

बुटवल उपमहानगरपालिकामा औद्योगिक करिडोर निर्माण गर्ने चाहना बुटवलवासी सबैको रहेको उल्लेख गर्दै नेता खाणले मोतिपुरमा लामो समयदेखि बसोबास गर्दै आएका किसानहरुलाई लालपुर्जा दिनुपर्नेमा जबरजस्ती जनताको सहमतिविपरीत मोतिपुर औद्योगिक करिडोर शिलान्यास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएका छन् । जनतालाई बल प्रयोग गरी धम्क्याएर र चित्त दुःखाएर गरिएको विकासको औचित्य नहुने तर्फ पनि उनले सरकार गम्भीर बन्नु जरुरी रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।


प्रकाशित : फाल्गुन २१, २०७७ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?