कांग्रेस संसदीय दल बैठक : सांसदहरूको सुझाव- 'सरकारमा गए आफ्नै नेतृत्वमा' 

देउवाले बैठकको सुरुवात गर्दै सांसदहरूलाई सत्ता समीकरणका कुरा नउठान र संसदमा प्रतिपक्षको प्रभावकारी भूमिका कसरी निर्वाह गर्न सकिन्छ भन्ने विषयमा सुझाव राख्न निर्देशन दिएका थिए ।
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदले अरु दलको नेतृत्वमा सरकारमा जान नहतारिन नेतृत्वलाई सुझाव दिएका छन् । सरकार बन्ने भएमा कांग्रेस आफैंले नेतृत्व लिनुपर्ने भन्दै सांसदहरूले प्रतिनिधिसभामा दुइतिहाई नजिक रहेको कम्युनिस्ट पार्टीका कारण मुलुक गलत दिशामा गएको निष्कर्ष निकालेका छन् । दलको बैठक दुई कम्युनिस्ट पार्टी अब प्रतिनिधिसभामा कसरी अघि बढ्छन् पर्ख र हेरको रणनीतिमा केन्द्रीत भएको छ ।

कांग्रेस संसदीय दल बैठक : सांसदहरूको सुझाव- 'सरकारमा गए आफ्नै नेतृत्वमा' 

कांग्रेस संसदीय दलको शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवमा बसेको बैठकमा सहभागी सांसदहरूले अहिलेको अवस्थामा कांग्रेसले सरकारलाई प्राथमिकता दिन नहुने भन्दै आवश्यकता देखिएमा मुलुकलाई निकास दिने निर्णय गर्नुपर्ने बताए । कम्युनिस्ट पार्टीको दुईतिहाई नजिकको सरकारले संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको, जनजीविकाका सवालहरूलाई बेवास्ता गरेको र प्रतिपक्षलाई पेलेर लैजाने रणनीति बनाएको भन्दै पार्टी नेतृत्वले सत्ताको आशमा गलत निर्णय नगर्न दबाव दिए । अधिकांश सांसदले नेकपाका दुवै समूह कांग्रेसका लागि बराबर भएपनि सैद्धान्तिक रूपमा ओलीसँगको सहकार्य गलत हुने धारणा राखे ।

दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठकको सुरुवात गर्दै सांसदहरूलाई सत्ता समीकरणका कुरा नउठान र संसदमा प्रतिपक्षको प्रभावकारी भूमिका कसरी निर्वाह गर्न सकिन्छ भन्ने विषयमा सुझाव राख्न निर्देशन दिएका थिए ।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले ओलीसँग सहकार्य गर्न नहुने बताए । सांसदहरू भरतकुमार शाह, राजन केसी, देवेन्द्रराज कँडेललगायतले ओलीसँग सहकार्य गर्न नहुने बताए । उनीहरूले सत्ता सहभागितको कुरा उठाएउँदा देउवाले त्यस विषयमा प्रवेश नगर्न भनेको थिए । संसदीय दलका सचेतकसमेत रहेकी पुष्पा भुसाल गौतमले सरकारले प्रतिनिधिसभा विघटन मात्र नगरेर संविधानसमेत मिचेको बताइन् । उनले तीन वर्षमा सरकारले गरेको जनभावना विपरीतका निर्णयहरूलाई कांग्रेसले चुनावी मुद्धा बनाउनुपर्ने बताइन् । उनले सत्तामा जाने विषय प्राथमिकतामा राख्न नहुने बताइन् ।

सांसद गगनकुमार थापाले भने कांग्रेसले अहिले सत्ताको आश भन्दा दुई वर्षपछिको निर्वाचनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । केहीले सरकारमा जानै नहुने बताए भने धेरैले ओलीसँगको सहकार्य नगर्न सुझाव दिए । केही सांसदहरूले बाहिरै बसरे सरकारलाई समर्थन गर्नुपर्ने धारणा राखे ।

सांसद सञ्जय गौतम अहिले निर्वाचनबाट आएको कम्युनिस्ट पार्टी कसरी अघि बढ्छ सोही अनुसार रणनीति बनाउने बताउँछन् । ‘अहिले हामी 'वेट एण्ड सी' कै अवस्थामा हो,’ उनले भने । सांसद भिसेनदास प्रधानका अनुसार प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई असंवैधानिक भनिसकेपछि उनको नेतृत्वमा सरकारसहभागी हुनु गलत भएको सबैजसो सांसदले बताए । ‘राजनीतिक रूपमा वा ‘मोरल्ली’ पनि हामीले ओलीलाई समर्थन गर्न मिल्दैन,’ प्रधानले भने । सांसद केसीले कम्युनिस्टहरू आफ्नै कारणले विभाजित भएको र मुलुकलाई अप्ठरो अवस्थामा पुर्‍याएका बेला कांग्रेसले होसियारीपूर्वक निर्णय गर्नुपर्ने बताए । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेकोमा खुशी व्यक्त गर्दै बैठकले यसलाई संविधानको जीत भएको ठहर गरेको छ । बैठकमा २९ जना सांसदले आआफ्नो धारणा राखेका थिए । बैठकपछि दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधिसभामा पेश हुन सक्ने अविश्वास प्रस्तावको विषयमा उचित समयमा सोही अनुसार निर्णय लिने बताए ।

प्रकाशित : फाल्गुन २१, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?